चाँदनी आचार्य
घोेडाघोडी(कैलाली) असार १३ गते । मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी र देउडा गायककार तथा लेखक यज्ञराज उपाध्याय यतिखेर कैलालीका विभिन्न शैक्षिक संस्थामा पठन संस्कृति अभियान लिएर जानुभएको छ ।
डिजिटल विकासले धेरै मानिसहरु किताब पढ्न छोडेपछि दुवैजना साहित्यकार यतिखेर विभिन्न क्याम्पस तथा विद्यालयमा पुगी साहित्य, संस्कृति र मौलिकताका विषयमा उत्प्रेरणा दिन थाल्नुभएको हो ।
शुक्रबार कैलालीको घोडाघोडी क्याम्पस पुग्नुभएका दुवैजना साहित्यकार एवम् देउडा गायकले विद्यार्थीहरु सुदूरपश्चिमको संस्कृति, परम्परालाई आधुनिकताको नाममा मौलिकता बिगारेको बताउनुभयो ।
सुदूरपश्चिम र कर्णालीको मौलिक संस्कृति रहनसहन र भाषा साहित्य समेटिएको “काली – कर्णालीको लोकसाहित्य तथा संस्कृति” नामक पुस्तकका लेखक उपाध्यायले आधुनिकताको नाममा सुदूरपश्चिमको मौलिक संस्कृति छायाँमा पर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “देउडा देउताका नाममा गाइने गीत हो, विभिन्न परिवेशमा यसको आफ्नै मौलिकता छ । आधुनिकताकामा नाममा गोलमोटलमा यस्को मौलिकता बिगारेको पाइन्छ । लोकसंस्कृतिलाई माया गरेर संरक्षण गर्न सबै जुट्नुपर्छ ।”
उपाध्यायका राईझुमा, नासो, सुनघाभा, रानीवन, बाझ मेरी लगायत दर्जनभन्दा बढी देउडा गीत सङ्ग्रह छन् । साथै उहाँको २०८० मा प्रकाशित काली – कर्णालीको लोकसाहित्य तथा संस्कृति एकहजार पृष्ठको कृति बजारमा छ ।
२०७२ सालमा ऐन कथा सङ्ग्रहका लागि मदन पुरस्कार विजेता जोशीको सखी उपाध्यास, बाआमा कथासङ्ग्रह साहित्यिक रचना चर्चामा छन् ।