• २२ असार २०८१, शनिबार

विद्यार्थीको रोजाइमा बेनी सामुदायिक विद्यालय

blog

साधन घर्ती 

म्याग्दी (दरबाङ), वैशाख १८ गते । गाउँगाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या साह्रै न्यून छ। अभिभावकले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै ऋणधन गरेरै निजी विद्यालयमा छोराछोरी पढाउन थालेका छन्। विद्यार्थी घट्दै गएपछि म्याग्दीका केही पालिका विद्यालय समायोजन गर्ने तयारीमा छन्। 

म्याग्दीकै बेनीको एक विद्यालयमा भने विद्यार्थीको चाप बढिरहेको छ। विद्यालयमा विद्यार्थीको चाप बढेपछि बेनी नगरपालिका–७ मा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीले प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउनुपर्छ। 

विद्यालयले तोकेको कोटाभन्दा धेरै विद्यार्थीको भर्नाका लागि आवेदन आउन थालेपछि प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गर्दैआएको छ। विद्यालयले नयाँ शैक्षिकसत्रका लागि प्रवेश परीक्षा लिएर विद्यार्थी छनोटको प्रक्रिया सुरु गरेको छ। विद्यालयले लिएको प्रवेश परीक्षामा कक्षा १ देखि ९ सम्म २९८ जना विद्यार्थी सहभागी थिए। 

विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठका अनुसार विद्यालयले १०९ जना  विद्यार्थी भर्नाका लागि कोटा निर्धारण गरेको थियो। प्रधानाध्यापक श्रेष्ठ भन्नुहुन्छ, “विगतका वर्षमाझैँ विद्यालयले कक्षा १ देखि ९ सम्मका लागि निश्चित कोटा निर्धारण गरेको थियो तर निर्धारित कोटाभन्दा बढी विद्यार्थीले फाराम भरेपछि प्रवेश परीक्षाबाट विद्यार्थी भर्ना गरिरहेका छौँ।”

प्रवेश परीक्षाका लागि आवेदन दिएका २९८ जनामध्ये २५२ जना विद्यार्थी निजी विद्यालयबाट आएको प्रअ श्रेष्ठको भनाइ छ। गत वर्ष भर्ना हुन ३११ जनाले आवेदन दिएकोमा प्रवेश परीक्षामा ९३ जना मात्र पास भएका थिए। विद्यालयले जनजाति, जेहेनदार, दलित, पिछडिएका, गरिब र न्यून आय भएका विद्यार्थीलाई छुट्टै कोटा निर्धारण गरेको छ। यस विद्यालयमा भर्नाका लागि आवेदन दिएकामध्ये अधिकांश विद्यार्थी निजी विद्यालयका छन्। विद्यालयमा भर्ना हुन आवेदन दिन आउने विद्यार्थी म्याग्दीसहित छिमेकी जिल्ला पर्वत र बागलुङका समेत छन्।

विद्यालयमा विद्यार्थीको चाप, शिक्षक दरबन्दी र भौतिक संरचनाको अभावका कारण २०६८ सालदेखि भर्नाका लागि अनिवार्य प्रवेश परीक्षा लागू गरिएको उहाँले बताउनुभयो। कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा एक हजार २५० जना विद्यार्थी अध्ययनरत छन्। २०६६ सालमा विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको सल्लाहमा निजी विद्यालयहरूमा जस्तै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको हो। 

२०७० सालमा सामुदायिकतर्फ नेपालकै उत्कृष्ट विद्यालयका रूपमा परिचय बनाएको विद्यालयमा अभिभावकले निजी विद्यालयबाट विद्यार्थी झिकेर बेनी सामुदायिकमा भर्ना गर्नेको सङख्या बर्सेनि बढ्दो छ। निजी विद्यालय छोडेर बेनी सामुदायिकमा प्रवेश परीक्षामा पास भएर कक्षा ७ मा भर्ना हुन आउनुभएका अजय श्रेष्ठले सामुदायिक विद्यालयमा निजीमा भन्दा राम्रो पढाइ हुने भएपछि आफूले बेनी सामुदायिक रोजेको बताउनुभयो।