• १२ मंसिर २०८१, बुधबार

भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा

blog

बक्सिङको दोस्रो दिन प्रतिस्पर्धा गर्दे खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं, चैत २२ गते । नेपाल प्रहरीका भुपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ६३ केजी तौलसमूहमा भूपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवा तथा महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङलाई पराजित गर्नुभयो ।

सोही तौलसमूहमा एपीएफका सोनाम सार्कीले कोशी प्रदेशका बलबहादुर पुन तथा बागमती प्रदेशका सागर दर्जीले मधेश प्रदेशका प्रज्ज्वल मगरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभयो ।

पुरुष ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले गण्डकीका समिर थापा, बागमतीका शुलभ मालीले मधेश प्रदेशका आयुशसिंह भण्डारी, सुदूरपश्चिमका रामबहादुर थापाले लुम्बिनीका महशुस बस्नेत तथा कोशीका सुरेन्द्र राईले एपीएफका पुरन राईलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । 

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा मधेशका लक्ष्मण राईले कर्णालीका जीवनकुमार पुनमाथि जित रच्दै सेमिफाइनलमा स्थान बनाउनुभयो । पुरुष ७१ केजीमा बागमती दावा छिरिङ लामाले कर्णालीका देवेन्द्र थापालाई पन्छ्याउदै सेमिफाइनल यात्रा तय गर्नुभयो ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले एपीएफकी नाङजा बुढा मगर, कर्णालीकी तेजीमाया गुरुङले लुम्बिनीकी सारदा न्यौपाने, मधेशकी अस्मिता दुवालले प्रहरीकी दिवाना शेर्मा र सुदूरपश्चिमकी सोनिया शेट्टीले गण्डकीकी नयरा पुर्जालाई पराजित गरी सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । 

महिला ५४ केजीमा बागमतीकी अन्जनी तेलीले सुदूरपश्चिमकी अस्मिता केसी तथा एपीएफकी सन्जुमाया थिङले कर्णालीकी रोजिना रन्जितकारलाई हराउँदै सेमिफाइनलमा पुग्नुभयो ।

महिला ५७ केजीमा एपीएफकी सर्मिला तामाङले कर्णालीकी सुशिला थापा, प्रहरीकी निशा तामाङले कोशीकी नारिका राई र बागमतीकी पेमा शेर्पाले गण्डकीकी प्रियंका गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा स्थान बनाउनुभयो ।