अमरगढी समाचारदाता
डडेलधुरा, पुस ११ गते । तिहारपछि विभिन्न मठमन्दिरमा हुने पूजापाठसँगैको यस वर्षका लागि मेला सकिएका छन् । धार्मिक परम्परा र यहाँको मौलिक संस्कृतिसँगै गरिने पूजापाठ र मेलापात सकिएका हुन् । नवदुर्गा गाउँपालिका–१, भाडीवन डाँडामा रहेको मस्टा भगवती मन्दिरमा पूजाआजासँगै लागेको मेला यो वर्षको अन्तिम मेला हो ।
सुदूरपश्चिम प्रदेशको मौलिक कला संस्कृति र धार्मिक परम्परा अनुसार पूजापाठ गरेर मनाइने जाँत मस्टा भगवतीको पूजापाठ सोमबार सम्पन्न भएको थियो । प्रत्येक वर्ष पूर्णिमा अर्थात् उग्रतारा भगवती मेला देहीजाँतको ठिक एक महिनापछि हुने मस्टा भगवती र नवदुर्गा जाँत विधिवत् रूपमा पूजापाठ भएसँगै यहाँका मठमन्दिरमा हुने विभिन्न देवीदेवताको मेला सकिन्छ । मेलामा देउडा खेल खेली जाँत सम्पन्न हुने गर्छ ।
मस्टा भगवतीमा प्रत्येक नयाँ वर्ष वैशाख १ गते बिसु जाँत, दसैँका दिन दसैँ जाँत र मुख्य रूपमा लिइने पूर्णिमामा पूजापाठ गरिन्छ । धार्मिक विधिवत् रूपमा यस क्षेत्रका पाँच गाउँबाट बाजागाजासहित धामी काप्दै नेजा ध्वजा लिई चोलो आएपछि भाका बैजाली हुन्छ । नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीका अनुसार न्वाघर, सेटीगाउँ र बजाडी गाउँबाट देउरो आएर पूजा गरिने चलन छ । योसँगै सुदूरको संस्कृति छाला नृत्य र देउडा खेल खेल्दै मस्टा भगवतीको जाँत सम्पन्न हुन्छ । परापूर्वकालमा असिनापानीले स्थानीयले लगाएको अन्नबालीसँगै फलफूल नष्ट पारेपछि गाउँ गाउँमा अनिकाल निम्तियो, अनिकालको रोकथामका लागि मस्टा भगवतीमा पूजापाठ गरिएसँगै मस्टा भगवतीमा जाँत गर्ने परम्परा रहिआएको गाउँपालिका अध्यक्ष अवस्थीले बताउनुभयो ।
मस्टा भगवतीमा नयाँ वर्ष बिसु पर्व र दसैँमा बोका राँगाको बलिसमेत दिइन्छ । नवदुर्गा–१, कोटेलीका स्थानीयवासी बोहोरा परिवारले प्रत्येक वर्ष बिसु पर्वका बेला गरिने पूजापाठमा अनिवार्य रूपमा एउटा बोका र एउटा राँगाको बलि दिने प्रचलन छ । उहाँले भन्नुभयो, “अरूहरूले मनोकामना प्राप्तिका लागि भाकल गर्छन् र बोका राँगाको बलि दिने गरेका छन ।” आफूले कुनै वर मागे अनुसार प्राप्त गरिसकेपछि बलि दिने चलन रहेको छ ।
मस्टा भगवतीमा हालसम्मकै विश्वको सबैभन्दा अग्लो भनिएको माता भगवतीको मूर्ति निर्माण गरिएको छ । भगवती माताको वाहन सिंहमाथि आसन गरेको ४५ फिट अग्लो मूर्ति निर्माण गरिएको छ । धार्मिक आस्थासँगै पर्यटन प्रवर्धनका लागि अहिलेसम्म संसारमा सबैभन्दा उचाइ भएको भगवतीको मूर्ति निर्माण गरिएको उहाँको भनाइ छ । मूर्ति निर्माणसँगै मेलालाई व्यवस्थित बनाउन व्यापार व्यवसाय गर्नका लागि अलग अलग स्थान तोकिएको छ ।
असिनापानीले खाद्यान्न बाली नष्ट हुन थालेपछि मस्टा भगवतीको पूजापाठले जोगिएकाले सुदूरपश्चिमलगायत अन्य जिल्ला र सीमा जोडिएका भारतीय जिल्लाबाट समेत श्रद्धालु भक्तजन मस्टा भगवतीमा पुग्ने गरेका छन् ।
नवदुर्गा गाउँपालिका–१ र २ को सिमाना रहेको अग्ला अग्ला सल्लासहित गोला आकारको भिरालो मैदानमा मस्टा भगवती मन्दिर रहेकाले भौगोलिक दृष्किोणमा पनि रमणीय स्थानमा मन्दिर छ । डडेलधुराको अन्तिम जाँत भएकाले पनि मस्टा भगवती मन्दिरको जाँतमा डडेलधुराका अधिकांश स्थानबाट स्थानीय पुग्ने गरेका छन् ।