• १२ पुस २०८१, शुक्रबार

हुरीबतासको सम्झना

blog

लक्की चौधरी(थारु)

कक्षाः ८, विजय स्मारक मा.वि. 

डिल्लीबजार, काठमाडौँ   

चैत मासको सुक्खा खडेरी परेको थियो । जताततै धुलो उडिरहेको थियो । विद्यालयको वार्षिक परीक्षा सकिएपछि बिदाको समय बिताउन म गाउँ गएको थिएँ । तराईका फाँटमा आँपका बोटहरू हाँगा–हाँगा लच्काएर फुलेका थिए । एक दिन साँझको लगभग ५ बजेको समय थियो । ठूलो हुरीबतास आउँछ कि भन्दै डर लाग्न थालेको थियो । 

हाम्रो आँगनमा सुकाएको बिस्कुन र हाम्रो चप्पलहरू हुरीले उडाइदिन्छ कि भनेर भाइले सबैजनाको चप्पल, बिस्कुन घरभित्र राख्यो । केहीबेरमै हुरी चल्न थाल्यो । हुरी कसरी चल्छ भनेर म र भाइले हेरिरहेका थियौँ । आँखामा धुलो पसेर बिझाउन थाल्यो तैपनि म र भाइले हेरिरहेका थियौँ । हेर्दाहेर्दै फुलेका आँपका ठूल्ठूला हाँगाहरू पनि हुरीले भाँचिए । त्यहीबेला ठूलो असिनापानी पर्न थाल्यो । आँगनको एक छेउमा मेवाको बोट थियो । बोटमा मेवाको ठूल्ठूलो दाना फलेको थियो । त्यही मेवाको रुखको चेपमा एउटा मैना चरी आफ्नो ज्यान बचाउन ओत लागेर बसेको थियो । ठूलो असिनापानी परेकाले मेवाको पातहरूमा असिनाले लागेर टुक्रिँदै एक–एक गर्दै सबै झ¥यो । मेवाको बोटको पातहरू सबै झर्दै गएपछि त्यही बसेको मैना चरी निकै आत्तिएको जस्तो देखिन्थ्यो तर दैवले साँचेर होला त्यसदिन मैनालाई असिनाले लागेन । चलिरहेको हुरीबतास र असिनापानी झन्डै एक घन्टापछि बल्ल रोकियो । बाक्लो असिना परेपछि आँगन र खेतबारीमा हिँउ परेजस्तै सेताम्मे देखिन्थ्यो । खाली खुट्टा बाहिर निस्किँदा एकदमै चिसो थियो ।

आकाशमा बिजुली चम्किरहेकै थियो तैपनि हामी आमासँग बारीतिर निस्क्यौँ । बारीमा रोपेको लसुन, प्याज असिनाले चुटेर ढुटो भइसकेको थियो । आँपको हाँगा भाँचिएर भुइँमा पछारिएको थियो । भाँचिएको हाँगा उठाउन जाँदा हामीले त्यहाँ एउटा चरी रोइरहेको देख्यौँ । आमाले भाँचिएको हाँगा उठाएर छेउमा राख्नुभयो । गुँड भएकै हाँगा भाँचिएपछि हाँगासँगै गुँड र बचेराहरू त्यहीँ पछारिए । आमा चरीले भने उडेर आफ्नो ज्यान बचाएकी थिइन् । गुँडमा पखेटा नपलाएका बचेराहरू थिए । बचेराहरु पछारिए पनि आमा चरीले आफ्नो पखेटाले छोपेर बचेराहरूलाई बचाउने प्रयास गरिन् तर धेरै बेरसम्म परेको बाक्लो असिनाले चुटेर दैवले बचेराहरूको ज्यानै लियो । आमा चरीको पखेटा भने भिजेका र चोट लागेका थिए । घाइते आमा चरी मरिसकेका बचेराहरूको छेउमा बसी शोकमग्न भई रोइरहेकी थिइन् । चारो खोज्न गएको भाले चरो त्यही बेला आई पुग्यो । बचेराहरूको अवस्था देखेर रोइरहेकी आमा चरीलाई भाले चराले शान्त्वना दिन थाल्यो । चरीको यस्तो दुःखद दृश्य म, भाइ र आमाले देख्यौँ । हामी त्यस चरीका लागि केही उपाय लगाउन सकेनौँ । त्यस दृश्यबाट हरेक प्राणीमा आमाले बच्चाप्रति गर्ने माया निःस्वार्थ हुन्छ र आफू मरेर पनि आफ्नो सन्तानलाई बचाउन लागेका हुन्छन् भन्ने कुरा मैले बुझेँ ।