• ३ असार २०८१, सोमबार

फ्री वाइफाईले चोर्ला डाटा

blog

प्रविधिसँग रमाउनेहरूका लागि इन्टरनेट अहिले अत्यावश्यक कुरा जस्तै भइसकेको छ । इन्टरनेट र आधुनिक जीवनशैली एकअर्काका परिपूरक बनेका छन् । घर बाहिर कहीँकतै जाँदा होस् वा सार्वजनिक स्थानमा समय बिताउँदा होस् सबैलाई इन्टरनेट चाहिएको छ ।

त्यसैले सार्वजनिक रूपमा उपलब्ध निःशुल्क वाइफाई (हट स्पट)को प्रयोग बढ्दो छ । काठमाडौँका प्रमुख स्थानमा पाइलैपिच्छे पब्लिक वाइफाईमा मोबाइल डिभाइस कनेक्ट गर्न सकिन्छ । देशका अन्य सहरमा समेत यस्ता फ्री वाइफाई (हट स्पट) उपलब्ध हुन थालेका छन् ।

फ्री वाइफाईले हाम्रो दिनचर्या सहज त बनाएको छ तर के यी वाइफाई सुरक्षित छन् ? यो प्रश्नका बारेमा प्रयोगकर्ताले यस्ता वाइफाई प्रयोग गर्नुअघि जान्नु र बुझ्नु पर्ने हुन्छ । निःशुल्क वाइफाईको प्रयोग गर्दा प्रयोगकर्ताका सूचना तथा डाटा जोखिममा पर्न सक्छन् । 

सार्वजनिक स्थानमा उपलब्ध वाइफाई कसले छाडेको हो । कति सुरक्षित छ वा छैन भन्ने विषयमा जानकारी नराखेर सिधै मोबाइल उपकरणमा कनेक्ट गरिहाल्नु हुँदैन । यस्ता सार्वजनिक वाइफाईमार्फत ह्याकरहरूले इन्टरनेटको माध्यमबाट तपाईंको मोबाइल डिभाइसमा पहुँच पु¥याएर त्यसमा रहेका सूचना, इमेल, बैङ्कलगायतका संवेदनशील डाटा चोर्न सक्छन् । त्यति मात्र होइन ह्याकरहरूले सार्वजनिक स्थानमा रहेका वाइफाईमा पहुँच बनाएर त्यस नेटवर्कमा जोडिएका सबै प्रयोगकर्ताको इमेल, बैङ्क, स्मार्ट कार्ड वा अन्य सूचना माथि प्रत्यक्ष निगरानीसमेत गर्न सक्छन् ।

त्यसो भए के गर्ने ? यस्ता निःशुल्क वाइफाई चलाउँदा के कुरामा ध्यान दिनुपर्छ त्यसका बारेमा यी जानकारी राख्नु बुद्धिमानी हुन्छ । 

१. विश्वसनीय निःशुल्क वाइफाई नेटवर्क मात्र चलाउनुहोस् 

सार्वजनिक वाइफाईको प्रयोग गर्नु नै पर्ने अवस्था आयो भने विश्वसनीय नेटवर्क मात्र प्रयोग गर्नुहोस् । जस्तै कुनै विश्वसनीय कम्पनीले छाडेका निःशुल्क वाइफाई मात्र चलाउनुहोस् । यस्ता हट स्पट तुलनात्मक रूपमा सुरक्षित हुने गर्छन् । सार्वजनिक स्थान जस्तै सपिङ मल, होटल, विमानस्थल, रेस्टुरेन्ट, कफी सप, सार्वजनिक यातायातलगायतका स्थानमा उपलब्ध हुने आधिकारिक वाइफाईको पहिचान गरी सो वाइफाई प्रयोग गर्न दिइएको पासवर्ड प्रयोग गरेर मात्र इन्टरनेट चलाउनुहोस् । ह्याकरहरूले पनि आधिकारिक वाइफाईजस्तै देखिने फ्री पब्लिक वाइफाई बनाउन सक्ने भएकाले त्यसप्रति पनि सावधान रहनुपर्छ ।  

२. बैङ्किङ साइटहरू नखोल्नुहोस्

सार्वजनिक स्थानमा उपलब्ध वाइफाईको प्रयोग गर्दा व्यक्तिगत संवेदनशील विवरण भएका अनलाइन साइट जस्तै बैङ्किङ, सामाजिक सञ्जाल, मोबाइल एप तथा त्यस्तै अन्य साइट नखोल्नुहोस् । 

३. फाइल सेयरिङ अप्सन बन्द गर्नुहोस्

सार्वजनिक स्थानमा उपलब्ध वाइफाई चलाउँदा आफ्नो मोबाइल फोन, ल्यापटप, कम्प्युटर, ट्याबलेटलगायतका उपकरणको फाइल सेयरिङ अप्सन बन्द गर्नुहोस् । यसका साथै आफ्नो मोबाइल डिभाइसमा फायरवाल सधैँ सक्रिय राख्नुहोस् ।  

४. भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्नुहोस्

सार्वजनिक वाइफाई (हट स्पट) प्रयोग गर्दा सकभर भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्नुहोस् । भीपीएनले केही हदसम्म प्रयोगकर्तालाई सुरक्षित राख्न 

सहयोग गर्छ ।   

५. टर्मिनल तथा कम्प्युटरको ब्राउजिङ हिस्ट्री हटाउनुहोस्

स्वदेशमा होस् वा विदेशमा यात्रा गर्दा विमानस्थल वा सार्वजनिक स्थलमा राखिएका टर्मिनल वा कम्प्युटर प्रयोग गरेपछि ब्राउजिङ हिस्ट्री तथा वेब ब्राउजर तथा कम्प्युटरको क्यास डिलिट गर्नुहोस् ।

६. स्वचालित कनेक्सन बन्द गर्नुहोस्

तपाईंको मोबाइल उपकरण ओपन नेटवर्क वाइफाईमा आफैँ कनेक्ट हुन्छ भने त्यसलाई बन्द गर्नुहोस् । यसरी जहाँ पायो त्यहीँ उपकरण कनेक्ट हुँदा ह्याकरहरूले सजिलैसँग तपाईंको संवेदनशील जानकारी प्राप्त गर्न सक्छन् ।  त्यसैले मोबाइल उपकरणमा वाइफाई, ब्लुटुथ र गुगल म्याप लोकेसन चाहिएको बेला मात्र अन गर्ने गर्नुहोस् ।

७. अनिवार्य रूपमा एन्टिभाइरस राख्नुहोस्

अहिले मोबाइल डिभाइसमा समेत पैसा तिरेर वा निःशुल्क रूपमा पाइने एन्टिभाइरस उपलब्ध छन् । त्यसैले सार्वजनिक वाइफाई तथा नेटवर्कमा जोडिने उपकरण मोबाइल फोन, ल्यापटप, कम्प्युटर, ट्याबलेटलगायतमा अनिवार्य रूपमा एन्टिभाइरस राख्ने गर्नुहोस् ।