• १ कात्तिक २०८२, शनिबार

१० वटा घडियाल गोही खौराहा खोलामा छाडियो

blog

प्राकृतिक स्थानमा गोही छोडिँदै ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया), असोज ३१ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका १० वटा घडियाल गोही प्राकृतिक बासस्थान निकुञ्जभित्र रहेको खौराहा खोलामा छोडिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेल र वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरनभक्त घले समेतको टोलीले गोहीलाई प्राकृतिक बासस्थानमा छोडिएको हो  

प्राकृतिक बासस्थानमा छोडिएका घडियाल गोही पाँच वटा भाले र पाँचवटा पोथी छन् । बर्दिया निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले छाडिएका गोही ३ देखि ८ वर्ष उमेरका रहेको बताउनुभयो । हाल प्रजनन केन्द्रमा ठुलो एक सय ४० र सानो ७० वटा गरी दुई सय १० वटा गोही छन् । 

२०३९ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा २०७२ सालदेखि प्रजन प्रक्रियाको सुरुवात भएको थियो । भने २०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक बासस्थानमा छाडिएको थियो । यस अघि बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० गरी जम्मा २३ ओटा बच्चालाई प्राकृतिक बासस्थानमा छोडिएको थियो । प्रजनन केन्द्रमा हाल २ भाले र ४ पोथी गरी ६ वटा प्रजनन योग्य घडियाल गोही छन्।

घडियाल गोही स्वच्छ पानी र ताजा माछा खाने संरक्षित सूचीमा रहेको जीव हो । गोहीको बासस्थान व्यवस्थापन गर्ने, चोरी शिकार नियन्त्रण गर्ने खालका कामहरू भैरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । 

बर्दियाको कर्णाली र बबई नदीमा घडियाल गोही पाइन्छ । सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडियाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको थियो ।