• २७ वैशाख २०८२, शनिबार

गुल्मीका पत्रकारको रक्त समूह पहिचान

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख २७ गते ।
नेपाल पत्रकार महासंघ गुल्मीले विविध कार्यक्रमसहित २१औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सञ्चारकर्मी तथा क्रियाशील पत्रकारहरूको रक्त समूह पहिचान तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

गुल्मी अस्पतालमा आउने बिरामीहरूलाई आवश्यक पर्ने रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नेपाल पत्रकार महासङ्घ गुल्मीका सचिव सन्तोष महताराले बताउनुभयो । गुल्मी अस्पतालको प्राविधिक सहयोगमा २५ जना सञ्चारकर्मीहरूको रक्त समूह परीक्षण गरिएको हो ।

शाखाको स्थापनाको स्मरण गर्दै महासङ्घका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले २०६१ सालमा एउटा सानो रेस्टुरेन्टबाट सुरु भएको सङ्गठन अहिले आफ्नै भवनसम्म आइपुगेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले संस्थालाई यहाँसम्म ल्याउन योगदान दिने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा महासङ्घले थप सकारात्मक र रचनात्मक भूमिकामा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व जिल्ला अध्यक्ष जनार्दन घिमिरेले स्थापना दिवस सबै पत्रकारहरूका लागि उत्सवको दिन भएको बताउनुभयो । उहाँले शाखा स्थापना अघि पत्रकारिताको अवस्था र चुनौतीहरूको स्मरण गर्दै नयाँ पुस्ताले नेपाली पत्रकारितालाई अझ उचाइमा पुर्‍याउने अपेक्षा राख्नुभयो । महासङ्घले पत्रकारहरूको हकहितका साथै समाजमा विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।

जिल्ला अध्यक्ष अनिल खत्रीले स्थापना कालदेखि हालसम्म संस्थालाई अहोरात्र खटिने सम्पूर्ण सदस्यहरू र शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा महासङ्घको पहिचान र गरिमा अझ मजबुत बनाउन यो कार्यसमिति प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घ गुल्मीमा हाल २५ जना साधारण सदस्य रहेका छन् ।