साँचो शिक्षा भनेको मानिसको शरीर, मस्तिष्क र आत्माको समग्र विकास हो । आज धेरै मानिस औपचारिक रूपमा शिक्षित भए पनि मानवता, विवेक र जीवन दृष्टिकोणका आधारमा हुनुपर्ने जति ज्ञानी वा परिपक्व देखिँदैनन् । यसको मूल कारण विषय, परीक्षा र नतिजामै सीमित रहँदै आएको हाम्रो शिक्षा प्रणाली हो । राम्रो संरचना, उपकरण वा शुल्कले मात्र कुनै विद्यालय उत्कृष्ट बन्दैन; शिक्षाको सार त विद्यार्थीको भावना, मूल्य र जीवन दृष्टिकोण निर्माणमा निहित हुन्छ । अब विषय ज्ञानसँगै सामाजिक तथा भावनात्मक र आध्यात्मिक शिक्षालाई केन्द्रमा राख्दै समग्र शैक्षिक रूपान्तरणको आवश्यकता देखिएको छ ।
भावनात्मक शिक्षा
आफ्ना भावना बुझ्न, तिनलाई नियन्त्रण गर्न र स्वस्थ तथा उपयुक्त रूपमा व्यक्त गर्न, अरूसँग सकारात्मक सम्बन्ध निर्माण गर्न, र जीवनका विभिन्न चुनौतीलाई दृढता र सन्तुलनका साथ सामना गर्न सक्षम बनाउने शिक्षण–सिकाइको समग्र प्रक्रिया नै भावनात्मक शिक्षा हो । यसले आत्मज्ञानमार्फत आफूले के महसुस गरिरहेको छु र किन गरिरहेको छु भन्ने बुझ्ने क्षमता विकास गर्छ । आत्मनियमनले कठिन परिस्थितिमा आफूलाई कसरी समाल्ने भन्ने सिप दिन्छ । सहानुभूतिले अरूका अनुभूति र भावनालाई सम्मानपूर्वक बुझ्ने क्षमता वृद्धि गर्छ ।
सकारात्मक सम्बन्ध निर्माणका लागि सहकार्य, संवाद, क्षमा र विश्वास जस्ता गुण अत्यावश्यक छन्, जसले नैतिक, विवेकपूर्ण र उत्तरदायी निर्णय क्षमताको विकास गर्छ । यसले विद्यार्थीलाई जीवनका चुनौतीमा स्थिर, करुणाशील र संवेदनशील बन्न मद्दत पु¥याउँछ । भावनात्मक शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने भएकाले विद्यालयको संस्कृति, वातावरण र शिक्षकको व्यवहार नै यसको मुख्य आधार हुनु पर्छ ।
भावनात्मक शिक्षामा आध्यात्मिक चेतनाको संयोजन महत्वपूर्ण छ । आध्यात्मिक शिक्षा कुनै धर्म विशेषमा सीमित नहुने भएकाले यो जीवनका मूल्य, मानवता, आन्तरिक शान्ति, कृतज्ञता, करुणा र आत्मअनुशासन जस्ता सार्वभौमिक गुणहरूको विकाससँग सम्बन्धित हुन्छ । यसका आधारभूत तीन तìव आत्मचेतना, मूल्य आधारित चरित्र निर्माण र अर्थपूर्ण जीवनदृष्टिको विकासले विद्यार्थीलाई जीवनका गहिरा आयामसँग जोडिदिन्छन् । ध्यान, सतर्कता, मौन–क्षण वा श्वासप्रश्वास जस्ता अभ्यासले विद्यार्थीलाई आफूभित्रको चेतना र भावनात्मक संसार बुझ्न मद्दत गर्छन् । सत्य, अहिंसा, कर्तव्य, विनम्रता, अनुशासन र आदर जस्ता मूल्य जीवनशैलीमा रूपान्तरित हुँदा उनीहरूको चरित्र सुदृढ बन्छ । ‘म किन सिक्दै छु ?’ ‘मेरो जीवनको उद्देश्य के हो ?’ जस्ता अर्थपूर्ण प्रश्नमा चिन्तन गर्न थालेपछि विद्यार्थीले आफ्नो जीवन–उद्देश्य स्पष्ट रूपमा बुझ्न थाल्छन् ।
भावनात्मक र आध्यात्मिक शिक्षा एकअर्काका पूरक हुन् । एकले मनलाई समाल्छ भने अर्कोले हृदयलाई उज्यालो पार्छ । जब दुवै शिक्षा संयोजित हुन्छन्, विद्यार्थी ज्ञानी मात्र होइन, संवेदनशील, नैतिक, विवेकशील र मानवीय गुण सम्पन्न व्यक्तित्वका रूपमा विकसित हुन्छन् ।
सामाजिक तथा भावनात्मक सिकाइ
हालको राष्ट्रिय पाठ्यक्रममा जीवन–कौशलका केही अंश भए पनि सामाजिक तथा भावनात्मक शिक्षाका आधारभूत तत्व पर्याप्त रूपमा समेटिएका छैनन्, त्यसैले कक्षा १–१२ सम्म सामाजिक एवं भावनात्मक सिकाइ (एसइएल) लाई स्पष्ट संरचना र सिकाइ–उद्देश्यसहित समावेश गर्न आवश्यक छ । विषयगत पढाइमा जीवन मूल्य, मानवीय संवेदना र सकारात्मक भावनाका प्रसङ्ग जोडिँदा विद्यार्थीले ज्ञानसँगै व्यावहारिक जीवनदृष्टि विकास गर्छन् । कथाकथन, नाटक, अभिनय र समूह चर्चा जस्ता गतिविधिले विद्यार्थीलाई सक्रिय, अभिव्यक्तिपूर्ण र आत्मचेतन बनाउँदै पाठ्यक्रमलाई भावनात्मक रूपमा पनि सशक्त बनाउँछन् ।
भावनात्मक शिक्षा कक्षामा पाठ्यपुस्तकभन्दा बढी शिक्षकको व्यवहार, सोचाइ र विद्यार्थीप्रतिको संवेदनशीलतामा निर्भर हुन्छ । शिक्षकलाई विवेकपूर्ण मार्गदर्शनका सिप विकास गर्न सामाजिक तथा भावनात्मक सिकाइ र सजगता जस्ता विषय प्रशिक्षणमा समावेश गर्नु पर्छ । द्वन्द्व समाधान र सकारात्मक अनुशासनसम्बन्धी सिपलाई पनि अनिवार्य रूपमा शिक्षक प्रशिक्षणको अभिन्न अङ्ग बनाउनु पर्छ । कक्षा व्यवस्थापनमा डर होइन, सम्मानलाई आधार बनाउँदा विद्यार्थीमा विश्वास, खुलापन र सकारात्मक अनुशासन विकसित हुन्छ विद्यार्थीको भावनात्मक अवस्था, कठिनाइ र व्यवहारगत परिवर्तन बुझ्नका लागि शिक्षक लक्षित विशेष तालिम निरन्तर सञ्चालन गर्नु पर्छ ।
भावनात्मक शिक्षा प्रभावकारी बनाउन विद्यालयको समग्र संस्कृति नै मूल्य, सहानुभूति र सकारात्मक भावनालाई जगेर्ना गर्ने दिशामा रूपान्तरित हुनु पर्छ । विद्यार्थीलाई सुरक्षित, सम्मानजनक र सामुदायिक रूपमा जोड्न विद्यालयले बुलिङरहित वातावरण सुनिश्चित गर्नु पर्छ । ध्यान वा मौनभावबाट सुरु हुने बिहानको सभा तथा सहानुभूति र सहयोगलाई प्रोत्साहित गर्ने अभ्यास अपनाउनु पर्छ । कक्षाकोठादेखि व्यवस्थापनसम्म स्वस्थ संवाद, विद्यार्थीमैत्री नियम र दण्डको सट्टा मार्गदर्शनलाई प्राथमिकता दिँदा विद्यालय संस्कृति सकारात्मक र भावनात्मक रूपमा सन्तुलित बन्छ, जसले भावनात्मक शिक्षाको दीर्घकालीन सफलताका लागि आधार तयार गर्छ ।
विद्यार्थीको भावनात्मक विकासको आधार घरमै सुरु हुने भएकाले अभिभावकको सक्रिय सहभागिता आवश्यक हुन्छ । त्यसका लागि विद्यालयले नियमित अभिभावक अभिमुखीकरणमार्फत सकारात्मक अभिभावकत्व, बालमनोविज्ञान र भावनात्मक सहयोगका उपाय सिकाउने व्यवस्था गर्नु पर्छ । घरमा संवाद, धैर्यपूर्वक सुन्ने अभ्यास र समय दिने जस्ता संस्कारले बालबालिकामा आत्मविश्वास, सुरक्षाबोध र भावनात्मक सन्तुलन विकास हुन्छ । विद्यालय–अभिभावकको सहकार्यले विद्यार्थीको भावनात्मक सिकाइलाई घर र विद्यालय दुवैतर्फबाट सन्तुलित रूपमा अघि बढाउँछ ।
आधुनिक विद्यालय शिक्षामा विद्यार्थीको मानसिक स्वास्थ्य महत्वपूर्ण भएकाले विद्यालयले कक्षा–काउन्सेलर, मनोवैज्ञानिक सहयोग र सुरक्षित अभिव्यक्ति स्थल उपलब्ध गराउनु पर्छ । यसका लागि ‘विद्यार्थी कल्याण केन्द्र’ स्थापना गरी विद्यार्थीलाई गोप्य र सहज वातावरणमा भावनात्मक समर्थन दिनु पर्छ । भावनात्मक अवस्था अनुगमन, डायरी लेखन, समूह काउन्सेलिङ र तनाव व्यवस्थापन कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई आफ्ना भावना बुझ्न र स्वस्थ रूपमा अभिव्यक्त गर्न सहयोग गर्न सकिन्छ ।
भावनात्मक र आध्यात्मिक शिक्षा
बालबालिका र किशोर आज पारिवारिक दबाब, सामाजिक तुलना, डिजिटल झुकाव, अनिश्चित भविष्य र बेरोजगारी, राजनीतिक निराशा तथा अभाव जस्ता चुनौतीको घेराभित्र बढिरहेका छन् । यी चुनौतीले उनीहरूको मानसिक–स्वास्थ्यमा असर पार्दै तनाव, अस्थिरता, आक्रोश, हिंसा, कुण्ठा, अवसाद र आत्महत्या जस्ता गम्भीर समस्यामा वृद्धि भएको तथ्याङ्कले देखाएका छन् । यस्तो संवेदनशील अवस्थामा युवालाई सुरक्षित, सन्तुलित र विवेकपूर्ण मार्गदर्शन दिन सक्ने प्रभावकारी उपाय भावनात्मक र आध्यात्मिक शिक्षा नै हो । यसले उनीहरूलाई आत्मज्ञान, आत्मनियमन, सहानुभूति, नैतिकता र जीवनदर्शन जस्ता आधारभूत क्षमताले सुसज्जित बनाउँछ । यस्तो शिक्षा प्राप्त विद्यार्थी विवेकपूर्ण, उत्तरदायी, नैतिक, सहानुभूतिशील र नेतृत्व क्षमतायुक्त नागरिकका रूपमा विकसित हुन्छन्, जसले केवल आफ्नो जीवन मात्र होइन, समाज र राष्ट्रलाई पनि सकारात्मक दिशामा अगाडि बढाउन योगदान पु¥याउँछ ।
अन्तर्राष्ट्रिय अभ्यास
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा आध्यात्मिक, सामाजिक तथा भावनात्मक शिक्षा आधुनिक विद्यालय शिक्षाको मूल आधारका रूपमा स्थापित हुँदै गएको छ । अमेरिका, क्यानडा र युरोपेली देशले सामजिक–भावनात्मक सिकाइलाई राष्ट्रिय पाठ्यक्रममै समावेश गर्दै सहानुभूति, आत्मनियमन, स्वस्थ सम्बन्ध र संवाद सिपलाई बालविकासको अनिवार्य अङ्ग बनाएका छन् । फिनल्यान्ड, अस्ट्रेलिया र न्युजिल्यान्डमा आध्यात्मिक शिक्षालाई नैतिकता, उद्देश्यबोध, ध्यान, मौन अभ्यास र प्रकृतिसँगको सम्बन्धमार्फत विद्यार्थीको सर्वाङ्गीण विकाससँग जोडिएको छ । धेरै देशका विद्यालयमा कक्षा–काउन्सेलर, मनोवैज्ञानिक सेवा र गोप्य रूपमा सहयोग पाउने ‘वेल विइङ सेन्टर’ स्थापना गरिएका छन् । अमेरिका, ब्रिटेन र अस्ट्रेलियामा सजगता अभ्यास (माइन्डफुलनेस), योग र तनाव–नियन्त्रण अभ्यासलाई नियमित कक्षा गतिविधिमा प्रयोग गरिन्छ ।
धेरै देशमा अभिभावकलाई सकारात्मक अभिभावकत्व र बाल मनोविज्ञानसम्बन्धी तालिम प्रदान गरिन्छ । यसले घर र विद्यालयबिच सहकार्य बढाई बालबालिकाको समग्र कल्याणलाई मजबुत बनाएको हुन्छ । सिङ्गापुर, जापान तथा दक्षिण कोरियाले यी पहललाई चरित्र निर्माण, सामाजिक जिम्मेवारी र सामुदायिक सेवासँग एकीकृत गरेका छन् । विभिन्न देशले विद्यार्थी कल्याण सर्वेक्षण र मानसिक स्वास्थ्य मूल्याङ्कन प्रणालीमार्फत यस्ता कार्यक्रमको निरन्तर सुधारको मार्ग खोजिरहेका छन् ।
निष्कर्ष
नेपालको दिगो विकास, सुशासन र समग्र समृद्धिका लागि भावनात्मक रूपमा परिपक्व, मानव मूल्य बुझ्ने, सहृदय र आध्यात्मिक रूपमा सशक्त नागरिक हुनु अनिवार्य छ । यस्तो रूपान्तरणशील नागरिक निर्माणको मूल धरोहर विद्यालय नै हो । अब नेपालले पाठ्यक्रम, शिक्षक तालिम, विद्यालय संस्कृति, अभिभावक सहभागिता तथा मानसिक स्वास्थ्य सेवामा सामाजिक, भावनात्मक र आध्यात्मिक चेतनालाई केन्द्रमा राख्दै अघि बढ्न आवश्यक छ ।
ज्ञानले बुद्धि दिन्छ तर भावना र आध्यात्मिक चेतनाले मानवता दिन्छ । यही समग्र, संवेदनशील र मानवीय शिक्षाले समृद्ध भविष्यका लागि तयार नयाँ पुस्ता निर्माण गर्न मद्दत गर्छ, जो नेपालको स्थायी विकास र सामाजिक सद्भावको मजबुत आधार बन्न सक्षम हुने छ ।