• १२ साउन २०८१, शनिबार

राहदानी दिन शिविर सञ्चालन

blog

काठमाडौँ, चैत २८ गते । गैरआवासीय तथा वैदेशिक रोजगारीका क्रममा पोर्चुगलमा रहेका नेपाली नागरिकलाई नयाँ राहदानी उपलब्ध गराउन ‘क्याम्प’ सञ्चालन गरिएको छ । अत्यधिक सङ्ख्यामा राहदानी बनाउनुपर्ने माग आएपछि विभागले नेपालबाटै प्राविधिकसहितको टोली पठाएर राहदानी शिविर सञ्चालन गरेको हो । राहदानी विभागका निर्देशक डमरुबल्लभ पौडेलका अनुसार नेपालबाट दुई जना र फ्रान्सस्थित नेपाली दूतावासबाट आवश्यक टोली थपेर राहदानी शिविर सञ्चालन भइरहेको छ । 

पोर्चुगलमा राहदानी हराएका, पुरानो राहदानीको म्याद सकिएका, त्यहीँ जन्मेर हुर्केकाको नयाँ विद्युतीय राहदानी बनाउनुपर्ने माग विभागमा आएको लामो समयपछि मात्र यसरी शिविर सञ्चालन भएको हो । पोर्चुगलको राजधानीमा जारी राहदानी वितरण सेवा क्याम्प वैशाख १५ सम्म रहने भएकाले आफ्नो अनलाइन इनरोलमेन्टको प्रक्रिया समयमै पूरा गर्न विभागले अनुरोध गरेको छ । 

यसअघि अमेरिकाको एक सहरमा सञ्चालन गरिएको राहदानी सेवा शिविरमा सङ्कलित सेवा शुल्कको रकम लुटिएको घटनापछि त्यस्ता शिविर सञ्चालन गर्ने वा नगर्ने भन्ने बहस परराष्ट्र मन्त्रालय, राहदानी विभागसहितका विज्ञमाझ चलेको थियो । पोर्चुगलमा रहेका नेपाली नागरिकको ठूलो सङ्ख्याको उच्च दबाब आएपछि भने मन्त्रालय र विभागले त्यहाँ शिविर सञ्चालन गरेर सेवा सहज बनाउने निर्णय गरेको थियो । पोर्चुगलको शिविरको कामकारबाहीलाई उच्च सुरक्षासाथ कार्यान्वयन गरिएको पौडेलले बताउनुभयो । 

त्यस्तो सहज सेवाका लागि शिविर सञ्चालन गरिदिन अन्यत्रबाट पनि माग आइरहेको छ । उहाँले भन्नुभयो, “तर, पोर्चुगलमा अन्यत्रभन्दा निकै ठूलो सङ्ख्याका नेपालीलाई राहदानी नहुँदा चर्को समस्या आउने देखिएपछि शिविर सञ्चालन गर्नु परेको हो ।”

फ्रान्सस्थित नेपाली दूतावासले अनलाइन फाराम भरी शुल्क तिरेर इनरोलमेन्टका लागि समय लिएर राहदानी सेवा शिविरमा जान अपिल गरेको छ । शिविरमा रहेका प्राविधिक टोलीले सेवाग्राहीको लाइभ इनरोलमेन्टमार्फत आवश्यक डिजिटल सूचना तथा विवरण सङ्कलन गरेर सिधै काठमाडौँस्थित विभागमा पठाउनेछ । 

त्यसपछि सेवाग्राहीको मागअनुसारको राहदानी यहीँ छपाइ गरेर हवाई माध्यमबाट पोर्चुगलका सेवाग्राहीका हातमा पु¥याइने विभागले जानकारी दिएको छ । विभागका अनुसार पोर्चुगलमा झन्डै चार हजार नेपालीको राहदानी बनाउनुपर्नेछ । हप्ताको छ दिन सेवा उपलब्ध गराउने गरी दैनिक एक सयदेखि १५० जना शिविरमा सेवा लिन पुग्ने गरेका छन् ।