• ११ पुस २०८१, बिहिबार

निजी आवासमा पुगेको क्षति सार्वजनिक

blog

असोज दोस्रो साताको बाढीपहिरोबाट पूर्ण रूपमा क्षति भएको निजी आवास ।

बनेपा समाचारदाता

बनेपा, पुस ११ गते । काभ्रेपलाञ्चोक जिल्लामा गत असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण करिब दुई हजार छ सय वटा निजी आवासमा पूर्ण रूपमा क्षति भएको छ । आश्रयस्थल क्लस्टर सहरी विकास तथा भवन कार्यालयले जिल्लाका १३ वटा स्थानीय तहमा दुई हजार ५७७ वटा निजी आवास पूर्ण रूपमा क्षति भएको जनाएको हो । कार्यालयका प्रमुख इन्जिनियर भूमिनन्द ढकालले बाढीपहिरोबाट बेथानचोक गाउँपालिकामा सबैभन्दा बढी ६२९ वटा निजी आवास, नमोबुद्ध नगरपालिकामा ४८९ वटा, रोसी गाउँपालिकामा ३५० वटा, चौँरीदेउराली गाउँपालिकामा १३४, धुलिखेल नगरपालिकामा ८० वटा र पाँचखाल नगरपालिकामा ७६ वटा निजी आवास पूर्ण रूपमा क्षति भएको बताउनुभयो । 

यस्तै खानीखोला गाउँपालिकामा ४५ वटा, महाभारत गाउँपालिकामा २३, तेमाल गाउँपालिकामा ४३९, बनेपा नगरपालिकामा ४७, पनौती नगरपालिकामा ५९, मण्डनदेउपुर नगरपालिकामा ८४ र भुम्लु गाउँपालिकामा १२२ वटा निजी आवास पूर्ण रूपमा क्षति भएको पाइएको हो । सहरी विकास तथा भवन कार्यालयका अनुसार बेथानचोक गाउँपालिकामा एक हजार ५२० वटा घर, नमोबुद्ध नगरपालिकामा एक हजार १२४ घर, रोसी गाउँपालिकामा ७१० वटा, चौँरीदेउराली गाउँपालिकामा ३०७ घर, धुलिखेल नगरपालिकामा ५७२ घर, पाँचखाल नगरपालिकामा ४२४ वटा निजी आवास आंशिक क्षति भएको छ । त्यस्तै खानीखोला गाउँपालिकामा ५६ वटा, महाभारत गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा ५३५, बनेपा नगरपालिकामा ७९, पनौती नगरपालिकामा २७२, मण्डनदेउपुर नगरपालिकामा ६१३ र भुम्लु गाउँपालिकामा ८४ वटा निजी आवासमा आंशिक क्षति भएको छ । 

यसै गरी बाढीपहिरोबाट नमोबुद्ध नगरपालिकामा चार, चौँरीदेउराली गाउँपालिकामा चार, तेमाल गाउँपालिकामा दुई र पनौती र मण्डनदेउपुरमा एक÷एक सरकारी भवन गरी कुल १२ वटा सरकारी भवन पूर्ण रूपमा क्षति भएको छ । साथै बेथानचोक गाउँपालिकामा ४८ वटा, नमोबुद्ध नगरपालिकामा ५५, चौरीदेउरालीमा दुई, पाँचखालमा एक, खानीखोलामा नौ, तेमालमा छ, पनौतीमा चार र मण्डनदेउपुर नगरपालिकामा १० गरी कुल १३५ वटा सरकारी भवन बाढीपहिरोबाट आंशिक क्षति भएको छ । 

बाढीपहिरोबाट नमोबुद्धमा दुई, रोसीमा एक, पनौतीमा एक र मण्डनदेउपुरमा चार वटा गरी कुल आठ वटा सार्वजनिक भवन पूर्ण रूपमा तथा बेथानचोकमा २० वटा, नमोबुद्धमा आठ, रोसीमा ३४, पाँचखालमा १३, महाभारत गाउँपालिकामा ११, तेमाल गाउँपालिकामा १६ र मण्डनदेउपुर नगरपालिकामा १५ गरी १३४ वटा सार्वजनिक भवन आंशिक क्षति भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।