बारा, असोज ३१ गते । ७०औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले गोरखापत्रकर्मीसहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको छ।
शुक्रबार आयोजित विशेष कार्यक्रममा गोरखापत्र दैनिकका बारा प्रतिनिधि शिवशङ्कर मिश्रा, कान्तिपुर टेलिभिजनका रमेश ठाकुर, रातोपाटीकी शारदा पोखरेल र नयाँ पत्रिकाका इन्दिप कोइरालालाई पत्रकारितामार्फत प्रहरी र समुदायबीच सहकार्यमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले संयुक्त रुपमा उनीहरुलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
सोही अवसरमा रसुवा गढीमा ड्युटीमा खटेका बाराको फेटा गाउँपालिका १ भलुहीका प्रहरी जवान मुन्ना ठाकुरको पहिरोमा ज्यान गुमाएकोले उहाँकी धर्मपत्नी गुन्जा ठाकुरलाई पनि सम्मान गरेको थियो। उहाँलाई दोसल्लासहित ‘प्रहरी विपद् तथा राहत कोष’बाट प्राप्त ६ लाख रुपियाँको चेक र ३५ हजार नगद सहयोग प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
कार्यक्रममा जिल्लास्तरीय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु, स्थानीय अगुवा, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति थियो।