• २० पुस २०८१, शनिबार

१० करोडसम्मको वैदेशिक लगानी स्वीकृत गर्न स्वचालित प्रणाली लागू हुँदै

blog

वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्नेबारे जानकारी दिनुहुँदै उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, वैशाख ७ गते । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन लागेको बताउनुभयो ।

उहाँले अब प्रचलित कानुन बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृतका सेवाहरू स्वचालित बनाउने व्यवस्था गरेको जानकारी दिनुभयो । महानिर्देशक तिवारीले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न सुरु गरिएको बताउनुभयो ।

महानिर्देशक तिवारीका अनुसार वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न सुरु गरेसँगै उद्योग विभागको सम्पूर्ण सेवा स्वचालित बनाउने विभागको तयारी छ । उहाँले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ संशोधनको तयारीमा रहेको भन्दै उक्त नियमावली कार्यान्वयनका लागि विभागले वेबमा आधारित स्वचालित प्रणाली निर्माण गरेको बताउनुभयो ।

महानिर्देशक तिवारीले विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्नसक्ने, लगानी स्वीकृतको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैङ्क, कम्पनी रजिस्ट्रारको कार्यालयमा स्वचालित प्रणालीमार्फत नै हुने बताउनुभयो । लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने भएको उहाँको भनाइ छ । उहाँले उक्त प्रणाली लागू भएसँगै नेपालमा लगानीका लागि प्रशासनिक  सुधारको चरणमा रहेको भन्ने सन्देश जाने विभागले विश्वास लिएको बताउनु भयो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी दुई करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागेको हो । विभागले नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेसँगै कार्यान्वयन गर्ने बताएको छ । उक्त प्रणाली अन्तर्राष्ट्रिय अभ्यासमा आफैँमा लगानीमैत्री वातावरणको एक महत्त्वपूर्ण सूचक रहेको भारत, बङ्गलादेश लगायतका मुलुकहरूमा भएको अभ्यासले देखाएको छ ।