चित्र मिजार
सिन्धुपाल्चोक, वैशाख ८ गते । जनस्तरबाट जुटेको रकम जुरे पहिरोपीडितलाई वितरण गरिने भएको छ। पहिरोपीडितका नाममा जनस्तरबाट दुई करोड २४ लाख ६६ हजार ६५७ रुपियाँ ८५ पैसा सहयोग जुटेकोमा त्यसबेला पहिरोपीडितलाई रकम नबाँडेर सरकारी खातामा जम्मा गरिएको थियो।
वैशाख ५ गते सम्पन्न जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जुरे पहिरोपीडितको उद्धार, राहत र पुनस्र्थापनाका नाममा सङ्कलन भएको रकम नगदै वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो। २०७१ साउन १७ गते इटिनी पहाड खसेर जुरे पहिरो गएको थियो। उक्त पहिरोमा परी १४२ जनाको ज्यान गएको र १५३ घरपरिवार विस्थापित भएको विपत् व्यवस्थापन समितिको तथ्याङ्क छ।
गत चैत १४ गतेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयअनुसार जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितलाई तीन साताभित्र नगद वितरण गर्ने भएको हो। नगद वितरणलाई सहज बनाउन जुरे पहिरो प्रभावित बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई पीडितको खाता नम्बर पठाउन अनुरोध गरिएको छ।
जुरे पहिरोपीडितलाई नगद प्रदान गर्न मापदण्ड बनाइएको छ। प्रतिमृतकका आश्रित वा कानुनी हकवालालाई २० हजारका दरले २८ लाख ४० हजार रुपियाँ वितरण हुने छ भने बाँकी एक करोड ९६ लाख २६ हजार ६५७ रुपियाँ ८५ पैसा राहत वितरण मापदण्डको प्रतिवेदनअनुसार वितरण गरिने प्रजिअ न्यौपानेले बताउनुभयो।
‘जुरे पहिरोपीडित राहत वितरण मापदण्ड २०७१’ अनुसार पीडितलाई छ वर्गमा वर्गीकरण गरिएको छ। जुरे पहिरोबाट सबैभन्दा बढी बलेफी गाउँपालिका ड्याम साइड र कागुने गाउँ, बाह्रबिसे नगरपालिकाको राम्चे र त्रिपुरासुन्दरी गाउँपालिकाको दावी, टेकानपुरका बासिन्दा प्रभावित भएका थिए। बलेफी गाउँपालिकामा ११६ परिवार, बाह्रबिसे नगरपालिकाका ९६ परिवार र त्रिपुरासुन्दरी गाउँपालिकाका ६८ परिवार प्रभावित सूचीमा रहेका छन्।
बलेफी गाउँपालिका–८ का वडाध्यक्ष तथा पहिरोपीडित रमेशकुमार श्रेष्ठले नौ वर्षपछि भए पनि जनस्तरबाट जुटेको रकम बाँड्ने सरकारी निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो। अहिले जुरे पहिरोपीडित पुनर्निर्माण गरी बसिरहेका छन्।