• २२ असार २०८२, आइतबार

गान्धी मनमोहनमार्गको निर्माण सुस्त : छ वर्षमा आधा पनि भएन काम

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, असार २२ गते । मोरङको पथरीशनिश्चरे–१०, शिविरडाँडाबाट शनिश्चरे बजार गान्धी आश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे गर्न ठेक्का लागेको छ वर्ष हुन लाग्यो । सम्झौता अनुसार यो सडक निर्माण कम्पनीले २०७९ सालको कात्तिक २३ गते हुलाकी सडक निर्देशनालय इटहरीलाई हस्तान्तरण गर्नुपर्ने थियो तर छ वर्ष बितिसक्दा पनि हालसम्म सडक निर्माणको ४५ प्रतिशत मात्र भौतिक र ३७ प्रतिशत वित्तीय प्रगति भएको छ । 

निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालिले करिब पाँच वर्षसम्म लथालिङ्ग पारेर छोडेको सडक स्थानीयको दबाबपछि गत वर्षबाट निर्माण सुरु भएको हो । निर्माण कम्पनीले तोकिएको मिति सकिएको १५ महिनापछि काम थालेको पथरीशनिश्चरे नगरपालिका–९ का वडाध्यक्ष वीरबहादुर राईले बताउनुभयो तर विद्युत्को पोल स्थानान्तरणमा समस्या भएकोले सडकको आधा भाग मात्र कालोपत्रे भइरहेको छ भने आधा भाग पूर्वअवस्थामै रहेको छ । एकातिर कालोपत्रे गरेको भाग छ इन्च अग्लो र अर्कोतर्फ होचो हुँदा साना सवारीचालक जोखिममा परेका छन् । 

पूर्वपश्चिम राजमार्गसँग विराटनगर–रङ्गेली–भद्रपुर सडकलाई जोड्ने यो सडक सङ्घीय सरकारको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीमार्फत २०७६ कातिक २४ गते ठेक्का सम्झौता भएको हो । निर्देशनालयको योजना कार्यालय इटहरीका सूचना अधिकृत इन्जिनीयर उपेन्द्र दासका अनुसार सडक दुई प्याकेजमा ठेक्का लागेको हो । पहिलो प्याकेजमा पथरी–डाँसखोला खण्डको १५ किलोमिटर सडक ७७ करोड नौ लाख ७०८ रुपियाँ ५२ पैसामा ठेक्का लागेको हो । यस्तै डाँसखोलादेखि भारतको बोर्डरसम्म १४.७९७ किलोमिटर ८० करोड ४५ लाख ९१ हजारमा  ठेक्का लागेको हो । दुवै प्याकेजको ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको सूचना अधिकृत दासले बताउनुभयो । उतिबेला सडकलाई जिल्लाकै नमुना सडकका रूपमा निर्माण गरिने बताइएको थियो । दुवैतर्फ नालासहित ६० फिटको  सडकमा २४ फिट कालोपत्रे र बाँकी भाग साइकल र पैदलपथ निर्माण गर्ने योजना थियोे ।

सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले भन्नुभयो, “दोस्रो प्याकेजमा अझ कम काम भएको छ । उहाँका अनुसार दोस्रो प्याकेजमा ३५ प्रतिशत भौतिक र २५ प्रतिशत वित्तीय प्रगति भएको छ । खासगरी विद्युत्का पोल सार्न बजेट अपुग भएकोले विद्युत् पोल नभएका दिशातर्फ कालोपत्रे गरिएको र पोल भएको स्थानमा कालोपत्रे नगरिएको हो । सूचना अधिकारी दासले भन्नुभयो, “तीन वर्ष अर्थात् २०७९ कात्तिक २३ गते सम्पन्न गर्नुपर्ने काम तोकिएको समयमा नसकिएपछि २०८२ असार १६ गतेसम्मका लागि म्याद थप भएको थियो । हाल तेस्रो पटक म्याद थपको प्रव्रिmया सुरु भएको छ ।”

पहिलो प्याकेजमा एकतर्फी पाँच किलोमिटर कालोपत्रे भएको छ तर दोस्रो प्याकेजमा कतिपय स्थानमा साइट नै खाली भएको छैन । सडक कालोपत्रे नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलो खेप्नु स्थानीयका लागि सामान्य झैंँ भएको छ ।