गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २९ गते । प्रहरीले देशभर हुने गरेका अपराधजन्य अवैध गतिविधि, असुली, तस्करी तथा विभिन्न क्षेत्रका सेवाग्राही तथा व्यवसायीलाई भौतिक तथा मनोवैज्ञानिक रूपमा डर, धाकधम्की दिनेविरुद्ध विशेष अपरेसनसहित निगरानी बढाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको सयबुँदे शासकीय सुधार कार्यक्रम अनुसार प्रहरीले देशभर एकैसाथ बिचौलिया र गुन्डागर्दीविरुद्ध ‘अपरेसन सेफ्टी’ सञ्चालन गरेको हो । यसबिचमा प्रहरीले देशभरबाट अवैध गतिविधिमा संलग्न ४४३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी काठमाडौँ उपत्यकामा मात्र २५८ जना छन् । त्यसै गरी लुम्बिनी प्रदेशमातहतका जिल्लाबाट ४३ जना पक्राउ परेका छन् । बागमती प्रदेशबाट ३६, मधेशबाट २४, गण्डकीबाट २३, कोशीबाट २१, कर्णाली र सुदूरपश्चिमबाट १९/१९ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ उपत्यकाबाट गुन्डागर्दी र अवैध असुलीमा संलग्न २५ जनासहित १०५ जनालाई हिरासतमा लिई अनुसन्धान भइरहेको छ भने अन्य ३३८ जनालाई विगतको ‘क्रिमिनल रेकर्ड सिस्टम’ जाँच गरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।
सार्वजनिक सेवा प्रवाहमा बिचौलिया तथा अवैध गतिविधि शून्य बनाउने नीति अनुरूप अपरेसन सेफ्टी सञ्चालन गरिएको बताउँदै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो, “पाखुराको बलमा तर्साउने, धम्क्याउने तथा सार्वजनिक सेवा प्रवाहमा कर्मचारी तथा सेवाग्राहीको बिचमा रहेर अवैध असुली गर्नेविरुद्ध सूक्ष्म निगरानीसहित कारबाही सुरु गरिएको छ ।”
उहाँले व्यवसायी तथा सर्वसाधारणलाई धाकधम्की, दुःख, हैरानी दिनेदेखि यातायात कार्यालय, मालपोत कार्यालय, बसपार्क तथा विमानस्थलमा यात्रुलाई अनावश्यक हैरानी दिने बिचौलियालाई नियन्त्रणका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका एकाइमार्फत अपरेसनमा परिचालन गरिएको पनि बताउनुभयो ।
उहाँले त्यस्ता व्यक्तिको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित कार्यालयको मुख्य प्रवेश क्षेत्रलगायतमा सिसिटिभी जडान गरी प्रहरीको विशेष टोलीले निरन्तर निगरानी गरिरहेको पनि बताउनुभयो ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनपछि देशभरका दुई हजार छ सयभन्दा बढी प्रहरी युनिटमा आउने सेवाग्राहीको सहजताका लागि सहायता कक्ष स्थापना गरी निवेदनलगायतका आवश्यक कागजपत्र निःशुल्क रूपमा तयार गर्ने कार्य सुरु गरिएको छ । सयबुँदे सुशासन कार्ययोजना अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी तथा सम्बन्धित प्रहरी युनिटलाई प्रोत्साहन गर्न कार्यसम्पादन मूल्याङ्कनको व्यवस्थासमेत सुरु गरिएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
प्रहरीले सुरु गरेको अपरेसन सेफ्टी कारबाहीपछि अवैध गतिविधिमा संलग्न व्यक्तिको उपस्थिति निकै कम भई सार्वजनिक स्थान तथा सामाजिक सञ्जालमार्फत मनोवैज्ञानिक त्रास सिर्जना गर्ने गतिविधि रोकिएको छ । त्यसै गरी विभिन्न गतिविधि गरी आतङ्क र भय सिर्जना गर्दै आएका कतिपय व्यक्ति कानुनी व्यवस्थालाई आत्मसात् गर्दै अवैध गतिविधिबाट बाहिर आउन थालेको पाइएको प्रहरीले जनाएको छ ।