• ११ मंसिर २०८१, मङ्गलबार

दुर्गम जिल्लामा कोटाभन्दा कम चामल ढुवानी

blog

काठमाडौँ, वैशाख १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम जिल्लामा ९८ हजार क्विन्टलभन्दा बढी चामल ढुवानी भएको जनाएको छ ।

व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा दुई लाख २३ हजार ८७१ क्विन्टल चामल ढुवानी गर्नुपर्ने कोटा निर्धारण गरेको छ । त्यसमध्ये कम्पनीले साउनदेखि चैतसम्ममा ९८ हजार १६१ क्विन्टल मात्र ढुवानी गर्न सकेको छ । कम्पनीले २४ दुर्गम तथा पहाडी जिल्लामा सो चामल ढुवानी गरेको हो । 

दुर्गम जिल्लाका सर्वसाधारण उपभोक्तालाई सुपथ मूल्यमा चामल उपलब्ध गराउन कम्पनीले चामल ढुवानी गर्दै आएको छ । सरकारले चामल ढुवानीका लागि बजेट विनियोजनसमेत गर्ने गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दुर्गम जिल्लाका जनतालाई सुुपथ मूूल्यमा चामल उपलब्ध गराउन चालु आर्थिक वर्षमा ४९ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । नौ महिनामा चामल ढुवानीमा २४ करोड २५ लाख ५७ हजार रुपियाँ खर्च गरेको कम्पनीले जनाएको छ । हवाई र स्थल मार्गबाट दुर्गम जिल्लामा चामल ढुवानी गरिँदै आएको छ । 

कम्पनीले ताप्लेजुङमा एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरेकामा एक हजार १५२ क्विन्टल ढुवानी गरेको छ । सङ्खुवासभाको खाँदबारीमा तीन हजार आठ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएकोमध्ये एक हजार ७६३ क्विन्टल, भोजपुरमा एक हजार क्विन्टल कोटा निर्धारण गरिएकोमध्ये तीन सय क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ ।

यस्तै सोलुखुम्बुमा चार हजार सात सय क्विन्टल कोटा रहेकामा एक हजार ६१० क्विन्टल, ओखलढुङ्गामा एक हजार पाँच सय क्विन्टल कोटा निर्धारण गरिएकामा १७१ क्विन्टल चामल ढुवानी भएको छ । 

यस्तै खोटाङमा तीन हजार क्विन्टल कोटा निर्धारण गरिएकामा १७१ क्विन्टल, मनाङमा तीन हजार क्विन्टल कोटा निर्धारण गरिएकोमध्ये ७७१ क्विन्टल, गोरखामा पाँच हजार पाँच सय क्विन्टल कोटा निर्धारण गरिएकामा दुई हजार ६१३ क्विन्टल चामल मात्र ढुवानी भएको कम्पनीले जनाएको छ । 

यस्तै मुस्ताङमा दुई हजार क्विन्टल कोटा रहेकामा ५९० क्विन्टल, रुकुमपूर्वमा तीन हजार क्विन्टल कोटा रहेकामा एक हजार ६२३ क्विन्टल चामल ढुवानी भएको छ । यस्तै रुकुमपश्चिममा १० हजार पाँच सय क्विन्टल कोटा निर्धारण गरिएकामा तीन हजार ४११, रोल्पामा तीन हजार क्विन्टल कोटा रहेकामा एक हजार ३८५ क्विन्टल चामल ढुवानी भएको छ । जाजरकोटमा २१ हजार क्विन्टल कोटा रहेकामा ११ हजार २४२ क्विन्टल चामल, दैलेखमा छ हजार क्विन्टल कोटा रहेकामा तीन हजार ११ क्विन्टल, जुम्लामा १५ हजार पाँच सय क्विन्टल कोटा रहेकामा सात हजार ६२८ क्विन्टल चामल ढुवानी भएको छ । 

यस्तै कालीकोटमा १० हजार क्विन्टल कोटा रहेकामा चार हजार ७१० क्विन्टल, मुगुमा २५ हजार क्विन्टल कोटा रहेकामा नौ हजार २५२ क्विन्टल, डोल्पामा २६ हजार तीन सय क्विन्टल कोटा रहेकामा १३ हजार ३२२ क्विन्टल चामल ढुवानी भएको छ । बझाङमा पाँच हजार क्विन्टल कोटा रहेकामा एक हजार ८२१ क्विन्टल र बाजुरामा २५ हजार पाँच सय क्विन्टल कोटा रहेकामा आठ हजार ४३१ क्विन्टल, अछाममा चार हजार क्विन्टल कोटा रहेकामा एक हजार आठ सय क्विन्टल ढुवानी भएको छ ।

यस्तै दार्चुलामा १६ हजार ५७१ क्विन्टल कोटा रहेकामा आठ हजार ७१५ क्विन्टल चामल ढुवानी भएको छ । बैतडीमा चार हजार पाँच सय क्विन्टल कोटा रहेकामा हालसम्म शून्य चामल ढुवानी भएको कम्पनीको तथ्याङ्कले देखाएको छ । यो नौ महिनाको अवधिमा सुगम जिल्लामा ६७ हजार १२९ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ । कम्पनीले दुर्गमसँगै सुगम जिल्लामा चामल ढुवानी गर्दै आएको छ ।