बिहे गरेर श्रीमान्सँगै काठमाडौँ के पसेकी थिएँ, मानौँ म यतैकी भएँ । आफ्नो बाल्यकाल बिताएको त्यो ‘सुफी’ गाउँ फर्किनु भनेको पनि सहर नै भयो । बुवा गाउँको हवेली छोडेर जनकपुरको स्थायी बसोबासी हुनुभयो । त्यहाँ मैले माइतीको माया त पाएँ तर आफ्नोपन पाइनँ, जो गाउँमै छुटेको थियो । गाउँको त्यो खाँटी भावदेखि म सधैँ वञ्चित भइरहेँ । मभित्र एकप्रकारको खालीपन विद्यमान थियो ।
श्रीमान्को घर, होइन ‘मेरो घर’; जहाँ म काममा यति दत्तचित्त हुन्थेँ कि बाहिरको दुनियाँ देख्नै नपाई पटक पटक सहर नै पसिरहेँ । त्यही दसैँ र तिहार न हो, विराटनगर घरमा आफूलाई पाहुनाको दर्जामा पाएँ । सात दिनको बसाइ मात्र । हाम्रो सम्बन्ध पनि नजानिँदो किसिमले सहरिया भइसकेको थियो ।
मलाई आज पनि आफ्नो ‘सखुवा’ को सम्झना मात्र आउँछ । बाल्यकाल सम्झ्यो कि सखुवा गाउँको खेतखलिहान, खोलाखोल्सा र हटियाको त्यो हवामिठाई... अहा ! मलाई त्यही अतीतले तानिरहन्छ । नभए त यो सहरले सबै दिएकै छ तर म यहाँ विलासी मात्र भएँ, मैले आफूलाई कतै गुमाए जस्तो लाग्छ । यस सहरमा मेरो अनुहार कतै खसेको छ तर त्यो हराएको अभियोग पनि कसैलाई लगाउन सक्दिनँ । म लाटी ठहरिने छु । “मेरो जस्तो जीवनको कल्पना गर्छन् रे गाउँकी बहिनीहरूले,” ठुलीआमाले एक पटक सुनाउनुभएको थियो । पत्याउन मन लागेन । आमाहरू सखुवा गइरहनुहुन्छ । नातागोताको बिहे होस् अथवा कुलदेवीको पूजा, उहाँहरूको आउजाउ भइरहन्छ अरे । मलाई भने जति पटक निम्ता गरे पनि मेरो परिधिले मलाई उन्मुक्त हुनै दिएन । म बाँधिएकी छु, यस सहरमा । बन्धक भएकी छु । मेरो घरमा, मैले हेरचाह गर्नुपर्ने थुप्रै छन् । उहाँहरूलाई कसरी पो बेसहारा छोड्नु ? हो म आफ्नै मनकी बन्धक हुँ । म स्वयंले रोजेको । किन कसैलाई ‘बेकदर’ गर्नु जस्तो लाग्छ । मैले गरिनँ ।
दसैँमा माइती त गइरहेँ तर गाउँ जाने अवसर आउन पनि एक दशक लागेछ । ठुलीआमा एकादशीको उद्यापन गर्दै हुनुहुन्थ्यो । यस पटक गाउँ जाने सुर मिलेछ । मिल्नुपर्ने मिल्दो रहेछ ।
गाउँको सडकले मलाई बिस्र्यो होला कि भनेर म डराइरहेकी थिएँ । लगभग १० वर्षपछि म गाउँ जाँदै थिएँ । यसअघि बर्दीबास, ढल्केबर र महेन्द्रनगर चोक हुँदै हजार पटक म जनकपुर पुगेकी थिएँ तर महेन्द्रनगर चोकबाट जम्मा एक किलोमिटर भित्र पर्ने मेरो प्यारो गाउँ जान कुन्नि मलाई कुन कुराले रोकेको थियो ? आज पनि अचम्म लागेर आउँछ ! कति हतारमा बिताएँ मैले जीवन ? मानौँ, छोराछोरीको स्कुल मेरै कारणले नछुटे जस्तो, सासूससुराको ख्याल मैले नराखे कसले राखिदिने जस्तो, श्रीमान्को कारोबार मेरै कारणले घाटामा नगएको जस्तो । ओहो ! मैले अलि बढी नै आफूलाई ‘क्रेडिट’ दिएकी रहिछु । मानौँ, म नभएको भए यो घरको प्राणपखेरु नै उड्थ्यो होला जस्तो ।
खैर, हाम्रो सानो मोटर महेन्द्रनगर चोकबाट सखुवातर्फ मोडियो । चोकैमा रहेको साथी कविताको घरले झस्कायो । उजाड घरमा बडेमानको ताल्चा । कसलाई सोधौँ, यो घरको कहानी ? बालखवेलाको मेरो मिल्ने साथीको अनुहार पनि मेरो जस्तै कतै सहरमा खसेको हुनु पर्छ, हाम्रो भेट पुनः हुनै सकेन । हामी कहिले अपरिचित जस्ता भयौँ, थाहै भएन । त्यो घरको रुग्णतादेखि उदेक लागेर आयो तर कसलाई सोधौँ ? श्रीमान् स्वयं त कनिकुथी अगाडि बढिरहेका छन् । यो गाउँको बाटो बबुरोलाई के थाहा ?
आँखामा कविताको अनुहार नाचिरह्यो । गाउँका मोडहरू फेरिएका छन् तर पहिलेको जस्तो उज्यालो पटक्कै छैन । र आज किन हो, मेरो मनमा गाउँ फर्किने न हर्ष छ न त उत्साह । के मैले यो गाउँको मायालाई अतीतको सन्दुकमा कैद गरिदिएकी छु ? थाहा भएन । मेरो मनको भाव एकदमै तटस्थ छ । त्यसमाथि स्थानीय सरकारले भर्खर सडक बनाउँदै गरेकाले पूरै बाटो खनेर बेहाल बनाएका छन् । हाम्रो सानो मोटर आफ्नो औकातभन्दा बढ्ता मच्चेको छ आज ।
सानो चोक आइपुग्यो; जहाँ दरभङ्गावालीको सानो चिया पसल थियो । आज पनि यथावत् छ तर अलि आधुनिक चाहिँ भएको छ । हाम्रो मोटरको टायर फस्यो, सानो चोकमा । मैले गाडीको सिसा तल गरेँ र स्वाद लिएँ ‘बासमती’ हावाको । आँखा भने पटक पटक दरभङ्गावालीको त्यही चिया पसलतिरै गइरहेको थियो । अथवा भनौँ उनैलाई खोजिरहेको थियो । त्यस पसलमा पकौडा र प्याजी किनेको हिजो जस्तै लाग्छ । ‘झालमुरही’ र ‘कच’ को त के कुरा गरौँ, दरभङ्गावालीको हातको स्वाद अपरिमेय हुन्थ्यो । मेरो जिब्रोले कसरी बिर्सन सक्थ्यो र त्यो स्वाद ।
मैले पसल त चिनेँ तर त्यसको फेरिएको विराट् स्वरूपले मलाई काउकुती लगाएर गयो । मलाई आफ्नो आँखामाथि विश्वास लागेन; जुन कुरा मैले धेरै वर्षपहिले खोजेको थिएँ । त्यो दृश्य मेरो आँखाअगाडि साकार भएको थियो । त्यो पनि गाउँभित्रको सानो चोकमा । बल्ल मेरो आत्माले गाउँको सुवास पायो । मन फुरुङ्ग भयो ।
गाउँको त्यो पहिलो मोड, जहाँको चोकमा म सानो हुँदादेखि बिहे गरेर गइसक्दासम्म पनि त्यस पसलमा एउटी महिला पनि बाहिर बरन्डाको मेचमा बसेर चिया–पकौडा खाएको देखेकै थिइनँ । महिला अथवा किशोरी जम्मा भएर गफ गर्नु त धेरै टाढाको कुरा । यहाँ केवल भिड हुन्थ्यो त केटामान्छे, वृद्ध र पुरुषको । चिया–खाजा र टेबुल–मेचदेखि एफएम रेडियोको समाचार र गीतमा मानौँ, उनीहरूकै पेवा थियो । अझ भित्र दरभङ्गावाली पनि लम्बेतान घुम्टो ओढेर चुलोमाथि हात चलाइरहेकी हुन्थिन् । आँखा र मुख छोपेर पनि कसरी उनले पकवान पकाउँथिन्, त्यो पनि भीषण गर्मीमा ? बाहिर सेवा दिन उनका श्रीमान् र देवरहरू हुन्थे ।
आज भने त्यहाँ महिला मात्र होइन, केटी र गाउँकी कनियाँहरू उन्मुक्त हाँस्दै चिया खाइरहेका थिए । बिहानको चियासँगै कान्तिपुर एफएमको समाचारको साउन्ड चर्को बनाइदिन भनिरहेका थिए, केटीहरूले । म वशीकरणमा परे जस्तै त्यो दृश्य एकटकले हेरिरहेकी थिएँ । मेरा लागि यो दृश्यको महत्व कुनै ‘अवार्ड विनिङ सर्ट फिल्म’ भन्दा कमको कहाँ थियो र ? श्रीमान्ले जिस्केर सोधे, “के पकौडाको सुगन्धले तान्दै छ हाम्री सखुवावालीलाई ?”
माइतीमा थिएँ, निश्चय पनि यो मेरो इतराउने ठाउँ थियो । भनेँ, “हो मलाई दरभङ्गावालीको पकौडाको सुगन्धले तान्दै छ ।” म मोटरबाट झरेँ, भित्र आवाज लगाएँ, “हे दरभङ्गावाली भौजी ! दु कप चाह पियाबह ।” उनी दौडेर आइन् र “दैया (नानी) हे !” भन्दै मलाई अँगाल्न पुगिन् । हाम्रा आँसु मिसिए । कति कुरा थिए जो दरभङ्गावालीसँग गर्नु थियो, उनले भित्र कसैलाई चिया पकाउन अराइन् । उनको आवाजमा दनक थियो । मेरा ओठ त्यसै मुस्काए । हाम्रो मोटरको टायर खाल्डोबाट निस्किसकेको थियो यद्यपि मैले त्यहाँ बसेर चिया खाएँ, पत्रिका पढेँ । मानौँ, यो सब यहाँको पुरानै चलन हो ।
तर किन हो, मेरो आँखा अनवरत रसाइरहेकै थियो । कारण मलाई पनि थाहा भएन । श्रीमान्ले सोध्नुभयो, “के भयो ? किन यतिविधि भावुक भएकी ?”
मैले भनेँ, “यो परिवर्तनको अपार सन्तोषबोध हो सम्भवतः ।”
उहाँले मुस्काउँदै भन्नुभयो, “के ठुलो कुरो हो र ?”
मैले भनेँ, “हो त यसमा यति ठुलो कुरो पनि के थियो र, तर कति हजार वर्ष लागेको है ?”
मेरो प्रतिप्रश्न उहाँले सुन्नु नै भएन, किनभने दरभङ्गावालीले उहाँलाई तात्तातो चिया टक्रयाउँदै मखौल गर्दै थिइन् । नन्दज्वाइँसँग जिस्किने चलन छ, हाम्रो मिथिलामा । यतिबेला दरभङ्गावालीको मुहारको श्यामल आभा छोपिएको थिएन । आँचलको लम्बाइ टाउकोमाथि पुगेको थियो, यत्तिमै पनि कति आदर्श देखिएकी उनी ।
अघिदेखि पसलको बरन्डामा बिन्दास चिया खाइरहेकी कलेजका केटीहरूको हुल मस्किँदै बिदा भयो, मानौँ वसन्ती हावाको एक झोक्का भर्खरै मेरो अन्तस्लाई छोएर गयो । आँखा पुनः तरल भएर बगे, उत्साहको आँसु पुछ्दै सोचेँ– यसमा यति ठुलो कुरो पनि के थियो र, जो हजार वर्ष लाग्यो ।