• १३ असार २०८२, शुक्रबार

बिमा रकमबाट जीवन सहज

blog

अर्जुन काफ्ले

स्याङ्जा, असार १३ गते । अर्जुनचौपारी गाउँपालिका–६ का १२ वर्षीय सुज्वल रोकाले आफ्ना बुवाको अनुहार चिन्नै पाउनुभएन । सात वर्ष साउदीमा रोजगारी गरेका जयबहादुर रोका तेस्रो पटक रोजगारीमा पुगेको साढे दुई वर्षमा नेपाल आउँदा सुज्वलले उहाँलाई देखे पनि चौथो पटक गएको पाँच महिनामा ३३ वर्षको उमेरमा सधैँका लागि परिवारबाट बिदा हुनुभयो । 

बुवाको मृत्युसँगै आमा सुशीलाले दुःखकष्ट गरेर छोरालाई पाल्नुभयो र भविष्य उज्वल बनाउन पोखराको राम्रो निजी विद्यालयमा पढाउनुभयो । यहाँको आप्रवासी स्रोत केन्द्रको सहजीकरणमा जयबहादुर रोकाको छोरा सुज्वल र श्रीमती सुशीलाले जयबहादुरको मृत्यु भएको १० वर्षपश्चात् सामाजिक सुरक्षा बिमाको ५० लाख ६७ हजार रुपियाँ पाएसँगै उनीहरूको जीवनमा परिवर्तन आएको छ । 

छोराका लागि धेरै दुःख गरेको बताउँदै सुशीलाले नसोचेको ठुलो रकम पाउँदा आफ्ना नयाँ दिन सुरु भएको बताउनुभयो । सन् २०१५ अगस्ट २० मा श्रीमान्को मृत्युपश्चात् गत फागुनमा रकम पाएको बताउँदै उक्त रकमको सही सदुपयोग गर्दै जीवन अगाडि बढाउने बताउनुभयो । रोका जस्तै अर्जुन चौपारी–१ का डोलबहादुर खत्रीको मृत्यु भएको १८ वर्षमा तीन जनाको परिवारले राहत महसुस गरेका छन् । खत्रीको तीन जनाको परिवारले सामाजिक सुरक्षा बिमाको १२ लाख रुपियाँ पाएका हुन् । रोका र खत्री जस्तै सन् २०२४ सेप्टेम्बर १३ मा मृत्यु भएका कालीगण्डकी गाउँपालिका–३ का सूर्यबहादुर पाण्डे क्षेत्रीको परिवारले सामाजिक सुरक्षा बिमाको ४९ लाख ९९ हजार, भिरकोट नगरपालिकाका कुलबहादुर सुनारको परिवारले ३४ लाख ७१ हजार, खुमानाथ लामिछानेको परिवारले ३५ लाख ८५ हजार रुपियाँ पाएका छन् । 

यस्तै चापाकोट नगरपालिका–४ का बेगबहादुर थापाको परिवारले २६ लाख २२ हजार ४०४ रुपियाँ र पुतलीबजार–१४ का राजेन्द्रकुमार राईको मृत्यु भएको १४ वर्षपछि परिवारले १२ लाख ३२ हजार ३२० रुपियाँ प्राप्त गरेका हुन् । केन्द्रका परामर्शकर्ता रमेश पौडेलले वैदेशिक रोजगारीका सिलसिलामा विदेशी भूमिमा काम गर्ने क्रममा दुर्घटना, रोग तथा अन्य कारणले मृत्यु भएका श्रमिकका परिवारलाई साउदी अरबको सामाजिक सुरक्षा बिमा अन्तर्गतको आर्थिक सहायता उपलब्ध गराइएको बताउनुभयो । श्रमिकको जीवन सुरक्षाका लागि सामाजिक सुरक्षा बिमा प्रणाली प्रभावकारी बन्न थालेको भन्दै परामर्शकर्ता पौडेलले विदेशमा कार्यरत नेपाली श्रमिकले यो प्रणालीमा अनिवार्य सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो । 

परिवार गुमाउँदाको पीडामा पाएको राहत रकमले पीडित परिवारलाई केही सहज भएको पौडेलको भनाइ छ । केन्द्रले सन् २००७ देखि साउदी अरबमा रोजगारीका क्रममा मृत्यु भएका सात जना श्रमिकका परिवारलाई दुई करोड २१ लाख ७६ हजार ७२४ रुपियाँ प्रदान गरेको हो । विदेशमा ज्यान गुमाएका बिरुवा गाउँपालिका–८ का नीरजसुक्मे गुरुङ, अर्जुनचौपारी गाउँपालिका–२ का रेसमबहादुर कामी र अर्जुनचौपारी–३ का कृष्णबहादुर विकको सामाजिक सुरक्षा बिमा रकमका लागि प्रक्रिया अघि बढिरहेको छ ।