• १३ वैशाख २०८१, बिहिबार

२५ करोड लगानीमा आधुनिक शीत भण्डार निर्माण

blog

कपिलवस्तुको बुद्धभूमि १० जनकपुरमा संचालन गरिएको एग्रीवस्तु शीत भण्डार । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, वैशाख ११ गते । कोभिड सङ्क्रमणले देशभरि त्रास फैलिएको बेलामा कपिलवस्तुका आशिष् शर्मा भारततिर निस्किनुभयो । चौधरी ग्रुपमा उच्च तहमा कार्यरत शर्मा भारतको ४० बढी शीत भण्डारको अवलोकन गर्नुभयो । करिब २ साता लामो अवलोकन अध्ययनपछि उहाँको नजर ‘मोडिफाइड एट्मोसफेयर कोल्ड स्टोर’ मा गयो । 

नेपालमा सीए. (कन्ट्रोल एटमोसफेयर) प्रविधिको शीत भण्डार मात्र छ । यो प्रविधिमा तापमान र आद्रतालाई नियन्त्रण गर्न मात्र सकिने रहेछ । भारतमा प्रयोगमा आएको मोडिफाइड सिस्टममा भण्डार गृह भित्रको वातावरण नै आफूले चाहेजस्तो निर्माण गर्न सकिने शर्माले अवलोकनको क्रममा थाहा पाउनुभयो । 

मासिक १० लाख तलबको सुविधा त्याग गरी शीत भण्डारमा नयाँ प्रविधि भित्र्याएको शर्माले दाबी गर्नुभयो । “नेपालको लागि यो नौलो प्रविधि हो । कन्ट्रोल एटमोसफियर प्रविधिमा तापक्रम र आद्रता (हावामा पानीको मात्रा) मात्र नियन्त्रण हुन्छ । ‘मोडिफाइड एटमोसफेयर’ प्रविधिमा अक्सिजन, कार्वनडाई–अक्साइड र इथाइलिनलगायतका ग्यासलाई नियन्त्रण गर्छ । यी ग्यासले भण्डारण गरिएका बस्तुलाई असर गर्छ । सामग्रीको गुणस्तर घट्न नदिने र धेरै समयसम्म टिकाउँछ” शर्माले भन्नुभयो ।  

करिब दुई बिघा क्षेत्रफलमा निर्माण भएको संरचनामा २५ करोड रुपियाँ खर्च भएको उहाँको भनाइ छ । केही वर्षमा फ्रोजन फुडको प्रोसेसिङ प्लान्ट लगाउने योजना रहेको छ । भारतबाट फलफूल निर्यात गर्दा चिसो हुने साधन प्रयोग गरी ल्याइएको छ । भण्डारण भएका फलफूल र तरकारीलाई प्याकेजिङ गरी बजारमा पठाउने योजना रहेको छ । 

“एग्रीवस्तु” अटोमेटिक मोडिफाइड एटमोसफियर भण्डार गृहमा आठ वटा च्यामबर रहेका छन्, जसमा कम्प्युटराइज्द प्रविधिमार्फत अलग–अलग वातावरण सिर्जना गरी भण्डार गर्न सकिन्छ । अहिले काभ्रे, पाँचथरजस्ता उच्च क्षेत्रमा उत्पादन भएका आलु, स्थानीय उत्पादन, भारतबाट ल्याइएका प्याज र फलफुलगरी ४५ थरी भण्डारण भएका छन् । 

आलु भण्डारण गर्दा टुसा नलाग्ने र कुहिने सम्भावना निकै कम हुने प्रविधि प्रयोग गरिएको उहाँले बताउनुभयो । तरकारी उत्पादनको मुख्य क्षेत्रमा शीत भण्डार निर्माण भएपछि कृषकका खपत हुन नसकेका उत्पादन खेर नहुने स्थानीय कृषक वीरेन्द्र खरविन्दले बताउनुभयो ।

अघिल्ला वर्षहरूमा बन्दा, भिण्डी, टमाटरलगायतका तरकारी बिक्री नभएर गाइवस्तुलाई खुवाउनुपर्ने बाध्यता रहे पनि अब अन्त्य हुने खरविन्दको दाबी छ । शीत भण्डारमा ८० जना कामदारले रोजगारी पाएका छन् । राजनीतिक संस्कारमा हुर्किएका शर्मा पूर्व मन्त्री दीपकुमार उपाध्यायका छोरा हुनुहुन्छ ।