• २१ वैशाख २०८१, शुक्रबार

बालबालिकालाई निःशुल्क औषधि

blog

नेपाली बालबालिकाले क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क पाउने भएका छन् । ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी)ले विश्व स्वास्थ्य सङ्गठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा नेपालले क्यान्सरविरुद्धको निःशुल्क औषधि प्राप्त गर्नेछ । सन् २०३० सम्म ६० प्रतिशत क्यान्सर रोगीलाई निको गराउने लक्ष्यसहित यी औषधि निःशुल्क प्राप्त गर्ने भएको हो । नेपालमा क्यान्सर रोगलाई अन्त्य गर्नका लागि तथा क्यान्सरको समयमै रोकथाम र उपचार गर्ने व्यवस्था मिलाउन जीआईसीसीले निःशुल्क अभियान सुरु गरेको हो । यस अभियानमा संस्थाले सन् २०३० सम्म १० लाख क्यान्सरपीडित बालबालिकालाई बचाउने र विश्वभरि ६० प्रतिशत क्यान्सर निको गर्ने लक्ष्य लिएको छ । यसो त कान्ति अस्पतालको नेतृत्वमा क्यान्सर रोगको औषधि निःशुल्क उपलब्ध गराउने काम भइरहेको थियो तर जीआईसीसीले नेपाललगायत कम विकसित छवटा राष्ट्रलाई यो वर्ष क्यान्सरविरुद्धको औषधि निःशुल्क उपलब्ध गराउने भएपछि अन्य अस्पतालमा पनि बालबालिकालाई निःशुल्क औषधि प्राप्त हुनेछ । नेपालमा पाटन अस्पतालबाट भने अन्य क्यान्सरका लागि लाखौँ मूल्य पर्ने औषधि निःशुल्क वितरण भइरहेको छ । बालबालिकालाई लक्षित गरेर पहिलो पटक नेपालले निःशुल्क औषधि प्राप्त गर्न लागेको हो । 


नेपालमा कान्ति बाल अस्पतालमा मात्र वार्षिक तीन सय जना बालबालिकाको क्यान्सर रोगको उपचार हुने गरेको छ । क्यान्सर भएपछि ज्यान जोगाउन कठिन हुने भय हुन्छ तर क्यान्सरका अनेक ‘चरण’ हुन्छन् । चिकित्सक क्यान्सर असाध्य होइन, उपचारपछि साध्य लाग्ने रोग हो भन्छन् । पहिलो चरणमा रहेका अधिकांश अङ्गका क्यान्सर उपचारबाट निको भएका उदाहरण छन् । त्यसपछिका चरणमा रहेका क्यान्सर पनि कतिपय अवस्थामा निको हुन्छन् र भइरहेका समेत छन् । उपचारको पहुँचमा पुगेकामध्ये करिब ७० प्रतिशत निको हुने गरेको तथ्याङ्क रहेको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् । नेपालजस्ता विकासोन्मुख देशका मानिसमा प्रायः क्यान्सर अन्तिम चरणमा पुगेपछि पहिचान हुने गरेको छ । त्यस्तो अवस्थामा क्यान्सर देखिएपछि चाहिँ निको पार्न असहज मात्र होइन, महँगोसमेत पर्छ । यही कारण धेरैले क्यान्सरलाई ‘असाध्य रोग’को संज्ञा दिएका हुन् । कान्ति बाल अस्पतालमा रगतसँग सम्बन्धित, मिर्गौला र आँखाको रेटिनोब्लास्टोमा पनि क्यान्सर भएका बालबालिका उपचारका लागि बढी आउँछन् । हरेक वर्ष २५ देखि ३५ जनाको दरमा सो अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्दै छ । 


क्यान्सरका बिरामीलाई उपचार सहयोगबापत नेपाल सरकारले एक लाख रुपियाँ प्रदान गर्ने गरेको छ । यो रकम पहिलो चरणको क्यान्सर निको पार्न सरकारी अस्पतालमा लाग्ने शुल्कका लागि पनि नपुग्ने चिकित्सक बताउँछन् । देशमा क्यान्सर उपचारका लागि सरकारी संस्था निकै कम छन् । भएकामा पनि कहिले उपकरण बिग्रिने वा कहिले अस्पताल सञ्चालन प्रणालीमा समस्या आउने गरेको छ । त्यसैले यसमा पनि सरकारले ध्यान दिनुपर्छ । क्यान्सरको उपचार निजी अस्पतालमा गराउँदा महँगो पर्छ । त्यसैले क्यान्सर उपचारका लागि विधि बनाउने र क्यान्सरका बिरामीलाई दिइरहेको सहयोग समय सापेक्ष वृद्धि गर्नेमा सरकारले ध्यान पु¥याउनुपर्छ । रोगको उपचारका लागि चिकित्सकीय ज्ञान, सीप, औषधि र उपकरणको साथै बिरामी आफ्नै आत्मबल पनि महŒवपूर्ण हुन्छ । मुख्य कुरा त रोग लागेपछि उपचार त गर्नै पर्छ तर रोग लाग्नै नदिने आधारभूत व्यवस्था र सचेतनामा सम्बद्ध सबैको ध्यान जानु आवश्यक छ ।


नेपालमा वार्षिक एक हजार पाँच सय जति बालबालिकामा नयाँ क्यान्सर हुने अनुमान गरिएको छ । बाल क्यान्सर सम्पूर्ण क्यान्सरमा छैठौँ र बाल स्वास्थ्य समस्यामा नवौँ प्रमुख जनस्वास्थ्य समस्या मानिएको छ । नयाँ बिरामीमध्ये बाल क्यान्सरको उपचारको पहुँचमा करिब एकतिहाइ मात्र रहेको चिकित्सक बताउँछन् । सरकारको आर्थिक सहुलियतले सहयोग त पु¥याएको छ । निःशुल्क औषधिले धेरै राहत पु¥याउँछ तर पर्याप्त हुँदैन । क्यान्सरले धनी, गरिब हेर्दैन तर उपचारमा अस्पतालभित्र मात्र कम्तीमा पनि चार–पाँच लाख रुपियाँसम्म खर्च हुन्छ । त्यति मात्र राज्यले बेहोरिदियो भने अभिभावकले अन्य बस्ने खाने व्यवस्थापन गर्न सहज हुन्थ्यो । बालबालिकामा हुने क्यान्सर रोकथाम गर्न सकिँदैन तर छिटो पत्ता लगाएर उपचार गर्न सकिन्छ । त्यसैले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा बालबालिकाको क्यान्सर पत्ता लगाउने क्षमता तथा प्रविधिको विकास गर्नुपर्छ ।