• २ असार २०८१, आइतबार

क्रियाशील श्रम शक्तिको बाहुल्य

blog

तुलनात्मक जनसङ्ख्या हेर्दा धेरै युवाशक्ति रहेका मुलुकमध्ये अग्रपङ्क्तिमा रहेकाले नेपालसमक्ष यसबाट हुन सक्ने आर्थिक लाभका अवसर प्रशस्त छन् । सन् २०२६ सम्म विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य पूरा गर्दै मध्यम आयस्तर भएका मुलुकको पङ्क्तिमा उभिन यस्तो श्रम शक्तिको उपयोग वरदान साबित हुन सक्छ । 

नेपालमा सबैभन्दा धेरै सक्रिय उमेर समूह रहेको दाबी रहे पनि त्यसको आधिकारिक पुष्टि हुन सकेको थिएन । राष्ट्रिय जनगणना २०७८ ले यसलाई प्रमाणित गरिदिएको छ । केन्द्रीय तथ्याङ्क विभागले चैतको दोस्रो हप्ता सार्वजनिक गरेको जनगणनाको नतिजाअनुसार नेपालसँग अहिले करिब दुई तिहाइ क्रियाशील श्रम शक्ति रहेको छ । १५ देखि ५९ वर्षको उमेर समूहभित्रको जनसङ्ख्या कुल जनसङ्ख्याको ६१.९६ प्रतिशत छ । यस हिसाबले नेपाल अहिले जनसाङ्ख्यिक लाभ लिन सक्ने उच्चतम अवस्थामा देखिन्छ । यस्तो लाभको समयमै उपयोग गर्न नसके भविष्यमा बुढ्यौली उमेर समूह बढ्दै जाने र राज्यलाई संरक्षणको दायित्व थपिने निश्चित छ । 

जनगणनाअनुसार १५ वर्षमुनिको आश्रित जनसङ्ख्या कुल जनसङ्ख्याको २७.८३ प्रतिशत छ । त्यस्तै ६० वर्षभन्दा माथिको आश्रित जनसङ्ख्या १०.२१ प्रतिशत छ । आश्रित जनसङ्ख्याको तुलनामा क्रियाशील श्रम शक्तिको बाहुल्य रहेको अवस्थामा नेपालले आर्थिक विकासका आधारशीला तय गर्ने सुनौलो अवसर प्राप्त गरेको देखिन्छ । 

जनसङ्ख्यामा १९ वर्षसम्मको उमेर समूहको दर ३८ प्रतिशत रहेको छ । त्यसपछि २० देखि ३९ वर्ष उमेर समूहका ३२.३४ प्रतिशत, ४० देखि ५९ वर्ष उमेर समूहका १९.४५ प्रतिशत, ६० देखि ७९ वर्ष समूहका ९.२२ र ८० वर्षभन्दा माथिको उमेर समूहका ०.९९ प्रतिशत छन् । देशभर ९५ वर्षभन्दा माथिका १७ हजार २३४ जना व्यक्ति रहेको पनि जनगणनाले देखाएको छ ।   

सङ्क्षेपमा जनगणना २०७८

प्रत्येक दस वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाअनुसार गत वर्ष २०७८ सालमा सरकारले जनगणना गरेको थियो । जनगणनाको स्थलगत काम सकेको दुई महिनापछि अर्थात् २०७८ साल माघमा प्रारम्भिक नतिजा सार्वजनिक गरियो । सुरुमा जेठदेखि असारमा जनगणनाको स्थलगत काम सुरु गर्ने तयारी भए पनि कोभिडको असर बढेपछि त्यसलाई स्थगित गरी पछि कात्तिकदेखि मङ्सिरसम्म जनगणना सम्पन्न गरिएको थियो । स्थलगत काम पूरा गरेको मङ्सिर ९ गतेलाई जनगणनाको सन्दर्भ दिन 

भनिएको छ । 

त्यसको करिब १४ महिनापछि अर्थात् २०७९ साल चैत १० गते थप विवरणसहित जनगणनाको सङ्क्षिप्त पूर्ण नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या धेरै छ । नेपालमा महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ रहेको छ, जुन कुल जनसङ्ख्याको 

५१.१३ प्रतिशत हुन आउँछ । त्यस्तै देशमा कुल पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ, जुन कुल जनसङ्ख्याको ४८.८७ प्रतिशत छ । 

त्यस्तै अन्य लिङ्गीअन्तर्गत वर्गीकरण गरिएको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सङ्ख्या दुई हजार ९२८ रहेको छ, जुन कुल जनसङ्ख्याको ०.०१ प्रतिशत 

हुन आउँछ ।  

यस जनगणनाले नेपालको जनसङ्ख्या वृद्धि दर भने घटेको देखाउँछ । दस वर्षको अवधिमा वार्षिक जनसङ्ख्या वृद्धि दर औसतमा केवल ०.९२ प्रतिशत रहेको छ । त्यसअघि अर्थात् २०६८ सालको जनगणनामा यो दर १.३५ प्रतिशत थियो । जनसङ्ख्याको यस्तो न्यून वृद्धि दर १९९८ सालपछिकै सबैभन्दा कम हो । वार्षिक औसत जनसङ्ख्या वृद्धिको हिसाबले भक्तपुरमा धेरै जनसङ्ख्या वृद्धि देखिएको छ, जहाँको औसत वृद्धि दर ३.३५ प्रतिशत रहेको छ । सबैभन्दा कम वृद्धि दर रामेछापमा छ, जहाँको वृद्धि दर १.६७ प्रतिशतले नकारात्मक छ । 

जनगणनाअनुसार मुलुकको जनघनत्व प्रतिवर्गकिलोमिटर १९८ जना छ । २०६८ सालको जनगणनामा जनघनत्व प्रतिवर्गकिलोमिटर १८० जना थियो । भौगोलिक क्षेत्रअनुसार तराईमा सबैभन्दा धेरै जनघनत्व प्रतिवर्गकिलोमिटर ४६० जना र हिमाली क्षेत्रमा प्रतिवर्गकिलोमिटर ३४ जना मात्र रहेको छ । 

कुल जनसङ्ख्यामा दस वर्ष वा सोभन्दा बढी उमेरका ३३.१ प्रतिशत व्यक्ति अविवाहित छन् । जसमध्ये पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् । सो उमेर समूहमै ६१.८ प्रतिशत विवाहित रहेको जनगणनाले देखाएको छ । जनगणनाले धेरैजसो व्यक्तिको पहिलो विवाह गर्दाको उमेर १८ देखि २० वर्ष रहेको नतिजा उल्लेख गरेको छ, जुन कुल 

जनसङ्ख्याको ३४.४ प्रतिशत हुन आउँछ । १५ देखि १७ वर्षको उमेरमा बिहे गर्ने दर २२.३ प्रतिशत छ । १० देखि १४ वर्षको उमेरमा बिहे हुनेको दर सात प्रतिशत रहेको छ । यस हिसाबले पहिलो विवाह गर्दाको औसत उमेर 

१९ वर्ष देखिएको छ । 

बढ्यो परिवार 

नेपालीको आम्दानीमा भएको वृद्धिले पछिल्लो समय आफ्नै घर बनाउने र छुट्टै बस्ने प्रवृत्तिले परिवारको सङ्ख्या पनि बढिरहेको छ । जसलाई जनगणनाले पनि पुष्टि गरेको छ । मुलुकमा परिवारको सङ्ख्या व्यापक बढेको देखिन्छ । पछिल्लो नतिजाअनुसार मुलुकमा परिवारको सङ्ख्या ६६ लाख ६६ हजार ९३७ पुगेको छ । जुन २०६८ को जनगणनाको तुलनामा २३ प्रतिशतले 

बढी छ ।

पछिल्लो जनगणनाअनुसार कुल परिवारमध्ये व्यक्तिगत परिवार सङ्ख्या ६६ लाख ६० हजार ८४१ रहेको छ भने छ हजार ९६ संस्थागत परिवार 

रहेका छन् । 

परिवारको सङ्ख्या बढे पनि औसत आकार भने घटेको छ । अहिले परिवारको औसत सदस्य सङ्ख्या ४.३७ जना रहेको छ,  त्यसअघि २०६८ मा ४.८८ जना रहेको थियो । क्षेत्रगत हिसाबले तराईमा सबैभन्दा धेरै परिवार सदस्य सङ्ख्या देखिन्छ । तराईमा ४.७३ जना औसत परिवार सङ्ख्या छ भने हिमालमा ४.३३ र पहाडमा ३.९९ जना रहेको छ । 

रौतहट सबैभन्दा ठूलो परिवार आकार भएको जिल्ला बनेको छ । त्यहाँका परिवारको औसत 

सङ्ख्या ५.९४ जना रहेको छ भने गोरखा र दोलखामा सबैभन्दा कम ३.४९ जना रहेको देखिन्छ । परिवारको औसत आकार गणना गर्दा प्रायः बस्ने सदस्यको सङ्ख्या 

गणना गरिन्छ । 

देशभर ७५ लाखभन्दा बढी घर

नेपालमा ७५ लाखभन्दा बढी घर संरचना रहेको पाइएको छ । पछिल्लो जनगणनाअनुसार देशमा जम्मा ७५ लाख ५२ हजार ६६ घर संरचना रहेका छन् । जसमध्ये ७१.७ प्रतिशत घर आवासका लागि प्रयोग भएको देखिन्छ । त्यसपछि १०.१ प्रतिशत गोठ÷धन्सार÷मचानका लागि प्रयोग भएका छन् । देशका ६.३ प्रतिशत घर भने प्रयोग नभएर खाली रहेको पाइएको छ । 

यसबाहेक ५.९ प्रतिशत भान्छाघर, ३.१ प्रतिशत व्यापार, १.१ प्रतिशत शैक्षिक भवन रहेका छन् । उद्योग कलकारखाना, सरकारी तथा संस्थागत कार्यालय, होटल तथा लज, बैङ्क तथा वित्तीय संस्था र स्वास्थ्यजन्य संस्था सबै गरेर घर १.४ प्रतिशत रहेको छ । 

आवासीय उद्देश्यका लागि घरको प्रयोग गरिरहेका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८६ प्रतिशत आफ्नै स्वामित्वको घरमा बस्छन् भने १२.८ प्रतिशत परिवार भाडामा बस्ने गर्छन् । २०६८ सालको जनगणनाको तुलनामा हेर्दा आफ्नै स्वामित्वको घरमा बस्ने परिवारको सङ्ख्यामा सामान्य वृद्धि देखिएको छ । कुल परिवारमध्ये २३.८ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको छ । त्यस्तै कुल परिवारमध्ये ३१.५५ प्रतिशत परिवारको मूली महिला छन् । 

नगरपालिकामा दुई तिहाइ जनसङ्ख्या 

सहरमा बस्नेको सङ्ख्यामा 

व्यापक वृद्धि देखिएको छ । पहिलो पटक सङ्घीय संरचनाअनुसार पनि जनसङ्ख्याको तथ्याङ्क राखिएको हिसाबले सहर मानिने नगरपालिकामा मुलुकको अधिकांश जनसङ्ख्या रहेको पाइएको छ । जनगणनाअनुसार कुल जनसङ्ख्याको ६६.१७ प्रतिशत नगरपालिकामा बस्छन् भने ३३.८३ प्रतिशत गाउँपालिकामा बस्ने गर्छन् । 

जिल्लागत हिसाबले काठमाडौँँमा सबैभन्दा धेरै 

जनसङ्ख्या रहेको छ । काठमाडौँको जनसङ्ख्या २० लाख ४१ हजार ५८७ गणना गरिएको छ । काठमाडौँपछि मोरङ, रुपन्देही, झापा र सुनसरी धेरै जनसङ्ख्या भएका जिल्ला हुन् । सबैभन्दा कम मनाङमा पाँच हजार ६५८ जनसङ्ख्या रहेको छ । मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला कम जनसङ्ख्या भएका जिल्लामा क्रमशः दोस्रोदेखि पाँचौँ 

स्थानमा पर्छन् । 

प्रदेशगत सबैभन्दा धेरै बागमती प्रदेशमा २०.९७ प्रतिशत जनसङ्ख्या छ भने सबैभन्दा कम कर्णालीमा ५.७९ प्रतिशत रहेको छ । बागमतीपछि जनसङ्ख्याको आकारको हिसाबले मधेश, कोशी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी क्रमशः दोस्रोदेखि छैटौैँ स्थानमा रहेका छन् । 

तराई झर्दै नेपाली

जनगणनाले हिमाल र पहाडबाट तराईमा बसोबास गर्ने नेपालीको सङ्ख्या क्रमशः बढ्दै गरेको देखाउँछ । तराईमा रोजगारी र मानवीय आवश्यकताका सुविधा उपलब्धताले पनि यसतर्फ 

जनसङ्ख्या बढेको हुन सक्छ । भौगोलिक क्षेत्रअनुसार देशको कुल जनसङ्ख्याको ५३.६१ प्रतिशत अर्थात् एक करोड ५६ लाख ३४ हजार ६ तराईको जनसङ्ख्या छ । जबकि २०६८ सालको जनगणनाले तराईमा त्यतिबेला कुल जनसङ्ख्याको ५०.२७ प्रतिशत अर्थात् एक करोड ३३ लाख १८ हजार ७०५ थियो । यस हिसाबले दस वर्षको अवधिमा तराईमा २३ लाख जनसङ्ख्या बढेको छ । 

तराईको तुलनामा पहाड र हिमालको जनसङ्ख्या एकदमै कम वृद्धि देखिन्छ । २०६८ सालको जनगणनाले पहाडमा एक करोड १३ लाख ९४ हजार सात जनसङ्ख्या देखाएको थियो र यसपालि त्यसमा करिब साढे तीन लाख बढेर एक करोड १७ लाख ५७ हजार पुगेको देखिन्छ । यस्तै दस वर्षअघि १७ लाख ७२ हजार ९४८ जनसङ्ख्या रहेको हिमालको जनसङ्ख्या करिब नौ हजारले मात्र बढेर १७ लाख ८१ हजार ७९२ पुगेको छ । 

आधा जनसङ्ख्या आयआर्जनमा 

देशको आधाभन्दा केही बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । पछिल्लो जनगणनाअनुसार एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेका छन् । यस हिसाबले कुल जनसङ्ख्याको ५३.७९ प्रतिशत व्यक्ति आयआर्जनमा संलग्न देखिन्छ ।  

जनगणनामा जुनसुकै काम जति पनि अवधिका लागि गरेका वा काम खोजेका १० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिलाई मात्र आर्थिक रूपमा सक्रिय व्यक्तिअन्तर्गत राखिएको छ । यसअन्तर्गत दुई करोड ३९ लाख ५८ हजार ८६८ व्यक्ति पर्छन् । बाँकी ८२ लाख ११ हजार १२ जना भने आर्थिक रूपले निष्क्रिय छन् । 

दस वर्ष वा सोभन्दा माथिका प्रायः आर्थिक रूपले सक्रिय करिब एक करोड ४९ लाख ८३ हजार ३१० जनसङ्ख्यामध्ये आधा हिस्सा 

पेसागत रूपमा सबैभन्दा धेरै कृषि, वन र माछापालन पेसामा संलग्न रहेको पाइएको छ । ७५ लाख दुई हजार ३८५ जना यो पेसामा संलग्न देखिन्छ । जसमा ४० लाख ४३ हजार ४३८ महिला र ३४ लाख ५८ हजार ९४७ पुरुष रहेका छन् । 

यसपछि सामान्य वा प्राथमिक पेसामा संलग्नको सङ्ख्या ३४ लाख ३८ हजार ९३१ रहेको छ । त्यसपछि क्रमैसँग शिल्पकला तथा कालिगढ र यससम्बन्धी व्यापार गर्ने कामदार, सेवा तथा वस्तु बिक्री गर्ने कामदार, व्यवस्थापकलगायत रहेका छन् । 

औद्योगिक क्षेत्रअनुसार पनि सबैभन्दा धेरै कृषि, वन र पशुपालनमा संलग्नको सङ्ख्या सबैभन्दा धेरै छ । जसको हिस्सा नेपालस्तरीय औद्योगिक क्षेत्र वर्गीकरणअनुसार ५७.३ प्रतिशत रहेको छ । कृषिपछि थोक एवं खुद्रा व्यापार, मोटरगाडी एवं मोटरसाइकल मर्मत व्यापारका कार्यमा संलग्नको सङ्ख्या धेरै छ । 

आर्थिक रूपले सक्रिय व्यक्तिमध्ये करिब ८३ लाखले आफ्नै काम गर्ने पाइएको छ । रोजगारी अवस्थाअनुसार गरिएको जनगणनाअन्तर्गत ८२ लाख ९२ हजार ४५ जनाले आफ्नै काम गर्ने देखिन्छ । ४२ लाख ९२ हजार ५७१ जनाले चाहिँ अरूको काम गर्छन् । देशभर रोजगारदाताको सङ्ख्या दुई लाख १२ हजार ३७० रहेको छ ।   

आर्थिक कामको संस्थागत क्षेत्रअनुसार सबैभन्दा धेरै घरायसी क्षेत्रमा संलग्न देखिन्छ । जुन 

सङ्ख्या ९२ लाख ६० हजार ४६२ छ । त्यसपछि गैर वित्तीय संस्थामा काम गर्नेको सङ्ख्या ४८ लाख ९६ हजार ६७३ रहेको छ । यसबाहेक सरकारी क्षेत्रमा काम गर्ने पाँच लाख ८५ हजार १६४ र वित्तीय संस्थामा काम गर्ने एक लाख ६३ हजार ९४६ छ । 

आर्थिक रूपले सक्रिय भएर पनि काम नगर्नुको मुख्य कारण भने धेरैजना विद्यार्थी भएको देखिन्छ । १० वर्ष वा सोभन्दा माथिको उमेरको भएर पनि आर्थिक रूपले निष्क्रिय ८९ लाख ७५ हजार ५५८ जनामध्ये ४६.९ प्रतिशत अर्थात् ४२ लाख ६ हजार ३१६  विद्यार्थी छन् । त्यसपछि १९ लाख ६७ हजार ४८६ जना घरधन्दामा छन् । नौ लाख ८५ हजार ७२१ जना वृद्ध अवस्थाका कारण काम गर्न सक्ने अवस्थामा छैनन् भने छ लाख ७३ हजार २६७ जनाले पारिवारिक हेरचाहमा बस्नु परेको छ । 

ग्यासको प्रयोग बढ्यो

देशमा आधाभन्दा बढी परिवारले खाना पकाउन काठ तथा दाउराको प्रयोग गर्ने देखिए पनि एलपी ग्यासको प्रयोग व्यापक बढेको छ । जनगणनाअनुसार कुल परिवारमध्ये ५१ प्रतिशतले काठ दाउरा प्रयोग गर्छन् । त्यस्तै ४४.३ प्रतिशतले ग्यास प्रयोग गर्दै आएका छन् । यसबाहेक बाँकीले बिजुली, गुइँठा, बायोग्यास, मट्टीतेल र अन्य इन्धनको प्रयोग गर्ने पाइएको छ । 

कुल परिवारमध्ये ५७ प्रतिशतको खानेपानीको स्रोत धारा वा पाइपबाट आएको पानी रहेको छ । त्यसपछि २९.८ प्रतिशत परिवारले ट्युबवेल, १.५ प्रतिशतले इनार तथा कुवा, ३.९ प्रतिशतले मूल धारा र ४.६ प्रतिशतले जार तथा बोतलको पानी प्रयोग गर्ने गरेका छन् । कुल परिवारमध्ये ९२.२ प्रतिशतले बिजुली प्रयोग गर्ने पाइएको छ । मुलुकमा साधारण मोबाइल फोन भएका परिवारको सङ्ख्या ७३.१५ प्रतिशत छ भने स्मार्टफोन भएका परिवारको सङ्ख्या ७२.९४ प्रतिशत छ । त्यस्तै ४९.३७ प्रतिशत परिवारसँग टेलिभिजन, ३७.७२ प्रतिशतसँग इन्टरनेट सुविधा र ३५.२१ प्रतिशतसँग साइकल उपलब्ध  छ । कुल परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालय प्रयोग गर्ने पाइएको छ ।