• १२ मंसिर २०८१, बुधबार

दुई महिनापछि हुम्लामा औषधि

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख २ गते । हुम्लामा हवाईमार्गबाट औषधि ढुवानी भएको छ । चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा औषधि खरिद गरेर ढुवानी गर्ने जिम्मा लिएको प्रदेश स्वास्थ्य औषधि व्यवस्थापन केन्द्रले हवाईमार्गबाट औषधि पठाएको हो । 

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले लामो समयदेखि अस्पतालमा औषधि अभाव रहँदै आएकोमा केन्द्रले औषधि पठाएपछि हुम्ला जिल्लामा तत्कालका लागि औषधिको अभाव समाधान भएको बताउनुुभयो । उक्त औषधि नेपालगञ्जबाट सिमकोट हवाईमार्गबाट ल्याइएको हो । उहाँले तत्कालका लागि २२ प्रकारका अत्यावश्यक औषधि ३१ प्याकेट आएकाले उपचारमा सहज भएको बताउनुुभयो । विगत दुुई महिनादेखि अस्पतालमा औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या हुँदै आएको थियो । 

यसअघि अस्पतालका लागि जिल्लामै औषधि खरिद तथा ढुवानीको बजेट व्यवस्था हुने गरेको भए पनि यस वर्ष केन्द्रले कर्णालीका १० वटै जिल्लाका लागि आवश्यक औषधि खरिद तथा ढुवानी गरेको हो । अस्पताल विकास समितिले पनि फार्मेसीका लागि आवश्यक औषधि खरिद गरेर जिल्लामा हवाईमार्गबाट ल्याएको छ । यसले पनि अब बिरामीले निजी औषधि पसलमा महँगो मूल्य तिर्नुपर्ने बाध्यता हटेको छ ।