• १३ मंसिर २०८१, बिहिबार

घरमै गएर नागरिकता प्रमाणपत्र प्रदान

blog

रामेछाप समाचारदाता

रामेछाप, चैत २७ गते । रामेछाप नगरपालिका–४, हिमगङ्गाकी भक्तमाया सुनुवारले ७२ वर्षको उमेरमा नेपाली नागरिकता पाउनुभएको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जिल्ला प्रशासन कार्यालयमा आएर नागरिकता प्रमाणपत्र लिन नसक्ने भक्तमायासहित दुई जनालाई घरमा नै गएर शनिबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो। 

प्रजिअ निरौला नेतृत्वको टोलीले रामेछाप नगरपालिका–४ का शारीरिक रूपमा पूर्ण अशक्त २५ वर्षीय नरबहादुर माझीलाई पनि घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको छ। जिल्लाको दुर्गम मानिएको यस क्षेत्रमा यातायातको सहज पहुँच नहुनु र सदरमुकामसम्म ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नरहेकाले उहाँहरूको घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ निरौलाले बताउनुभयो। 

नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि भक्तमाया र नरबहादुरका परिवार खुसी भएका छन्। नागरिकता प्राप्त भएसँगै अब दुवै जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाटो खुलेको छ। दुवैजनाले सामाजिक सुरक्षा भत्ताका लागि आइतबारबाट प्रक्रिया सुरु गरेका छन्।