काठमाडौं, चैत २१ गते । नेपालमा दुई करोड ५० लाख अमेरिकी डलर बराबरको ‘स्वास्थ्य प्रणालीको सुदृढीकरण सम्बन्धी परियोजना’ सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले प्रेस विज्ञप्ति निकाल्दै ‘स्वास्थ्य प्रणालीको सुदृढीकरण सम्बन्धी परियोजना’ सुरु भएको बताउनुभएको हो ।
विज्ञप्तिमार्फत नेपालस्थित अमेरिका अन्तर्राष्ट्रिय विकास नियोग युएसआईडीले आज (मङ्गलबार) मन्त्रालयसँगको साझेदारीमा दुई करोड ५० लाख अमेरिकी डलर (करिब तीन अर्ब २७ करोड)को बजेटसहितको ‘स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना’ को आधिकारिक रूपमा सुरु भएको डा. अधिकारीले जानकारी दिनुभएको छ ।
यस साझेदारीले नेपाली नागरिकहरूलाई उचित, उत्तरदायी र दिगो स्वास्थ्य सेवा प्रदान गर्न सङ्घीय र प्रादेशिक तहहरूमा नेपाल सरकारको स्वास्थ्य प्रणालीको सुदृढीकरण विश्वास लिइएको छ ।
यस परियोजनाले दशौं लाख नेपालीका स्वास्थ्य सुधारका निम्ति सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय तहहरूलाई वित्तीय सहायता प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।