रेखीराम राना
पाल्पा, वैशाख ६ गते । पछिल्लो एक सातामा जिल्लाको ५० भन्दा बढी स्थानमा आगलागीका घटना भएका छन्।
तिनाउ गाउँपालिकाका सामुदायिक वनमा सबैभन्दा बढी आगलागी भएको छ। तिनाउपछि रैनादेवी छहरा, रिब्दीकोटको विभिन्न स्थानमा डढेलो लागेको छ। यस्तै माथागढी, पूर्वखोला, रामपुर, रम्भा, तानसेनमा गरी ५२ स्थानमा आगलागीका घटना भएका छन्। गत वर्ष आगलागी हुने अवधिमा पाँच स्थानमा मात्र डढेलो लागेको थियो।
डढेलो निभाउने प्रयास भए पनि पर्याप्त उपकरणको अभावमा नियन्त्रणमा ल्याउन कठिन रहेको स्थानीय बासिन्दाको भनाइ छ। केही दिनयता सामुदायिक वनमा डढेलो लागेको लाग्यै छ तर नियन्त्रण ल्याउन समस्या भइरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।
यस पटक विगतको तुलनामा डढेलो बढेको डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले बताउनुभयो। जताततै डढेलो लागेपछि बस्ती जोगाउन स्थानीय बासिन्दा र डढेलो नियन्त्रण टोलीलाई अप्ठेरो परेको छ। डढेलो प्रायः चुरे तथा उच्च पहाडी क्षेत्रमा लागेकाले निभाउन पानीको अभाव भएको उहाँले बताउनुभयो। यसका साथै डढेलो नियन्त्रण गर्न आवश्यक उपकरण, दमकल नहुँदा आगलागी नियन्त्रणमा ल्याउन कठिन रहेको स्थानीय डढेलो नियन्त्रण टोलीले जनाएको छ।
डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण, सुरक्षित हुने सामग्रीको समेत अभाव रहेको डिभिजन वन कार्यालयका टास्क फोर्स प्रमुख उपेन्द्र अर्यालले बताउनुभयो। उपभोक्ताले स्याउलासोत्तर, दाँतेको सहयोगमा आगो निभाउने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो। पछिल्लो समय बाँदर, दुम्सी तथा अन्य वन्यजस्तुको समस्याबाट पीडित बनेका उपभोक्ताले जानाजान आगलागी गराएको हुनसक्ने प्रहरीको अनुमान छ।
यो वर्ष पहिले डढेलो नलाग्ने स्थानमा पनि डढेलोका घटना भइरहेको प्रहरीले जनाएको छ। वन्यजन्तुको आक्रमणबाट बच्न डढेलोका घटना स्थानीय बासिन्दाबाटै भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले आशङ्का गर्नुभयो। यस पटक धेरै स्थानमा आगलागी भएकाले डढेलो नियन्त्रणमा प्रहरीले अनावश्यक समस्या झेल्नु परेको उहाँले बताउनुभयो। डढेलो लगाउनेमाथि निगरानी भए पनि अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उहाँले उल्लेख गर्नुभयो।
डढेलो नियन्त्रणका लागि हाल तानसेन नगरपालिकामा मात्र एउटा दमकल छ। अन्य नौवटा पालिकामा दमकल छैनन्। आगो निभाउने दमकल, आगो नियन्त्रणमा खटिने तालिमप्राप्त जनशक्ति तथा अन्य आवश्यक उपकरण नहुँदा बस्तीभित्र डढेलो प्रवेश गरेको अवस्थामा ठूलो क्षति हुन सक्ने वनका कर्मचारीहरू बताउँछन्।