• २१ वैशाख २०८१, शुक्रबार

मेरा लागि सङ्गत नै सङ्गीत हो : सापकोटा

blog

काठमाडौं, चैत १९ गते । विगत सात वर्षदेखि लोक दोहोरी सङ्गीतमा सक्रिय अर्जुन सापकोटाका अहिलेसम्म करिब ३० वटाभन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन् । सानैदेखि गीत सङ्गीतमा रुचि राख्ने गायक सापकोटाको परिवार पनि साङ्गीतिक क्षेत्रबाटै थियो । जस कारण आफूले सानैदेखि साङ्गीतिक वातावरण पाएको वा हुर्काई नै सङ्गीत भएको कारण गीत सङ्गीतको यात्रा तय गर्न उत्प्रेरणा मिलेको सापकोटा बताउनुहुन्छ । 

आफूलाई सबै विद्याका गीत सङ्गीत मनपर्ने भएपनि लोक सङ्गीतप्रति गायक सापकोटाको अझै बढी लगाव छ । उहाँ भन्नुहुन्छ, “मेरो हुकाई नै गाउँका वनपाखा र पहरासँगै भयो । लोकको आवाज नै लोक गीत हो, हामी जे बोल्छौँ, हाम्रो नियमित जीवनमा गरिने अभ्यासबाट नै लोक सङ्गीतको सिर्जना हुने हो ।” 

सानैदेखि डाक्टर पाइलट बन्ने सपनाबाट टाढा रहेर एक सच्चा गायक र कलाकार बन्ने सपना देख्नुभएका सापकोटाले आजसम्म आइपुग्दा दर्शकको मनमा बस्न सफल हुनुभएको छ । हामी युवाले पनि लोक दोहोरी र संस्कृतिलाई आफ्नो तरिकाले प्रवर्द्धन गर्न सकिन्छ भन्ने उहाँको विश्वास छ । 

पछिल्लो समय आफूले स्वर दिएका गीत सङ्गीतले कराडौं भ्यूज पाउँदा दङ्ग हुनुहुन्छ गायक सापकोटा । “नेपाली लोक सङ्गीत तथा संस्कृति बचाउन मैले पनि केही हदसम्म भएपनि योगदान दिएको छु जस्तो मलाई लाग्छ र म यसमै खुसी पनि छ”, उहाँले भन्नुभयो । 

सङ्गीतबद्ध, गायन, लेखन लगायत सबै काम आफैँले गर्ने क्षमता राख्नुहुने सापकोटालाई सबै काम आफैँले गर्दा खुसी र सजिलो लाग्छ । उहाँका अनुसार सुरुमा गीतको विषयवस्तु बनाउने, जस्तै अरूले लेख्नुभएको शब्दमा सङ्गीत भर्न र गाउन गाह्रो हुन्छ तर विषयवस्तु बनाएर लेखेको गीत सङ्गीतमा काम गर्न सजिलो लाग्छ किनभने पछिसम्म पनि यसलाई माझ्न पनि मिल्छ । 

“मेरो लागि सिर्जना गज्जबको प्रस्तुति हो जुन जतिबेला पनि आउनसक्छ । आज एकान्तमा बसेर गीत लेख्छु भन्ने हुँदैन”, उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दा मनमनै आफैँ गुनगुनाउँदा पनि गीत बनिसक्छ र कहिलेकाहीँ आफू वरपरका माहौल हेरेर गीत फुर्नसक्छ । आजको दिन म गीत नै लेख्छु भनेर सिर्जना भने गर्न सकिँदैन ।” 

आजभोलि लोक दोहोरीमा उच्छश्रृंखल शब्दको प्रयोग गर्ने चलन बढ्दो छ तर व्यक्तिगत रूपमा अरूको सिर्जनालाई नराम्रो भन्नु आफूसँग अधिकार नभएको सापकोटाको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “दर्शक आफैँले राम्रो नराम्रो गीत छुट्याएर मात्रै हेर्नुपर्छ जस्तो मलाई लाग्छ । यहाँ के रहेछ एकपल्ट हेरम् न भन्ने दर्शकहरूको पनि कमी छैन जसकारण त्यस्ता उच्छश्रृंखल गीतले धेरै भ्यूज बढ्छ र सिर्जना गर्नेले पनि यस्तै विषय धेरै चल्नेरहेछ भनेर थप ऊर्जा मिल्छ जस्तो लाग्छ मलाई ।” 

‘लोक दोहोरी नेपालीको संस्कृति हो, हामी जे हो, जे छौँ, जसरी बोल्छौँ हामीबीच जुन माया छ यो नै देखाउने एक तरिका हो लोक दोहोरी सङ्गीत ।’ 

उहाँका अनुसार गाउँघरमा गरेका विभिन्न काम, संस्कृति र रमाइलो पलहरू भिडियोमार्फत देखाउनु नै लोक सङ्गीत हो । “हाम्रो संस्कृतिलाई तोडमोड नगरी जस्तोतस्तै देखाउने हो भने पूर्ण लोक सङ्गीतको सिर्जना हुन्छ”, उहाँले भन्नुभयो । 

पछिल्लो समय लोक दोहोरी गीत सङ्गीतका फ्यान फलोअरहरु बढेको उहाँको भनाइ छ । आजभोलि सामाजिक सञ्जाल टिकटकले पनि लोक दोहोरीलाई दर्शकमाझ लोकप्रिय बनाउन मद्दत गरेको जस्तो उहाँलाई लाग्छ । 

उहाँ भन्नुहुन्छ, “पुरै गीत गाउन नजानेपनि टिकटकको कारण गीतका सानासाना टुक्राहरू भएपनि दर्शकले गुन्गुनाउने गर्छन् ।” 

“मेरो लागि सङ्गत नै सङ्गीत हो । आफूभन्दा अग्रजलाई बढी सुन्ने, मेरा अग्रजहरूले मैले भोगिरहेको जिन्दगी भोगिसक्नुभएको छ । त्यसैले उहाँहरूबाट ज्ञान लिँदा एउटा बाटो पाउने गरेको छु ।” र यसैलाई निरन्तरता दिँदै लोक दोहोरी सङ्गीतलाई सम्मान र प्रवर्द्धन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

लोक दोहोरी गायक अर्जुन सापकोटासँग उहाँको साङ्गीतिक यात्राका बारेमा गरिएको भिडियो कुराकानी :


भिडियो : मनोजरत्न शाही र केशब गुरुङ ।