अर्जुन काफ्ले
स्याङ्जा, चैत २५ गते । गल्याङ् नगरपालिका –१ मालुंगामा रहेको उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय (अस्पताल) निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गराउने उद्देश्यले चिकित्सालय भवन निर्माण सुरु गरिएको हो ।
कालीगण्ड ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले प्राकृतिक पद्धतिबाट गरिने उपचार केही लामो समय लागे तापनि दीर्घकालीन फाइदा हुने हुँदा प्राकृतिक चिकित्सालय स्थापनाका लागि भवन निर्माण कार्य थालिएको बताउनुभयो ।
उहाँले तत्कालै उपचार गरिनुपर्ने बिरामी बाहेकका अन्य रोगीका उपचारका लागि यस उपचार पद्धति प्रभावकारी रहेको बताउनुभयो । कृष्णले पञ्चतत्व, योग, स्टिमबाथ, फिजियोथेरापी, मसाजलगायतका प्राकृतिक उपचार पद्धतिमार्फत बिरामीलाई उपचार गरिने बताउनुभयो ।
दुई करोड १२ लाख रुपियाँको लागतमा यस आर्थिक वर्षमा निर्माण कार्य सक्ने गरी २४ कोठे सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । सङ्घीय सरकार र गल्याङ् नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुने भवन निर्माण पश्चात् गल्याङ नगरपालिको स्वामित्वमा रहने छ ।
प्राकृतिक चिकित्सालय निर्माण भएसँगै गल्याङ् नगरपालिका, वालिङ नगपालिका, पाल्पा र पर्वतका हजारौँ नागरिकले सेवा पाउने छन् । चिकित्सालयको सङ्घीय सांसद धनराज गुरुङले केही दिन पहिला शिलान्यास गर्नु भएको थियो ।