रमेश विश्वकर्मा
गुल्मी, चैत २५ गते । रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई डायलोसिस मेसिन हस्तान्तरण गरेको छ । नगरपालिकाको कार्यालयमा नगरप्रमुख खिलध्वज पन्थीले पाँच वटा डायलोसिस मेसिन गुल्मी अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीलाई हस्तान्तरण गर्नुभएको हो ।
गत स्थानीय तहको निर्वाचनमा नगरपालिकामा आफूहरू निर्वाचित भएर आइसकेपछि कार्यपालिकाको पहिलो बैठकले गुल्मी अस्पतालमा मिर्गौलाको डायलोसिस सेवा सुरु गर्ने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार भारतीय दूतावासबाट प्राप्त ६५ लाख ३६ हजार ४६६ रुपियाँका पाँच वटा डायलोसिस मेसिन हस्तान्तरण गरिएको हो ।
“गुल्मीवासीका लागि जिल्लामै डायलोसिस सेवा शुभारम्भ हुनु सुःखद कुरा हो । मिर्गौलाका बिरामीहरू डायलोसिसका लागि बाहिर जानुपर्थ्यो,” उहाँले भन्नुभयो, “दिनहुँ कुर्नुपर्ने । सास्ती भोग्नुपर्ने । समयमै उपचार गर्न नपाउने लगायतका विभिन्न झन्झटको अन्त्य भएको छ ।”
यो सेवा सुचारु हुनासाथ छिमेकी जिल्ला अर्घाखाँची, बागलुङ र प्युठानका नागरिक समेतलाई राहत पुग्ने उहाँको भनाइ छ ।
यो सँगै गुल्मी अस्पतालबाट छिट्टै डायलोसिस सेवा शुभारम्भ गरिने भएको छ । जनशक्ति व्यवस्थापनको काम पनि अगाडि बढेको छ । दुई जना स्टाफहरू तालिममा जानुभएको छ । त्यस्तै, एक जना मेडिकल अफिसरलाई पनि तुरुन्तै तालिममा पठाइने नगरप्रमुख पन्थीले बताउनुभयो ।
यहाँबाट स्वास्थ्य क्षेत्रमा अर्थोपेडिक सेवा, गाइनोको विशेषज्ञ सेवा र अबको केही दिनभित्रमा शुभारम्भ हुने मिर्गौलाको डायलोसिस सेवाले जिल्लाको व्यापार, व्यवसाय र पर्यटनमा समेत प्रभाव पर्नेछ ।
समुन्नतिको प्रमुख आधार स्वास्थ्य, शिक्षा र पर्यटन भएकाले आफूहरूले यसलाई महत्त्वका साथ हेरेको उहाँको भनाइ छ ।
त्यस्तै, गुल्मी अस्पतालमा प्रमुख डा. राजेन्द्र जिसीले पछिल्लो समय मुटु र मिर्गौलाका समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएका छन् । अब जिल्लामै डायलाइसिस सेवा सुरु भएपछि मुटु र मिर्गौलाका बिरामीलाई धेरै राहत हुने प्रमुख जिसीले बताउनुभयो ।