• ८ मंसिर २०८१, शनिबार

नेपाल–भारत जमुनाहा नाका दुई दिन सिल गरिने

blog

नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका । तस्बिर : सिराज खान

सिराज खान  

नेपालगञ्ज, वैशाख १७ गते । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द गरिने भएको छ । 

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्ने निर्णय भएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । 

१९ वैशाख राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने जानकारी प्राप्त भएको छ । 

नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलताअनुसार काम गर्ने जनाएका छन् । सीमा शील गरिएको अवधिमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिने सहमति दुवै देशका सुरक्षा अधिकारीबीच बनेको छ । 

खुला सीमाका कारण साइड नाकाहरूमा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको छ । यसैगरी, वैशाख १९ गतेबाटै दुई देशका सीमाक्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । 

नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमा नाका शील गरिने गरिएको छ ।