• १२ मंसिर २०८१, बुधबार

तिलोत्तमामा एन्टिरेबिज भ्याक्सिन सेवा शुभारम्भ

blog

एन्टीरेबिज भ्याक्सिन (एआरभी) को सेवा लिँदै कुकुरको टोकाइबाट घाइते एक युवक । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १७ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टिरेबिज भ्याक्सिन (एआरभी) सेवा सुरु गरिएको छ । तिलोत्तमाको वडा ६ मा रहेको आनन्द वन स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमबीच नगरप्रमुख रामकृष्ण खाणले त्यसको  शुभारम्भ गर्नुभएको हो । 

नगरप्रमुख खाणले नगरपालिका स्वास्थ्य क्षेत्रमा संवेदनशील रहेको चर्चा गर्दै सबै नागरिकलाई स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो । ‘समाजमा सचेतनाको अभाव रहेकाले नगरले हरेक नागरिकलाई सचेतनाको शिक्षा दिने योजना बनाएका छौं, आनन्द वन स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालको रुपमा परिणत गरिएको छ’ उहाँको भनाइ छ ।

रेबिजरोग जुनसुकै जनावरको टोकाइबाट हुने भएकाले ज्यान जाने यो रोगबाट बच्न भ्याक्सिन सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अन्तर्रास्ट्रिय गुणस्तर प्रमाणित तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ध्रुबराज घिमिरेले यो सुविधा तिलोत्तमामा सुरु भएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

सो अवसरमा एआरभी २०० डोज आएको बताउँदै आवश्यकता अनुसार थप ब्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । आजै कुकुरले टोकेको एक पुरुषलाई एआरभी खोप दिइएको छ ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृति पाएर प्रदेश आपूर्ति तथा ब्यवस्थापन केन्द्र लुम्बिनीले उपलब्ध गराएको भ्याक्सिन लगाइने बताइएको छ ।

सेवा प्रदान गर्न यहाँका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको बताउँदै निःशुल्क सेवा प्रदान गरिएको उहाँको भनाइ छ । भ्याक्सिन तीन डोज दिइने बताउँदै पहिलो डोज टोकेको दिन, दोस्रो डोज चौथो दिन र तेस्रो डोज सातौँ दिनमा लगाइने जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीका प्रमुख ज्ञानप्रसाद पौडेलले रेबिज रोग लागेपछि मान्छे बाँच्न नसक्ने बताउँदै सतर्क रहन सुझाव दिनुभयो । भ्याक्सिन निकै प्रभावकारी हुने हुँदा सोहीअनुसार ब्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा स्वास्थ्य चौकीका अध्यक्ष एवम् वडा ६ का अध्यक्ष गणेश पाठक, वडा १ का अध्यक्ष पर्शुराम गिरीलगायतले नगरका नागरिकको स्वास्थ्यमा सहज पहुँच बनाइने उल्लेख गर्नुभयो । यो स्वास्थ्य चौकीमा १ जना मेडिकल अफिसरसहित १३ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।