• १० मंसिर २०८१, सोमबार

आएको छ नयाँ वर्ष (कविता)

blog

अहँ, पटक्कै लाग्दैन प्रियतम 

दिन दिनजस्तो 

अब त बिर्सिसकेँ 

खुसी हुन्छ कस्तो ?

सोचिरहन्छु हरदम 

पापी आँधी किन मेरै दैलोभित्र छिर्छ

हृदयमा टुसाएका मुनाहरू सधैँसधैँ नै चुँड्छ 

तिमीले देखाएका गगनचुम्बी सपनाहरू सम्झेर 

हरपल भक्कानो फुट्छ 

 

सगरमाथाजस्तो शिर झुकाएर 

नकुद धनकै लागि सदा 

सारा खुसी बन्धकी राखेर कमाएको धन 

किञ्चित् जाँदैन लाससँगै 

आँखा उघारेर हेर 

आएको छ नयाँ वर्ष 

लहलहाएका छन् मुनाहरू 

ढकमक्क फुलेका छन् पूmलहरू

चरीहरूले अलापिरहेका छन् प्रणयगानहरू

हामीले पनि शिशिरका पलहरू बिर्सिएर 

उज्यालो ओढेर, उज्यालो नै ओछ्याऊँ 

त्यसैले

फरक्क फर्क प्रियतम स्वदेश 

नयाँ वर्षको आगमनसँगै 

कोरौँ जीवनको एउटा सुन्दर तस्बिर ।