• ११ मंसिर २०८१, मङ्गलबार

मेडिकल काउन्सिलको परीक्षामा सय प्रतिशत विद्यार्थी उत्तीर्ण

blog

नेत्र शाही 

जुम्ला, वैशाख १५ गते । नेपाल मेडिकल काउन्सिलको परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विपिएच पहिलो व्याच एकसय प्रतिशत उत्तीर्ण भएका छन् । मेडिकल काउन्सिलले सार्वजनिक गरेको नतिजामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका जनस्वास्थ्य स्नातक तह – विपिएच) पहिलो व्याचका परीक्षामा संलग्न सबै विद्यार्थीहरु उत्तीर्ण भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लाले जनाएको छ । 

प्रतिष्ठानका जनस्वाथ्य डिन मुनीराज क्षेत्रीका अनुसार नेपाल मेडिकल काउन्सिलको वैशाख १३ गते प्रकाशित नतिजा अनुसार लाईसेन्स परीक्षामा सहभागी १७ जनानै उत्तीर्ण हुन सफल भएका छन् । उहाँका अनुसार नेपालभरी परीक्षामा सहभागी तीन सय ५२ जना परीषार्थीमध्ये एक सय ८० जना ( ५४ प्रतिशत) उत्तीर्ण भएका छन् । तर कर्णाली प्रतिष्ठानका १७ जना नै उत्तीर्ण भएका हुन् । 

१७ जनामध्ये ५ जना छात्रा परीक्षार्थी छन् । कर्णाली प्रतिष्ठानमा उक्त जनस्वास्थ्य स्नातक तह (विपिएच) चार वटा व्याचले अध्ययन सकेको छ । पहिलो व्याचमा २० विद्यार्थी, दोस्रोमा १८ जना, तेस्रोमा ८ जना, चौंथोमा १५ जनाले अध्ययन सकेकाे र पाँचाै‌ व्याचका २० जना विद्यार्थी भर्ना हुने अपेक्षा गरिएको छ । यसैगरी उक्त जनस्वास्थ्य स्नातक तह तर्फको स्नाकोत्तर तहको पनि पाठ्यक्रम बनिसकेको कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । 

प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले पहिलो परीक्षामा सहभागि १७ विद्यार्थीमध्ये सबै उत्तीर्ण भएपछि प्रतिष्ठानमा उत्साह थपिएको बताउनुभयो । कर्णालीसहित दुर्गम क्षेत्रको स्वास्थ्य सेवा सञ्चालन गरिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने क्रममा विपिएच कक्षा सञ्चालनसहित प्राविधिक धारका एमविविएस, एमडि एमएस, वि फार्मेसी, विएन, विएमएस, कक्षाहरुसमेत सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानले एमविविएसको दोस्रो परीक्षामासमेत ५० जना भर्ना गरेर कक्षा सञ्चालन गरिरहेको छ ।