• १३ मंसिर २०८१, बिहिबार

मापदण्ड पूरा भएकाको घरजग्गा नक्सापास दिने

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १८ गते । गुल्मीको सदरमुकाम तम्घास बजारमा मापदण्ड पूरा भएका घरजग्गाको रेसुङ्गा नगरपालिकाले नक्सापास दिने भएको छ । २०७२ मा तम्घास बजारक्षेत्रको देउरालीदेखि खानीगाउँ हुँदै सिडियो गेटसम्मको सडकलाई पाल्पा, रिडि, तम्घास सडकखण्डको रूपमा नामकरण भएको थियो । 

दोस्रो पटक २०७४ मा तम्घास, सिमलटारी हुँदै अग्लुङ्गफेदीसम्म ३० मिटरको सडक कायम गरी सडक आयोजनाले दोस्रो पटक पाल्पा, रिडी, तम्घास, सिमलटारी हुँदै अग्लुङ्गफेदी नामकरण गरेको थियो ।  २०७८ मा रिडी, तम्घास, सिमलटारी, सौतामारे, मच्छिहुँदै सुर्खेतसम्मको मदन भण्डारी राजमार्गअन्तर्गत नामकरण भएको थियो । 

२०७८ वैशाख १३ को मन्त्रिपरिषद्को निर्णयले रिडी, तम्घास, सिमलटारी, सौतामारै हुँदै मच्छिसम्मको सडक मदनभण्डारी राजमार्गको रूपमा नामकरण गरेको थियो । त्यसपछि तम्घास बजार क्षेत्रभित्रका घरहरूको जग्गा पास, जग्गाको किनबेच, लोन, नामसारीका प्रक्रिया रोक्का भएका रेसुङ्गा नगरपालिका –१ का हरि न्यौपानेले जानकारी दिनुभयो । 

त्यसलगत्तै नगरप्रमुख पन्थी सोही विषयलाई लिएर भौतिक तथा पूर्वाधार मन्त्रालयमा पुग्नुभएको थियो । नगरप्रमुख पन्थीले अहिलेसम्म राजमार्गको तम्घास बजारभित्र सडकको क्षेत्र ‘राइट अफ ओए’ कायम नभएको र राजपत्रमा समेत प्रकाशित नभएको पाइएकाले नगरपालिकाले ३० फिट बाटो कायम भएका घर, जग्गाको नक्सा गर्नेगरी अगाडि बढेको जानकारी दिनुभयो । 

लामो समयदेखि तम्घास बजारक्षेत्रमा मदन भण्डारी राजमार्गको विषयले गर्दा घर जग्गा बिक्री, नक्सा पास, कित्ता काट, नापी, नक्साका कामहरू हुन नसक्दा बैङ्क कर्जालगायतका बैंकिङ्ग कारोबार रोकिएको भन्दै सरोकारवालाबीच छलफल समेत गरिएको उहाँले बताउनुभयो । 

‘अहिलेसम्म राजमार्गको तम्घास बजारभित्र सडकको क्षेत्र राइट अफ ओए कायम नभएको र राजपत्रमा समेत प्रकाशित नभएको पाइयो ।’ उहाँले भन्नुभयो, ‘मापदण्ड पूरा गरेका सबै संरचनाहरूको बिक्री वितरण, नक्सा पास, कित्ताकाट, नापी नक्साका सेवाहरू सहज तरिकाले सञ्चालन हुनेछन् ।’