विजयकुमार साह
ढल्केवर, चैत २९ गते । धनुषालगायत वरपरका जिल्लामा छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको छ । छाला चिलाउने, दाद, एलर्जी र फोकोफुन्सीलगायत छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको हो ।
धनुषाको मिथिला नगरपालिका-१०, लालगढस्थित कुष्ठरोग अस्पतालमा दैनिक उपचारका लागि पुग्ने बिरामीमध्ये ८० प्रतिशतभन्दा बढी बिरामीमा छाला रोगको समस्या देखिएको लालगढ कुष्ठरोग अस्पतालका प्रबन्धक सुमन तामाङ्ले बताउनुभयो । उहाँका अनुसार यस अस्पतालमा दैनिक चार सयदेखि पाँच सयको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये अधिकांशमा छाला चिलाउने, दाद, एलर्जी र फोकोफुन्सीलगायका समस्या देखापर्ने गरेको छ । छाला रोगको समस्या सबैभन्दा बढी पुरुषमा देखिएको उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको छ महिनामा ४१ हजार छ सय ६७ जना जाँच गराउन आएका मध्ये ३४ हजार नौ सय ४३ जनामा छालाजन्य रोग देखा परेको अस्पतालको तथ्याङ्कमा छ। यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ९२ हजार आठ सय २२ जनामा छालाजन्य रोग देखिएको थियो ।
तराईमा गर्मी बढेसँगै छालाजन्य रोगका बिरामी बढ्दै गएको लालगढ कुष्ठरोग अस्पतालका छाला रोग विशेषज्ञ दीपक पौडेलले बताउनुभयो । छाला रोगका बिरामी अझै बढ्ने उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा एक लाखभन्दा बढी छाला रोगका बिरामीको सङ्ख्या पुग्ने अनुमान गरिएको अस्पताल स्रोतको भनाइ छ ।
व्यक्तिगत सरसफाइको कमी, धुलो माटोको कारण, बढ्दो गर्मी, बजार क्षेत्रमा विषादीको प्रयोग गरी पकाएका फलफूलको प्रयोग गर्नाले छालाजन्य रोगको समस्या देखिने गरेको छ ।
कुष्ठरोगका बिरामीको उपचारबाहेक छालासँग सम्बन्धित बिरामीको पनि यस अस्पतालमा उपचार हुने गरेको बताउनुहुँदै छाला रोग विशेषज्ञ पौडेलले भन्नुभयो, “गर्मी ठाउँ भएकाले अल्ट्राभ्वाइलेट लाइटद्वारा उत्पन्न हुने रोगहरू जस्तो चाया–पोतो, एलर्जी रोगका साथै गर्मीका कारण निस्कने विभिन्न किसिमका घमौरा, बिबिरा र जटिल खालका डन्डीफोर भएका बिरामी यहाँ जाँचका लागि आउने गरेका छन् ।”
पहिलेभन्दा अहिले छालासम्बन्धी चासो लिएर जाँच गराउनेको सङ्ख्या पनि बढेको छ । छाला शरीरको महत्पूर्ण अङ्ग भएकाले छाला चिलाउनुको कारण पत्ता लगाई सामान्य अवस्थामा नै उपचार गर्दा राम्रो हुने उहाँको भनाइ छ । समयमै उपचार नगराए यसले निकै ठूलो जटिलता पनि निम्त्याउन सक्ने पौडेलले बताउनुभयो ।