• ७ पुस २०८१, आइतबार

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक बनाउन गृहकार्य हुँदैछः परराष्ट्रमन्त्री

blog

काठमाडौँ, वैशाख १६ गते । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण प्रतिफलमूलक बनाउन गृहकार्य उच्चस्तरमा अघि बढेको स्पष्ट पार्नुभएको छ। गोरखापत्र दैनिकसँग कुराकानी गर्दै मन्त्री साउदले भन्नुभयो, “प्रधानमन्त्रीस्तरको भ्रमण प्रतिफलमूलक हुने गरेर थोरै एजेन्डा लैजान चाहन्छौँ। कार्यसूचीलाई प्रतिफलमा आधारित बनाएर टुङ्गोमा पु-याउने तथा प्राथमिकीकरण गर्ने विषयमा बृहत् गृहकार्य जारी छ।” 

प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई तयारीका लागि विभिन्न मन्त्रालयसँगको प्रारम्भिक चरणको छलफल सकिएको छ। परराष्ट्रमन्त्री साउदले आफ्नो संयोजनमा प्रारम्भिक चरणमा अन्तरमन्त्रालय स्तरको छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतसँग जति पनि छलफलका एजेन्डा हुन सक्छन्। त्यसका बारेमा सम्बन्धित विभिन्न मन्त्रालयलाई लिखित रूपमा एजेन्डा उपलब्ध गराउन भनिएको छ। 

उहाँले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सबल बनाउन राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रस्ट पार्नुभयो। “नेपाल परराष्ट्र नीतिका आधारभूत सिद्धान्तमा स्थिर रहँदै आएको छ। असंलग्न परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त जस्ता विषयलाई जहिले पनि महत्व दिएकाले त्यही रूपमा अघि बढ्नेछौँ,” उहाँले भन्नुभयो। उहाँले छिमेकी मुलुक भारत तथा चीन दुवैसँग घनिष्ट र असल सम्बन्ध रही आएको उल्लेख गर्दै संसारका अन्य मुलुकसँग पनि नेपालको राम्रो सम्बन्ध रहेको बताउनुभयो। 

उहाँले भूराजनीतिक हिसाबले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ सन्तुलित बनाएर अघि लैजान सरकार र मन्त्रालय प्रयत्नशील रहेको बताउनुभयो। उहाँले मित्रराष्ट्रहरूसँगको सम्बन्ध गणितीय रूपमा तराजुमा तौलेर ठिक्क पार्ने खालको हुन सक्दैन भन्दै थप्नुभयो, “आवश्यकताअनुसार संसारभरका देशसँग सम्बन्ध सुमधुर होस् र त्यो सम्बन्धका कारण हाम्रो राष्ट्रिय हित अभिवृद्धि होस् भन्ने कुरालाई केन्द्रमा राखेर अगाडि बढिरहेका छौँ।” 

नेपाल आगामी सन् २०२६ मा विकासशील मुलुकका रूपमा स्तरोन्नति हुने सन्दर्भमा त्यसका हरेक सूचकमा खरो उत्रन सक्ने गरी आन्तरिक र बाह्य तयारी गर्नुपर्ने हुन्छ भन्दै मन्त्री साउदले यी कामका लागि सरकारका सबै अवयवले अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको बताउनुभयो।