• ६ पुस २०८१, शनिबार

ढुङ्गाहरू देउता भएका छन् (कविता)

blog

न हेर्न सक्छन्

न बोल्न सक्छन्

न सुन्न सक्छन्

न हिँड्न सक्छन्

न केही गर्न सक्छन्

गजधम्म परेका छन्

सदियौँदेखि चुपचाप बसेका छन्

यहाँ ढुङ्गाहरू देउता भएका छन् ।


उसकै अगाडि चेलीहरूको अस्मिता लुटिन्छ

ऊ बलात्कारीहरूलाई समाउन सक्दैन

उसकै अगाडि चोरहरू चोरी गरिरहेका हुन्छन्

ऊ तिनीहरूलाई दण्ड दिन सक्दैन

उसकै अगाडि बाढी आउँछ

आगलागी हुन्छ

भूकम्प जान्छ र हजारौँ मान्छे मर्छन्

ऊ उद्धार गर्न सक्दैन

उसकै अगाडि न्यायको किनबेच भइरहेको हुन्छ

र निर्दोषहरू जेल परिरहेका हुन्छन्

ऊ अन्यायमा पर्नेहरूलाई निसाफ दिन सक्दैन

र न्याय बिक्री गर्नेहरूलाई कारबाही गर्न सक्दैन

ऊ मात्र ट्वाल्ल परिरहन्छ

यहाँ ढुङ्गाहरू देउता भएका छन् । 


उसकै अगाडि मान्छे मान्छेमा विभेद भइरहेको हुन्छ

उसलाई थाहा हुँदैन

उसकै अगाडि उत्तीर्ण हुनुपर्ने अनुत्तीर्ण

र अनुत्तीर्ण हुनुपर्ने उत्तीर्ण भइरहेका हुन्छन्

ऊ सही मूल्याङ्कन गर्न सक्दैन

उसकै अगाडि उसको नाममा

धर्मका व्यापारीहरूले अर्बौं कमाइरहेका हुन्छन्

ऊ तिनीहरूलाई बन्देज लगाउन सक्दैन

उसकै अगाडि कठोर श्रम गर्नेहरू भोकभोकै मरिरहेका हुन्छन्

र एक थोपा पसिना पनि नबगाउनेहरू मोजमस्ती गरिरहेका हुन्छन्

ऊ उसलाई आरती गर्नेहरूको भिडमा हुन्छ

ऊ उसलाई भजन गर्नेहरूबाट घेरिएको हुन्छ

यहाँ ढुङ्गाहरू देउता भएका छन् ।  


मलाई यस्ता देउताहरू चाहिएको छैन

जो ढुङ्गाले जस्तै केही पनि गर्न सक्दैनन्

म जिउँदा जाग्दा देउताहरूको खोजीमा छु

जो मान्छेले जस्तै सबथोक गर्न सक्छन् ।