सरमथली गाउँबाट करिब तिस मिनेट पैदल उकालो लागेपछि निर्कु महादेव थानमा पुग्न सकिन्छ । उनै निर्कु महादेवले आफ्नो गाउँघरको रक्षा गरिरहेको जनविश्वास स्थानीयमा छ ।
किंवदन्ती अनुसार गाउँमा हुने भोजभतेर पकाउने तामाका ठुला भाँडाकुँडा निर्कु महादेवले दिन्थे । यसरी ल्याइएका भाँडाकुँडा कसैले जुठै लगेर थानमा फिर्ता गरेपछि महादेव रिसाएर भाँडा दिन बन्द गरेको रमाइलो कथन स्थानीयसँग सुन्न पाइन्छ । अहिले पनि उक्त क्षेत्र वरपर र डाँडामाथिका कुनै पनि स्थानमा जुठो खानेकुरा फालेमा देवताले भलो नगर्ने जनविश्वास छ ।
रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–४, सरमथलीमा पर्ने निर्कु भूमे महादेव थानले नुवाकोट जिल्ला सूर्र्यगढी गाउँपालिका–१ को सिमानालाई लगभग छोएको छ । चट्टानी पहाडको मध्यभागमा अवस्थित उक्त महादेव थानलाई स्थानीयले आफ्नो शिरको देवताका रूपमा मान्दछन् । भक्तालु तथा तीर्थालुहरू जुन सुकै समयमा गएर दर्शन गर्न सहज यस धार्मिक स्थलमा प्रत्येक वर्ष माघेसङ्क्रान्तिमा विशेष पूजा, आराधना र मेला लाग्ने गरेको छ ।
निर्कु महादेव थानभन्दा केही माथि सानो निलो दह रहेको केही प्रत्यक्षदर्शी पाका स्थानीयको दाबी छ । महादेव थानभन्दा माथिको पहाड सिधै उक्लिन असम्भव भएकाले उक्त दह कहाँ छ भनेर ठम्याउन जोकोहीले सक्दैन । अझ अर्को रोचक कुरा उक्त दहमा पातपतिङ्गर झरेमा चराचुरुङ्गीले टिपेर फाल्ने गर्छन् भन्ने भनाइसमेत स्थानीयले रोचक तरिकाले सुनाउँछन् । यद्यपि महादेव थाननजिकै पहराको भित्रभित्रैबाट आएको पानीको मूलले माथि कतै न कतै पानीको स्रोत हुनु पर्छ भनेर अडकल गर्न सकिन्छ ।
स्थानीयले ‘निर्कुथान’ भन्ने यस महादेवको थानमा शिव लिङ्गका रूपमा लाम्चो शिलालाई गाडेर धेरैपहिलेदेखि पूजाआजा गर्दै आएको देखिन्छ । कतैपट्टिबाट पनि पर्खाल बनाएर नछेकिएको हुनाले नजिक पुग्नेबित्तिकै थानमा राखिएका र चढाइएका सबै वस्तुको सजिलै दृश्यावलोकन गर्न सकिन्छ । महादेव थानमा विभिन्न आकारका गाडिएका शिलासहित घण्ट र त्रिशूल देख्न सकिन्छ । थानसँगै पूर्वपट्टि पहराबाट आएको पानीको मूलबाट सानो दुई वटा धारा बनाइएको छ । त्यहाँबाट बगेर जाने पानी सङ्कलन गर्न सानो पोखरी बनाइएको छ ।
निर्कुमुनि तामाङ र नेवार बाहुल्य रमाइलो बस्ती छ । सो स्थानमा निर्कु भुमे माध्यमिक विद्यालय रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण निर्कु थानलाई पर्यटकीय गन्तव्य बनाउन महादेव थानको जीर्णोद्घार गरी बिजुली पनि पु¥याइएको छ । थाननजिकै ठुलो त्रिशूल पनि गाडिएको छ । तीर्थयात्रीको सहजताका लागि तल बस्तीदेखि नै ढुङ्गे सिँढीको बाटो बनाइएको छ । नुवाकोटबाट आउने भक्तजनका लागि पनि राम्रो पदमार्गको व्यवस्था गरिएको छ ।
काठमाडौँबाट टोखा, छहरे, बाहुनबेँसी, लच्याङ हुँदै करिब तीन घण्टाको बसयात्राबाट निर्कु पुग्न सकिन्छ । काठमाडौँबाट नजिकै प्राकृतिक र आध्यात्मिक यात्रामा रमाउन चाहनेका लागि निर्कुयात्रा एउटा रोमाञ्चक र अविस्मरणीय बन्न सक्छ ।