• १ कात्तिक २०८२, शनिबार

जेन-जेड प्रदर्शनमा मृत्यु भए पनि पेरुका राष्ट्रपति जेरीद्वारा राजीनामा अस्वीकार

blog

लिमा, असोज ३१ गते । पेरुका नयाँ राष्ट्रपति जोसे जेरीले जेन-जेड कार्यकर्ताहरूको नेतृत्वमा भएको ठूलो विरोध प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु र सयभन्दा बढी घाइते भएपछि पनि राजीनामा दिन अस्वीकार गर्नुभएको छ ।

अधिकारीका अनुसार करिब एक सय जना घाइते भएका छन्, जसमा ८० जना प्रहरी अधिकारी र १० जना पत्रकार पनि समावेश छन् । प्रहरीले प्रदर्शनका क्रममा भएको गोलीकाण्ड र एक प्रदर्शनकारीको हत्याको अनुसन्धान गरिरहेको जनाएको छ ।

“मेरो कर्तव्य देशको स्थिरता कायम राख्नुहोस् यो मेरो जिम्मेवारी र प्रतिबद्धता हो”, राष्ट्रपतिले पेरुको संसद् भ्रमणपछि स्थानीय सञ्चार माध्यमसँग भन्नुभयो । उहाँले अपराध नियन्त्रणका लागि संसद्सँग थप अधिकार माग्ने तयारीमा रहेको पनि बताउनुभयो । 

युवाहरुका लागि राम्रो पेन्सन र तलबको माग गर्दै सुरु भएको विरोध प्रदर्शनले पछिल्लो एक महिनामा भ्रष्टाचार, अपराध र शासनप्रतिको मोहभङ्गबाट थकित पेरुवासीको आक्रोशको रूप लिँदै गएको छ । अक्टोबर १० मा पदभार ग्रहण गर्नुभएका जेरी हालका सातौँ राष्ट्रपति हुनुहुन्छ । उहाँलाई प्रदर्शनकारीले तत्काल राजीनामा दिन र संसद् विघटन गर्न आग्रह गरेका छन् ।

-गोलीकाण्ड र अनुसन्धान-

पेरुको अभियोजक कार्यालयले बिहीबार ३२ वर्षीय प्रदर्शनकारी तथा हिप-हप गायक एडुआर्डो रुइजको मृत्युको अनुसन्धान सुरु गरेको जनाएको छ । उहाँलाई हजारौँ युवा सहभागी भएको प्रदर्शनको बिचमा गोली हानिएको पुष्टि गरिएको छ । अभियोजक कार्यालयले सामाजिक सञ्जाल एक्समा लेख्दै लिमा अस्पतालबाट रुइजको शव हटाउन र ‘गम्भीर मानव अधिकार उल्लङ्घनको सन्दर्भमा अडियो-भिजुअल र ब्यालिस्टिक प्रमाण सङ्कलन’ गर्न आदेश दिएको बताएको छ ।

स्थानीय मिडिया र सुरक्षा क्यामेरामा देखिए अनुसार रुइज गोली लागेपछि सडकमा लडेका थिए र गोली चलाउने व्यक्ति भीडबाट भागेको थियो । प्रत्यक्षदर्शीले भाग्ने व्यक्ति सादा पोशाकमा प्रहरी भएको आशङ्का गरिएको बताएका छन् ।

ओम्बुड्सम्यान कार्यालयका अनुसार प्रदर्शनमा कम्तीमा २४ जना प्रदर्शनकारी र ८० जना प्रहरी अधिकारी घाइते भएका छन् । राष्ट्रिय पत्रकार सङ्घका अनुसार छ जना पत्रकार पेलेटले घाइते भएका र अन्य चार जनालाई प्रहरीले कुटपिट गरेको छ । राष्ट्रपतिले रुइजको मृत्युमा दुःख प्रकट गर्नुभएको छ र हिंसा नियन्त्रणका लागि संयम अपनाउन आग्रह गर्नु भएको छ ।

-विश्वव्यापी आन्दोलनसँग सम्बन्ध-

युवा पुस्ताको असन्तुष्टिबाट प्रेरित पेरुवेली विरोध प्रदर्शन हाल विश्वव्यापी आन्दोलनको शृङ्खलासँग जोडिएका छन् । नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरक्कोमा यस्तै आन्दोलन भइरहेका छन् । प्रदर्शनकारीले प्रायः ‘वन पिस’ एनिमेमा प्रयोग भएको स्ट्रा–टोपी लगाएको समुद्री डाकूको खोपडी भएको कालो झण्डा बोकेका छन् ।

लिमाको मुख्य प्लाजामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरले टिकटकमार्फत प्रदर्शनबारे थाहा पाएपछि सहभागी हुने निर्णय लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी भ्रष्टविरुद्ध लडिरहेका छौँ-त्यही कारणले हामी यहाँ छौँ । सन् २०२२ को आन्दोलनमा ५० जनाको मृत्यु भएको थियो, अहिले पनि स्थिति उस्तै छ ।”

-राजनीतिक सङ्कट र नयाँ राष्ट्रपति-

यो विरोध त्यतिबेला चर्किएको हो जब पेरुको संसदले तत्कालीन राष्ट्रपति डिना बोलुआर्तेलाई पदमुक्त गर्यो, जसलाई विरोध प्रदर्शन दबाउन र अपराध नियन्त्रण गर्न असफल भएको आरोप लागेकै कारण अत्यन्त अलोकप्रिय ठहर गरिएको थियो ।

काङ्ग्रेसका अध्यक्ष रहनुभएका ३८ वर्षीय जोसे जेरीले अपराध नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रपति पदमा शपथ लिनुभएको थियो । उहाँले सोशल मिडियामा सक्रिय तथा अति रूढीवादी पूर्वन्यायाधीश अर्नेस्टो अल्भारेजलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । अल्भारेजले यस घटनाबारे हालसम्म टिप्पणी गर्नुभएको छैन । तर पहिले उहाँले पेरुको जेन-जेड आन्दोलनलाई ‘लोकतन्त्रलाई नष्ट गर्न खोज्ने गिरोह’ भनेर वर्णन गर्नुभएको थियो ।

-आरोप र असन्तुष्टि-

राष्ट्रपति जेरी पनि विवादबाट जोगिन सक्नुभएको छैन । उहाँमाथि पहिले एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो, जुन मुद्दा गत अगस्टमा खारेज गरिएको थियो । यद्यपि सो घटनामा संलग्न अन्य व्यक्तिको अनुसन्धान अझै जारी छ ।

प्रदर्शनकारीले उहाँमाथि आपराधिक समूहलाई फाइदा पुग्ने गरी बनाइएका कानूनको समर्थन गरेको आरोप पनि लगाएका छन् । प्रदर्शनका क्रममा ‘बलात्कारी जेरी हो’ र ‘जेरी भाइलिन हो’ भन्ने नारा घन्किएका थिए । पेरुमा ‘भाइलिन’ शब्द बलात्कारीका लागि प्रयोग हुने अशिष्ट शब्द हो । प्रदर्शनकारीले आतिशबाजी प्रहार गर्दा प्रहरीले अश्रुग्याँस र रबर पेलेट प्रयोग गरी जवाफ दिएको थियो ।

-दशकौँको निराशाको विस्फोट-

पेरुमा दशकौँदेखि जारी राजनीतिक अस्थिरता, भ्रष्टाचार र राज्य क्षमताको ह्रासले जनतामा गहिरो निराशा जन्माएको छ । समाजशास्त्री तथा पोन्टिफिकल क्याथोलिक विश्वविद्यालयका प्राध्यापक ओमार कोरोनेलका अनुसार पेन्सनको मागपछि असुरक्षा, भ्रष्टाचार र राज्यप्रतिको अविश्वास जस्ता अन्य समस्या जोडिएका छन् ।

हालका हिंसात्मक दृश्यले सन् २०२२ मा भएको विरोध प्रदर्शनको सम्झना दिलाएका छन् । उक्त प्रदर्शनमा ५० जना नागरिकको मृत्यु भएको थियो । यस पटक पनि प्रदर्शनकारीले ‘विरोध गर्नु अधिकार हो, हत्या गर्नु अपराध हो’ भन्ने नारासहित र्‍याली निकाले । एक युवतीले ‘खुनीबाट बलात्कारी, उही फोहोर सरकार’ लेखिएको पोस्टर बोकेकी थिइन् । डेभिड टाफुरले भन्नुभयो, “शक्तिको दुरुपयोग, भ्रष्टाचार र निर्दोषहरूको हत्याविरुद्ध यो हाम्रो क्रोध हो ।” रासस/एपी