• ६ पुस २०८१, शनिबार

जनकपुरमा चुस्दै बरफ

blog

सपनाको सहर जनकपुर । हुन त बुवाको सान्निध्यमा पञ्चकन्या प्राइमरी स्कुल, काभ्रे, वाल्टिङमा पढ्थेँ त्यतिबेला । त्यस सरकारी स्कुलमा बुवा हेडमास्टर हुनुहुन्थ्यो । तलब झिक्न एक/दुई महिनाको अन्तरालमा बुवा धुलिखेल जानुहुन्थ्यो । बुवाको मुखबाटै काठमाडौँ र धुलिखेलको नाम पहिलो पटक सुनेको हुँ । एक पटक बुवासँगै पैदल यात्रा गर्दै काठमाडौँसम्मै पुगेको पनि हुँ । २०१९/२० सालताका काठमाडौँ पस्दा पहिलो पटक झल्याकझुलुक गाडी देखेको हुँ । मेरो जन्मस्थल घोक्सिला (सिन्धुली) बाट निकै टाढा भएर पनि होला, काठमाडौँ मेरो बचपनको सपना सहर कहिल्यै भएन । बरु मेरो सपनाको सहर त जनकपुर थियो । 

हजुरबाको पालामै सुनेथेँ जनकपुरको नाम । त्यहाँ सुनको गजुर लगाएको जानकी मन्दिर छ रे अनि अरू त्यस्ता थुप्रै मन्दिर छन् रे । किन्नु परे के चिज पाइँदैन रे त्यहाँ ? 

महोत्तरीको मनहरामा हजुरबाकी बहिनी अर्थात् बुवाको फुपूको बिहे भएको थियो । यसैले गर्दा पनि होला, हजुरबाले पछि त्यहाँ गएर जग्गा जोड्नुभएको रहेछ । यस्तै यस्तै कारणले हजुरबा, बुवाआमाले समेत त्यस ठाउँको नाम लिइरहनुहुन्थ्यो । तीन वर्षको हुँदा मलाई जनकपुर लगिएको रहेछ । त्यति हेक्का हुने कुरो भएन तथापि बचपनदेखिको जनकपुरप्रतिको ममा रहेको सकारात्मक छाप अलिक पछि आइपुग्दा निरन्तर मात्र रहेन, बरु निकै बढोत्तरी भएको पाउँथेँ । 

विसं २०२४ को कुरा हो, म वाल्टिङबाट बुवासँग छुट्टिई सिन्धुलीको कमला हाइस्कुलमा भर्ना हुन आइसकेको थिएँ । विद्यालयका प्रधानाध्यापक जगदीश्वर महतोसँग भेट भयो । मैले त्यहाँ भर्ना हुने इच्छा व्यक्त गरेपछि प्रश्न सोधियो, “कति कक्षामा ?”

म अलिक हिच्किचाएँ । मेरो यसअघिको सर्टिफिकेट ५ कक्षाको मात्र थियो । बुवाले भनेको झट्ट सम्झेँ, “८ कक्षाभन्दा सानोमा सकेसम्म भर्ना नहुनु ।”

मेरो हिचकिचाहट देखेर महतो सरले जाँच लिन चाहनुभयो । अल्जेब्राका दुई/चार इक्वेसन अनि अङ्ग्रेजीका दुई/चार ट्रान्सलेसन सोध्नुभयो । पञ्चकन्या स्कुलको ५ कक्षा भएर के भो र ? मैले सबैको उत्तर ठिक/ठिक दिएछु । म तत्काल ९ कक्षामा भर्ना भएँ । ढकालगाउँमा सानी दिदीको घरमा बसेर ९ कक्षा पढँे । १० कक्षामा पुगेपछि खम्बेचौरछेवैमा सानीआमाको घरमा बस्न पुगेँ । 

सिन्धुली पढ्न बसेपछि नजिकैको जनकपुर सहरसँग झन् निकट जस्तो लाग्न थाल्यो । विद्यालयका प्रधानाध्यापक जगदीश्वर महतो, भूगोलका शिक्षक सूर्यदेव साह, अङ्ग्रेजी शिक्षक रामचन्द्र उपाध्याय, लक्ष्मी सुमन, रायश्वर रजक सबै जनकपुरकै सेरोफेरोबाट आउनुभएको थियो । उहाँहरूको चट्ट परेको लवाइ अनि चालचलनदेखि म प्रभावित भइहालेँ । स्थानीय स्थायी शिक्षक त सायद नेपाली पढाउने उमानाथ शास्त्री मात्र । एकादुई अरू पनि हुनुहुन्थ्यो सिन्धुलीकै । विज्ञान पढाउने सिपी गजुरेल र शङ्कर शर्मा अधिकारी । प्रायः सबै शिक्षक जनकपुर आसपासबाटै आएको देख्दा जनकपुरप्रतिको छाप सबैमा गाढा भएको हुँदो हो ।

जनकपुरबाट सिन्धुली आई त्यहाँको धुले वा हिले बाटोमा यताउता घुइँकिने जिपले हामीलाई लोभ्याउँथ्यो । त्यो हरियो रङको रसियन जिप तल बजार (जसलाई हामी टाउन भन्थ्यौँ) देखि ग्वाङखोलो हुँदै स्कुलछेउ अनि बजारबाटै ढकालगाउँ ओहोरदोहोर गर्दा हामी त्यसको पछि पछि लाग्थ्यौँ । त्यो धुवाँको रूपमा त्यसले छोडेको पेट्रोलको गन्धको मिठास । अहा कति मिठो ! हामी पछि पछि लाग्थ्यौँ । कहिले त भेट्न भेट्न खोजे जस्तो लाग्थ्यो त्यो ढुङ्ग्यान र उबडखाबड कोदाले बाटोमा । जिपले अलि गति लिएपछि हाम्रो केही लाग्दैनथ्यो । अनि फर्कन्थ्यौँ । खै, त्यो जिपसमेत केही दिनमा पुनः जनकपुरतिरै सोझियो । हामी जिल्लियौँ ।

अलिक पछि टाउननजिक खम्बेचौरको छेउमा प्रशासकीय भवन बन्ने भएछ । जनकपुरतिरकै ठेकेदार नीरबहादुर हमालले ठेक्का पाएका रे त्यो सिमेन्टको घर बनाउन । पूरा नौ लाख बजेट थियो रे त्यसमा । संयोग नै हो कि क्या हो, जनकपुरको जानकी मन्दिर पनि तिनताक नौ लाखकै खर्चमा बनेको थियो रे । अँ, नीरबहादुरजीको यो ठेक्काले चाहिँ सिन्धुलीमै हामीलाई चारपाङ्ग्रे (अझ भनौँ आठपाङ्ग्रे) गाडी अनुभव गर्ने एक शुभ अवसर थपिदिएको थियो । सिमेन्ट सायद जनकपुरबाटै आयो होला । इँटा पार्ने अनि पोल्ने काम चाहिँ हाम्रै विद्यालय उत्तरपश्चिमको कुनामा हुन्थ्यो । इँटा ओसार्दा पुरानो ट्याक्टरको ठुलो भ्याकभ्याक आवाज कक्षाकोठाबाट दिनभर जस्तै सुन्थ्यौँ । कसो कसो मजा नै लाग्थ्यो । ४ बजे स्कुल छुट्टी हुँदा यदाकदा इँटा लोड भएको ट्याक्टर हिँड्ने तरखरमा हुन्थ्यो । हामी पछाडिबाट चढ्छौँ कि भनी खलाँसी सधैँ सतर्क हुन्थ्यो । एक त ओजन बोकेको ट्याक्टर अनि त्यो उबडखाबड ढुङ्ग्यान । ट्याक्टर घस्रन थाल्थ्यो । उसको आँखा छली सुटुक्क पछाडिबाट ढाल समाई उक्लन्थ्यौँ । चङ्खेले त्यो थाहा पाइहाल्थ्यो अनि हामी खुर्मुरिँदै फालहाल्थ्यौँ । 

प्रत्येक शनिबार टाउनछेउ खम्बेचौरमा हाट लाग्थ्यो । शुक्रबार दिउँसैदेखि धनुषा (जनकपुर) देखि महोत्तरी भेकका व्यापारी त्यहाँ आआफ्ना खच्चरमा सामान बोकाएर पुगिसकेका हुन्थे । लहरैलहरमा नुन, सखर, साबुन, प्याज, आलु, बन्दा, काउली, लाम्पाते सुर्तीदेखि प्लास्टिकका र सिलाबरका भाँडाकुडा बिछ्याएको दृश्य साँच्चै नौलो अनि रोमाञ्चक लाग्थ्यो । यता व्यापारी आफ्ना सामान बेचबिखन गर्दैगर्दा खोला छेउछाउ खच्चड चरिरहेका देखिन्थ्यो । कुनै खच्चड जिउ कन्याउँदै लडिबुडी गरिरहेका देखिन्थे । कुनै घाममा उँगिरहेका हुन्थे । 

विद्यालय छुट्टी भएपछि विद्यार्थी, शिक्षक, कर्मचारी सबै हाटमा झुम्मिन पुग्थे । म पनि प्रायः त्यो अवसर छुटाउँदिनथेँ । त्यस हाटमा मौसम अनुसारका पहाडका जुनार, सुन्तला, नासपाती, काँक्रो, फर्सी, लौका, घिरौँला, चिचिन्डा, इस्कुस, सागपात पाइन्थे । हिर्दिङ, खनियाखर्क, चपौलीका ताजा फलफूल, मरिनका सिद्रा हाटमा पाइन्थ्यो यद्यपि हटारुको ध्यान बाहिरकै चिजबिजतिर जान्थ्यो; त्यतैतिर धेरै भिड लाग्थ्यो । 

सपनाको सहर जनकपुर जाने साइत जु¥यो एक दिन । सानीआमाको छोरा कुमारले एकदिन सोध्यो, “दाइ, जनकपुर घुम्न जाने ?” सुरुमा त ठट्टा गरे झैँ लाग्यो । होइन रहेछ । उमेरमा कुमारको दौँतरी बलराम ढकालले आफ्नो बाबुको कन्तुरबाट पैसा टप्काएछ, त्यो पनि सिङ्गै गँैडा । जाऊँ कि नजाऊँ जनकपुर ? सुरुमा निकै दुबिधा भएकै हो । यसै त म कमजोर विद्यार्थी, पढाइ छोडी बाहिरिएँ भने झनै बर्बाद हुन्छु भन्ने लाग्यो तर जनकपुरको मोहनीले साँच्चै चुम्बककै काम गरेछ । अन्कनाउँदै हुन्छ भनिदिएँ । कुमारले सयको नोट आफ्नो बुसर्टको जेबीभित्र हाली टाँक लगाएर सुरक्षित ग¥यो ।

अब हामीलाई त्यो गैँडा साट्नुपर्ने भयो, नत्र बाटाका ती खुद्रा पसलले त्यत्रो नोट कसले साटिदिने ? कुमार अघि लाग्यो, बलराम र म पछि पछि । हामी बजारको मध्य भागमा रहेको वाणिज्य बैङ्कतिर अघि बढ्यौँ । खोइ के कसो भएर हो, म छेउ लागेँ । कुमार र बलराम बैङ्क क्यासियरको अगाडिको खोपामा पुगे । त्यो गैँडा हातमा परेपछि क्यासियर झस्किए । हत्तपत्त त्यो पैसा बोकी भित्र मेनेजरको क्याबिनतिर क्यासियर लागे । यता कुमार र बलरामको अनुहार भने निलो भइसकेको थियो । एकैछिनमा ती दुवै अधिकारी खोपाकै छेउ देखिए । म्यानेजर बम्कियो, “त्यत्रो ठुलो नोट कसरी तिमीहरूको हात प¥यो ?” उनीहरूले थपे, “कतै चोरेको त होइन ?” 

कुमार र बलरामको हातखुट्टा लगलग कामिरहेका थिए । छेउमा उभिएको म पनि अलिक आत्तिएँ । धन्य, उनीहरूले पुलिसलाई खबर गर्न चाहेनन् । मुस्किलले बालबाल बचेको भावमा हामी अघि बढ्यौँ । फर्किआउँदा न्हुच्छे साहुको पसलतर्फ कुमारले पाइला चाल्न खोज्यो । त्यो अलिक ठुलो पसल भएकाले त्यहाँ पो काम बन्छ कि भन्ने लागेको हुँदो हो उसलाई । यद्यपि हच्किसकेको ऊ बिचैमा रोकियो । 

हामी जनकपुरतर्फ बाटो लाग्यौँ । कामविशेषले जनकपुरतर्फ नै लागेका उपेन्द्र दाइ अनि अर्का एक व्यक्ति भेटिए । माईथान अनि कर्करे हुँदै हामी साँझ भिमान बास बस्न पुगे झैँ लाग्छ । लाख प्रयास गर्दा पनि त्यो गैँडा त्यहाँसमेत साटिएन । राति भोकै त बसियो जस्तो लाग्दैन, सायद उपेन्द्र दाइले झोलामा बोकी हिँडेको चिउरा हामीलाई बाँड्नुभयो कि, राम्रो हेक्का भएन । भिमान कटेपछि चारकोसे झाडीले आफ्नो अरण्य स्वरूप देखाएको थियो । धन्य, हामी चार जना थियौँ । रातको खानपान राम्रो नभएर होला, पेटले आहार मागिरहेको थियो तर त्यो अनकन्टार जङ्गलमा के पो भेटिन्थ्यो र ? कतै कतै घामको किरण पर्ने ठाउँमा थाकलका बुटा देखिन्थे । धन्य थाकल पाक्ने बेला भएको रहेछ । टिप्दै फाँक्दै हिँड्यौँ । मुख अनि पेट बटारिन थालिसकेका थिए । खुट्टा फलाम झैँ भएका थिए । दिउँसो ३ बजे आसपास हामी रातुखोला काटी ढल्केबर पुगेको अनुमान गर्छु । त्यतिबेला महेन्द्र राजमार्ग निर्माणाधीन थियो । सडक निर्माणमा जुटेका ट्रक, ट्याक्टर साँझपख जनकपुर लाग्छन् रे भन्ने सुनियो । आशा त लाग्ने नै भयो । साँझसम्म कु¥यौँ तर भाग्यले साथ दिएन । एउटा पनि त्यस्ता साधन भेटिएन । लखतरान भएका बेला भोकै पैदल हिँड्न बाध्य भयौँ । राति १० बजिसकेको हुँदो हो, महेन्द्रनगर पुग्दा । कता बास बसियो अनि रातमा के खाइयो त्यति सम्झना छैन । 

भोलिपल्ट सबेरै उठी हामी बाटो लाग्यौँ, घिस्रिँदै घिस्रिँदै । दिनको १० बजेको हुँदो हो, हामी जनकपुर पुग्दा । हामी सिधै रेलवे प्लेटफर्मतिर लाग्यौँ । सयको नोट च्यापी कुमार अघि अघि अनि बलराम पछि पछि हिँडिरहेका थिए । म चाहिँ त्यो भोको पेटमा समेत जयनगरबाट आउने ट्रेन उत्सुकतासाथ कुरेर बसेको थिएँ । त्यो हेर्न मलाई औधी रहर थियो । एकैछिनमा कुमार र बलराम फर्किए । उनीहरूको मुखमा थोरै चमक थियो । चमक नहोस् पनि कसरी ? छेउकै भात खाने होटलले त्यो गैँडा साटिदिन मञ्जुर गरेछ । हतार हतार हामी होटल पुग्यौँ अनि खाना अर्डर गरियो । तीन दिनदेखिको भोको पेट चर्काउन मन थियो तर ट्रेन हेर्ने रहरले त्यसलाई थोरै बिथोलिदियो । हतार हतार खाना खाई चिसै हातले प्लेटफर्मतिर लाग्यौँ । भाग्यको कुरा, हामी पुग्नेबित्तिकै ट्रेन छुकछुक गर्दै आइपुग्यो । पहिलो डब्बा, दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ अनि सातौँ । पहिलो पटक देखेकाले होला, त्यो छुकछुक ट्रेन अद्भुत लागिरहेको थियो । धेरै यात्रु ओर्लिए अनि कति चाहिँ चढे । करिब एक घण्टा रोकिएपछि ट्रेन अगाडि बढ्यो ।

हामी सपनाको सहर जनकपुर घुम्ने तरखरमा लाग्यौँ । कुमारले लिस्ट बनाउँदै थियो– जानकी मन्दिर, राममन्दिर, सङ्कटमोचन आदि । चौपट्टै गर्मी झेलिरहँदा स्टिलको लामो खानदान जस्तो बट्टामा कोही कराउँदै थियो, “मिठा बरफ, मिठा बरफ ।” कुमारले त्यस बरफवालालाई रोक्यो । एकैछिनमा हामी तिनै जनाका हातमा कहिल्यै नदेखेको र नचाखेको सिन्कामा उनिएका गुलिया बरफ परिसकेका थिए । चुस्दै जाँदा औँला मात्र भिजेन बरु कुइनाबाट समेत केही सेतो पदार्थ टप्किरहेका थिए । हामीलाई त्यसको के पर्बाह र ? मन्त्रमुग्ध हुँदै हाम्रो ध्यान त बरफका बाँकी टुक्रा चाट्नमै हुन्थ्यो । कुमारले पहिले खाइसकेको थियो । उसले तिनै जनाका लागि पुनः बरफ अर्डर ग¥यो । मनमनै मैले सोचेँ, “जनकपुरलाई यसै जनकपुर भनिएको रहेनछ ।” 

Author

डा. जगदीशचन्द्र बराल