• २९ चैत २०८२, आइतबार

कर्णाली कोरिडोर

खुलालु–सलीसल्ला खण्डका नौ पुलको निर्माण ठप्प

blog

हुम्ला समाचारदाता

हुम्ला, चैत २९ गते । कर्णाली कोरिडोर अन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डका विभिन्न नदी तथा खोलामा निर्माण हुनुपर्ने नौ वटा पक्की पुलको काम अझै अगाडि बढ्न सकेको छैन । २०७९ असारमा ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामार्फत ठेक्का लागेका यी पुलको अन्तिम डिजाइन सडक विभागबाट स्वीकृत हुन नसक्दा निर्माणले गति लिन नसकेको हो । हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार निर्माण कम्पनीले डिजाइन स्वीकृत गराउनै करिब चार वर्ष लगाएको थियो । सडक विभागले डिजाइनमा पटक पटक सुधार गर्न सुझाव दिँदै फिर्ता पठाएका कारण प्रक्रिया लम्बिएको हो ।

२०७९ असार ३० मा सम्झौता गरी २०८२ असोज ३० सम्म सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म डिजाइन स्वीकृतिको काममै समय खर्च भएको छ । १८ करोड २८ लाख २८ हजार रुपियाँको लागतमा बन्ने यी तीन वटै पुलको डिजाइन बल्ल स्वीकृत भएको र अब निर्माणको बाटो खुलेको कार्यालयले जनाएको छ । यस्तै बाजुरा र हुम्ला खण्डका छ वटा पुलको जिम्मा लुम्बिनी सिंह जेभीले ४५ करोड ३१ लाख ५७ हजार रुपियाँमा लिएको छ । उक्त जेभीले जिम्मा लिएका जुड्डी, बुड्डीघाट, गल्फागाड र सर्केगाड (न्यासी) खोलाका पुलको डिजाइन स्वीकृत भइसकेको छ भने कबाडी र अर्को गल्फागाडखोलाको डिजाइन अझै स्वीकृत भएको छैन । स्वीकृत भएकामध्ये पनि जुड्डीखोलाको पुलमा मात्र काम सुरु भएको प्रमुख नेपालीले जानकारी दिनुभयो । यो जेभीसँग २०७९ असार २८ मा सम्झौता भएको थियो र २०८२ पुस २९ सम्ममा सबै पुल सम्पन्न गर्नुपर्ने म्याद छ ।

जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामा ठेक्का लगाउँदा डिजाइन स्वीकृत गराउनमै धेरै समय खर्च हुने गरेको बताउनुभयो । सम्झौता अवधिको ठुलो हिस्सा डिजाइनमै बितेपछि समयमै पुल सम्पन्न हुनेमा अन्योल बढेको छ । निर्माण कम्पनीको तदारुकता अभाव र नीतिगत झन्झटका कारण कर्णाली कोरिडोरको यात्रा अझै पनि जोखिमपूर्ण र कष्टकर बनेको छ ।