रेखीराम राना
तानसेन, असार २२ गते । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको इन्भर्ट बनाउने काम सकिएको छ । मुख्य सुरुङमार्गमा इन्भर्ट गर्ने काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाको कार्यालयले जनाएको छ । गत माघ ११ गते मुख्य सुरुङमार्ग छिचोलिएपछि सुरुङभित्र इन्भर्ट र लाइनिङको काम सुरु भएको थियो ।
आयोजनाका प्रमुख कृष्णराज अधिकारीले सुरुङमार्गको कुल लम्बाइ एक हजार ८९ मिटरमा इन्भर्टको काम सकिएको जानकारी दिनुभयो । यस्तै उहाँले लाइनिङ र विद्युतीकरणको काम पनि तीव्रगतिमा अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार हालसम्म मुख्य सुरुङमार्गको उत्तरतर्फ ३८८ मिटर र दक्षिणतर्फ ४४६ मिटर गरी ८३४ मिटर लाइनिङको काम सकिएको छ । अधिकारीले बाँकी २५५ मिटर लाइनिङको काम केही महिनाभित्रै सकिने जानकारी दिनुभयो ।
सिद्धबाबा सुरुङमार्गको मुख्य काममध्ये मुख्य सुरुङसहित चार वटै बाइपास ढोका छिचोल्ने, लाइनिङ गर्ने र सुरुङबाहिरको पहाड सुरक्षित बनाउने काम हो । त्यसमध्ये मुख्य सुरुङ र तीन वटा बाइपास ढोका यसअघि नै छिचोल्ने काम सकिएको छ । लाइनिङको मुख्य काम अब केही महिनाभित्रै सकिने गरी काम भइरहेको आयोजनाले जनाएको छ । त्यसपछि सुरुङभित्रको महत्वपूर्ण काम सकिने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले बताउनुभयो । ज्ञवालीले तीन वटै बाइपास ढोकामा पनि इन्भर्ट र लाइनिङको काम भइरहेको बताउनुभयो ।
सुरुङमार्गको हालसम्म ५६ प्रतिशत भौतिक प्रगति र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङमार्गको उत्तर र दक्षिणतर्फको असुरक्षित पहाडलाई सुरक्षित गर्ने कामले भने गति लिन सकेको छैन । यस्तै तिनाउ नदीबाट सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन पर्खाल उठाउने काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
पाँच वर्षभित्र काम सक्ने गरी सरकारले विसं. २०७८ फागुनमा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसनलाई सुरुङमार्ग निर्माण गर्ने जिम्मा दिएको थियो । सुरुङमार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपियाँ खर्च हुने सरकारले जनाएको छ ।
सुरुङमार्ग बनेपछि सिद्धबाबा क्षेत्रमा हिउँद र बर्सातको समयमा खस्ने पहिरोको जोखिम हटाउन सकिने विश्वास गरिएको छ । सुरुङमार्ग बनेपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कास्कीलगायतका नागरिकले सुरक्षित यात्रा गर्न पाउने छन् । यस क्षेत्रमा माथिबाट खस्ने पहिरो र चट्टानका कारण हरेक वर्ष मानिसले ज्यान गुमाउने गरेका छन् ।