ढल्केबर समाचारदाता
ढल्केबर, असार २२ गते । मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले वन तथा वातावरण संरक्षणमा सबैको दायित्व हुने बताउनुभयो । शनिबार धनुषाको लालगढमा वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित पत्रकार, नागरिक समाज र सञ्चारकर्मीबिचको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले मात्र वन तथा वातावरण जोगाउन सक्दैन । सरकारको आशामा मात्रै बस्ने हो भने वन तथा वातावरणका क्षेत्रमा उल्लेखनीय सुधार सम्भव छैन । चुरे जोगाउनु छ, वन बचाउनु छ भने अब सञ्चारकर्मी र नागरिक समाजले भूमिका खेल्नुपर्छ ।” उहाँले वातावरण संरक्षणमा सर्वसाधारणको पनि जिम्मेवारी रहेको औँल्याउँदै जनमानसमा चेतना फैलाउन सञ्चार माध्यमको भूमिका अझ महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारको आलोचना गरेर मात्र वन जोगिँदैन । नागरिकलाई पनि आफ्नो दायित्वबारे बुझाउन जरुरी छ । सञ्चार माध्यमले जसरी राजनीतिक परिवर्तनदेखि सामाजिक रूपान्तरणसम्म योगदान दिँदै आएका छन् । त्यसै गरी अब वन संरक्षणमा पनि योगदानको आवश्यकता रहेको मन्त्री यादवले बताउनुभयो । नागरिकले आफ्नो जिम्मेवारी नबुझेसम्म पर्यावरण संरक्षणमा ठोस उपलब्धि हासिल नहुने उहाँको भनाइ थियो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले प्रदेशमा हाल पाँच हजार ६८२ हेक्टरभन्दा बढी वनभूमि अतिक्रमणमा परेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “वन क्षेत्रमा वृक्षरोपणलगायतका कार्यक्रमले वन क्षेत्रको विस्तारमा टेवा पुर्याएको छ तर अतिक्रमणको समस्या गम्भीर छ ।”
सचिव घिमिरेले वन अतिक्रमण हटाउने कार्ययोजना अनुसार अगाडि बढिरहेको जानकारी दिनुभयो । वन अतिक्रमण हटाउन प्रशासनिक संयन्त्रसँगै अब राजनीतिक तहबाट समेत सहयोग र प्रतिबद्धता जरुरी रहेको बताउँदै उहाँले प्रदेश सरकारले अतिक्रमण नियन्त्रणसँगै दीर्घकालीन वन संरक्षण नीति कार्यान्वयनमा जोड दिइरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा पत्रकार अनिलकुमार कर्णले वन तथा वातावरण संरक्षणका क्षेत्रमा सञ्चारकर्मीले समाचारमा समेट्नुपर्ने विषयवस्तुबारे जानकारी गराउनुभयो ।