• १४ मंसिर २०८१, शुक्रबार

बढाइयो डलर सटहीको सीमा

blog

काठमाडौ, वैशाख १९ गते । विदेशी मुद्रा सञ्चितिमाथिको दबाब सहज बन्दै गएको समयमा नेपाल राष्ट्र बैङ्कले अमेरिकी डलर सटहीको सीमा बढाएको छ । बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैङ्कले यस्तो सीमा बढाएको हो ।

संशोधनअनुसार अब नेपाली नागरिकले मनी एक्सचेन्जमार्फत मासिक पाँच हजार अमेरिकी डलरको सटही सुविधा प्राप्त गर्ने भएका छन् । जुन यसअछि पाँच सय डलर मात्र थियो । 

“नेपाली नागरिकसँग अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकमको खरिद कारोबार गर्न सकिनेछ,” 

संशोधन गरिएको परिपत्रमा भनिएको छ तर विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्सबाट प्राप्त हुने रकमको सीमा भने अधिकतम पाँच सय डलर नै कायम गरिएको छ । 

अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि वेब पोर्टलमार्फत उपलब्ध अध्ययन स्वीकृति (नो अब्जेक्सन लेटर)कै आधारमा सटही सुविधा दिन बैङ्क तथा वित्तीय संस्थालाई अनुमति दिएको छ । 

त्यस्तै नेपाली नागरिकलाई विभिन्न प्रयोजनका लागि भारतीय मुद्राबाहेकको परिवत्र्य विदेशी मुद्राको सटही सुविधासम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । यसअघि यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर एक हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिनेछ भन्ने व्यवस्था रहेको थियो । 

त्यस्तै नेपालमा काम गरिरहेका विदेशीले सटही गरेर लैजान पाउने विदेशी मुद्रासम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । नेपालमा वायुसेवा दिइरहेका कम्पनीमा कार्यरत विदेशी नागरिकका लागि नयाँ व्यवस्था थप गरिएको छ । 

नयाँ व्यवस्थाअनुसार श्रम स्वीकृति र सम्झौताको अवधिमा रोजगारदातासँग गरेको करारमा उल्लिखित पारिश्रमिकमा कर काटेर बाँकी हुने रकमको बढीमा ७० प्रतिशतसम्मको रकम श्रमिकले आफ्नो देशमा पठाउन सक्ने व्यवस्था परिपत्रमार्फत गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।