• ६ पुस २०८१, शनिबार

गोपीका ‘विशृङ्खलित सपना’

blog

कथाकार गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ मा १७ वटा कथा सङ्गृहीत छन् । पश्चात् सुरभि साहित्य प्रतिष्ठानले २०८१ मा सार्वजनिक गरेको कथासङ्ग्रहको आमुखमा विजय चालिसेले भन्नुभए जस्तै ‘लेखन र प्रशासन दुवैतर्फ उच्च स्थान प्राप्त गर्न सफल’ गोपी मैनाली समकालीन नेपाली कथामा आफ्नो छुट्टै पहिचान निर्माण गर्न क्रियाशील हुनुभएको देखिन्छ । 

२०२० असार १ गते काभ्रेपलाञ्चोकको कानपुर–२ मा जन्मिएका गोपी मैनालीले ‘आकार’ पत्रिकामा २०३८ मा कविता प्रकाशन गरी साहित्यमा देखा पर्नुभएको हो । निबन्ध, नियात्रा, समालोचनामा कलम चलाउँदै आएका मैनालीको ‘विशृङ्खलित सपना’ १३ औँ कृति हो ।

परम्परित, असङ्गत आधुनिकता, आयातित प्रयोग वाञ्छितता वा प्रभावमूलक चिन्तन छाडेर नेपाली समाज, स्थानीय परिवेश, गाउँ र सहरबिच जोडिएको अन्तरसम्बन्ध, परिचित पात्र, सम्भावित पात्र विधानका सबै ती कथ्य ‘फ्युजन’ गरेर गोपी मैनालीले गर्नुभएको कथावाचन एक पृथक् ‘गोपी शैली’ हो । नवीनीकृत दोस्रो मैनाली परम्परा हो । उहाँ गुरुप्रसाद मैनाली होइन । ध्रुवचन्द्र गौतम र ध्रुव सापकोटा होइन । भाउपन्थी वा किशोर पहाडी पनि होइन । उहाँ एक प्रखर आत्मचिन्तक हो, वर्ग विश्लेषक हो । उहाँले बटुलेका घटनाक्रम, कथानक र चरित्रचित्रण समाजबाट मात्र टिपिएका छैनन् । आफ्नै रेसिडेन्सी, आफ्नै प्रोक्लेमेसी, आफ्नै ड्रेसअपबाट पनि लिइएका छन् । 

‘आमासँग कुरा गर्ने धोको’ आफ्नै घर बुइँगलबाट आमन्त्रित गरिएको कथा हो । ‘पराजित’ कथाको ‘सुरोज’ अर्थात् ‘विसमको मोटरसाइकल’ को पात्र विसम वा ‘सबैले माया गर्दा रहेछन्’ को अभय, ‘साथी र सापटी’ को हार्दिक त्यही गोपी मैनालीको निर्दोष आकृति हो, जहाँबाट यी कथाहरूले मुक्त आकाशमा विचरण गर्न पाएका छन् । 

कज्जाख युवती ‘गुल्नारा’ विषयकेन्द्रित यो सङ्ग्रहको उत्कृष्ट कथा हो । तीनमहिने तालिमका क्रममा जापान भित्रिएकी गुल्नारा सिरियाली युवा रफिकसित प्रेमजालमा फस्छे र अन्धवेगमा परेर जीवन बर्बाद गर्छे । 

दुवै मुस्लिम हुन् । गुल्नारा र रफिकको दुर्घटित प्रेमकथाले मुस्लिम समाजमा नारीप्रति हुने व्याप्त पुरुष व्यभिचार दुनियासामु छर्लङ्ङ देखाइएको छ । सुखान्त कथा दर्शनले निर्देशित यो कथाको उत्तरार्ध ‘गुल्नारा’ स्वयम्ले नारी मुक्ति अभियानमा आफूलाई सरिक तुल्याएर प्रायश्चित्तको अग्निशमन प्रदर्शन गर्नुले प्रमाणित गरेको छ । 

समयलाई चिन्न नसक्ता पछुतो गर्नुपर्ने हुँदा समयलाई चिनेर निर्वाह गर्नुपर्ने कर्तव्यबोध र अनुरागबोधको कथा ‘आमाको कुरा गर्ने धोको’ ले प्रस्ट गरेको छ । कोशीका किनारमा अप्रत्याशित देखा पर्ने प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षति सँगसँगै समाज संस्कृतिको विलयन ‘धुल्पुरे त बगाएछ’ को कहालीलाग्दो कथाले श्रवण गराउँछ । रोशीसित तरलीकृत किशोर विनयको द्रवणशील मनलाई आमाको वात्सल्यले थुमथुम्याउने प्रयास गर्छ, शायद । 

‘सधैँ असुरक्षित’ की अम्मी हाम्रो समाजमा यत्रतत्र छन् । २१ औँ शताब्दीमा पनि हाम्रा चेली पुरुष हिंसाका सिकार भइरहेकै छन् । यो क्रम घट्दो छैन, बढ्दो छ । ‘साथी र सापटी’ नेपाली समाजका लेनदेनका कथा हुन् । बेइमानीको जीवन्त चित्रण छ यो कथाभित्र । ‘सबैले माया गर्दा रहेछन्’ भित्र रहेको अभयको मानसिकता कृतघ्न र कृतज्ञताबिच रहेको द्वन्द्वित स्थिति हो । 

‘सरोजको विदेश मोह’ जस्ता कथामा उच्च महत्वाकाङ्क्षा, स्त्रीपुरुष आकर्षण, भौतिक सुखसयलको सपना, स्त्री संवेदनामा ह्रास, परपुरुषीय मनोभाव, नक्कली वैवाहिक सम्बन्धको दुरुपयोग, डिभीप्रतिको आकर्षण र त्यसबाट उत्पन्न विकृति र पारिवारिक विघटन आदिको लेखाजोखा छ । 

कथाका यी संरचनाभित्र कतै पञ्चायतकालीन शासन संयन्त्रको ह्याङओभरको झझल्को देखिन्छ । कतै माओवादी द्वन्द्वले तयार पारेको भयावह स्थितिका परिणति छन् त कतिपय सन्दर्भमा गणतन्त्रीय शासन संयन्त्रका विकृतिले उत्पन्न गरेका दुष्परिणति छन् । 

माओवादी द्वन्द्वका बेला ‘सरकारी जागिरे’ कसरी उनीहरूका ‘रिमाक्र्स’ मा रहेका हुन्थे भन्ने कुरा ‘मन लरबराएका बेला’ कथाले सङ्केत गरेको छ । द्वन्द्वले उब्जाएको ‘त्रास’ को सुन्दर वर्णन छ यो कथाभित्र । ‘गोरेदाइ गए, खोला पनि सुक्यो’ गाउँको साधारण कथा भए पनि गोरेदाइको सामाजिकता साधारणमा असाधारण रहेको छ । 

गोपी मैनालीको जागिरे जीवनले निम्त्याएका ‘विदेश भ्रमण’ र ‘केही दुर्गम स्थान’ बाहेक उहाँको ‘कथ्य भूगोल’ रोशीका किनार वरिपरि रहेको देखिन्छ’ । कथाकारले आफू जन्मेहुर्केको समाज, संस्कृति र भूगोललाई छोड्न सक्नुभएको छैन । 

पाश्चात्य संस्कृतिले थोपरेको ‘जन्मदिन’ को परिपाटी वर्तमान नेपाली समाजको यथार्थ हो भने ‘सङ्गतले भत्काएको सपना’ मा इमानदार हरिको विघटन र विलयन नेपालको प्रशासन प्रणालीको कुरूप पक्ष हो । दुर्गम क्षेत्रमा सेवारत कर्मचारी र स्थानीय जनजीवनका समस्यामा आधारित ‘सुकरामको रेडियो प्रेम’ ले कर्णालीको अव्यक्त कथा व्यक्त गरेको छ । आञ्चलिक पृष्ठभूमिमा लेखिएका यी कथाले नेपालको सचित्र अवस्थितिमाथि बहस जारी गरेका छन् । 

गोपी मैनालीले भोग्नु परेको जीवन सङ्घर्ष, पीडा वेदना, विरह, व्यथा, धोका छलकपटका रागहरू कथाले यत्रतत्र व्यक्त गरेका छन् । गोपालजी, जनकजी, राम थापा, सुरोज, हरिश, हरि, शिवशङ्कर, माधव, राघव, श्रवण, विवेक, विनय, पण्डित वा पण्डितनी, गोरेदाइ, अन्नी, विभा, गुल्नारा, कमला, रफिक जस्ता मध्यम वर्गीय निम्नमध्यम वर्गीय पात्रको संयोजनले यो कथासङ्ग्रहको पूर्ण स्वरूप निर्माण भएको छ । 

उहाँले देखेभोगेको समाज संरचना शास्त्रीय छैन, सामान्य छ । पात्रहरू झन्डै कुलीन, अभिजात्य छैनन्, सामान्य छन् । प्रयुक्त भूगोल, संस्कृति र जीवनशैली सामान्य देखिएका छन् तर कथानकीय सन्देश सामान्य छैनन् । कथेत्तर पात्रदंश सामान्य छैनन् । विषयी सरोकार त्यत्तिकै गम्भीर छन् । आत्मकथ्यको झझल्को दिने यी कथा जति रहस्यमयी छन् त्यति नै रोचक छन्, यथार्थका निकट छन् ।  

विकास र समृद्धिबाट वञ्चित यो देशका वास्तविक कथा हुन् यी । शासकले ‘नोटिस’ गर्न नसकेका समाज र पात्रका कथा हुन् यी । नेता, अभियन्ता, योजनाविद् वा देशभक्त भनिएकाले छामछाम छुमछुम गर्न नसकेका र वास्तविक रसग्राहीबाट पनि अदृश्य रहनु परेको यी कथासारको नियति आशाप्रद नहोला भन्न सकिन्न । 

पाठक, अध्येता, सर्जक, कथानुरागीले एक पटक नपढी नहुने कथा सत्य छन्, सङ्ग्रहमा रहेका यी सबै कथा । समकालीन निबन्ध र समालोचनामा अग्रणी स्थान ओगट्न सफल गोपी मैनाली आधुनिक नेपाली कथा आख्यानमा एक चम्किलो ताराका रूपमा देखा पर्नुभएको छ । उहाँले नेपाली जीवनलाई निकटबाट आत्मसात् गर्दै प्रत्येक पात्रप्रति न्याय गर्ने दिशामा आफ्नो चेतना, दृष्टि, विवेक र ज्ञानको उपयोग कुशलतापूर्वक निर्वाह गर्नुभएको देखिन्छ । 

उहाँको आख्यानशिल्पको विशेषता पनि के हो भने नेपाली समाजशास्त्रले उभ्याएका पात्र र फरक चरित्रमाथि चुनौती होइन, समाधानको खोजी गर्नुतर्फ केन्द्रित छ ।

गोपी मैनालीले घोषणा गरे जस्तै यी कथाहरूले प्रत्येक पाठकलाई ‘हामी सबै उस्तै उस्तै कथा हौँ’ को आत्मपरीक्षणमा पु¥याएको अनुभव हुन्छ । किनभने अभिजात्य र कुलीनतन्त्रका व्यक्तिले बाहेक हामी सर्वसाधारण सबैले भोग्ने अभाव, पीडा, वेदना, कुण्ठा, विरहका कथा उस्तै छन्, उही छन् । 

Author

महेश प्रसाई