जुम्ला समाचारदाता
जुम्ला, वैशाख १८ गते । जुम्लामा हात्तीपाइले रोगको सर्वेक्षण सुरु गरिएको छ। हिमाली आठ जिल्लामा पहिलो पटक हात्तीपाइले रोगको अवस्थाबारे अध्ययन थालिएको हो। कालीकोट, मुगु र हुम्लामा समेत हात्तीपाइले रोगको सर्वेक्षण गरिँदै छ। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका अनुसार यसअघि हिमाली जिल्लामा हात्तीपाइले थिएन। अहिले जलवायु परिवर्तनसँगै लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइलेको अवस्था अध्ययन गर्न लागिएको हो।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाले कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्रछात्रामा नमुनाका रूपमा हात्तीपाइले रोगको सर्वेक्षण सुरु गरेको हो। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाका भेक्टर कन्ट्रोल अधिकृत कुमारप्रसाद पौडेलका अनुसार कक्षा ४ देखि ८ सम्मका छात्रछात्रा अधिकतम नौ देखि १४ वर्ष उमेर समूहका हुन्छन्। नयाँ सङ्क्रमण भए/नभएको मापन गर्न सजिलो हुने भएकाले उनीहरूको सर्वेक्षण गर्न लागिएको हो।
जुम्लाका ३२ वटा विद्यालयमा सर्भे गरिने योजनाअनुसार शुक्रबार गुठीचौर गाउँपालिकाको सत्यावती मावि, हिमशिखर मावि, तिलाको जनजागृति मावि सिँजा, कनकासुन्दरीका–४ स्थित विद्यालयमा सर्वेक्षण गरिएको छ। पहिलो दिनमा ६० बालबालिकाको रक्तजाँच गरेर नमुना परीक्षण गरिएको र जाँच गरिएका विद्यार्थी सबैमा नतिजा नेगेटिभ आएको जनाइएको छ।
एक विद्यालयका १६ बालबालिकाको जाँच गरी जिल्लाभर ४८० जनाको जाँच गर्ने लक्ष्य छ। यो उमेर समूहका बालबालिकाको रोगको जोखिम क्षेत्रमा आवतजावत न्यून हुने भएकाले यो समूहमा नयाँ सङ्क्रमण भए/नभएको यकिन गर्न खोजिएको हो। जुम्लाका आठवटै स्थानीय तह समेटिने गरी सामुदायिक विद्यालयमा अध्ययनरत बालिबालिकामा जाँच गरिँदै छ।
तालिम केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार हात्तीपाइले मानिसलाई शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपाङ्गता बनाउने सरुवा रोग हो। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाले सर्वेक्षण अभियानको विषयमा जुम्लामा सरोकारवाला निकायलाई अभिमुखीकरणसमेत गरेको छ।