• १२ मंसिर २०८१, बुधबार

नेपाल टेलिकमको फोर जी सेवा बरगाउँमा सञ्चालन

blog

नयाँ जडान गरिएको फोर जी सेवा टावर । तस्बिर : राजन रावत, हुम्ला

राजन रावत

हुम्ला, वैशाख १८ गते । नेपाल टेलिकमले सिमकोट गाउँपालिका -३ को बरगाउँमा स्थापना भएको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । टावरका लागि आवश्यक पर्ने उपकरण हेलिकोप्टरबाट ढुवानी भएर आए लगत्तै जडान गरिएपछि फोर जी सेवा सञ्चालनमा आएको हो । 

नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजीआङ्मु लामाले लामो समयदेखि बरगाउँमा टु जी सेवा सञ्चालन भएको भएपनि फोर जी सेवा बल्ल सञ्चालनमा आएको बताउनुभयो । एक वर्ष अगाडी नै बरगाउँ क्षेत्रमा सो सेवा सञ्चालन हुने भनिएको भएपनि उपकरण आउन ढिलाइ भएको कारण अहिले आएर सो सेवा सञ्चालनमा आएको हो । 

टावरका लागि आवश्यक पर्ने उपकरण, सोलार प्यानल, ब्या«टी र जडान गर्ने प्राविधिक हेलिकोप्टरबाट ढुवानी भएर तीन दिन अगाडी आएको थियो । फोर जी सेवाका लागि आवश्यक उपकरण जिल्लामा आएसँगै प्राविधिक टोली टावर भएको स्थानमा गएर जडान गर्ने कार्य पुरा गरे लगत्तै सेवा सञ्चालनमा आएको हो । अब बरगाउँ, तोर्पा, लिमाटाङ, ठेहे, दोजाम, बैजिबाडा, कुम्लिक र ग्याग्रु सिमकोट गाउँपालिकाका क्षेत्रमा इन्टरनेट सेवा सुचारु भएको छ भने खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ र ५ को बस्तीमा पनि यो सेवा विस्तार भएको छ । 

बरगाउँको इन्टरनेट सेवा सुचारु भएपछि अव ती क्षेत्रका स्थानीयलाई स्वास्थ्य चौकी र वडामा जडान गरिएको वल्र्डलिङ्कको इन्टरनेट सेवा नभए पनि इन्टरनेटको पहुँचमा सहज भएको छ । यसबाट पन्द्र सय भन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नयाँ जडान गरिएको कारण इन्टरनेटको गति पनि उच्च रहेको सेवाग्राहीले बताउनुभयो ।