• १५ वैशाख २०८१, शनिबार

जे पनि बुझ्ने च्याटजिपिटी

blog

सूचना प्रविधिमा रुचि राख्नेहरूका लागि अहिले ‘च्याटजिपिटी’ चासोको विषय बनेको छ । सर्च इन्जिन गुगल, माइक्रोसफ्ट बिङ आदिलाई हामीले आफूलाई चाहिएको कुरा इन्टरनेटमा खोज्न प्रयोग गर्छौं । 

सर्च इन्जिनले इन्टरनेटमा हामीले खोजेका जिज्ञासालाई इन्टरनेटमा प्रकाशित जानकारीअनुसार विभिन्न वेबसाइटका लिङ्क वा सन्दर्भ सामग्री हामीलाई देखाउँछ । त्यही सामग्रीको लिङ्कमा गएर प्रयोगकर्ताले खोजेको जानकारी आफैँ लिनुपर्छ तर पछिल्लो समय सर्च इन्जिनहरूलाई चुनौती दिने गरी आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) मोडेल च्याटजिपिटी निकै परिष्कृत भएर आएको छ । यसले प्रयोगकर्ताले सोधेको प्रश्नको उत्तर गफ गरे जसरी प्रश्न–उत्तरको शैलीमा दिन्छ । 

सन् २०२३ नोभेम्बर ३० मा सार्वजनिक भएको च्याटजिपिटी एक आर्टिफिसियल इन्टेलिजेन्टस् (एआई) मोडल हो । यो एआई च्याटबोट हो, च्याटजिपिटीसँग प्रयोगकर्ताले मान्छेलाई प्रश्न गर्ने शैलीमा कुनै पनि विषयमा प्रश्न गर्न सक्छन् र त्यसको उत्तर पाउँछन् । यसले प्रयोगकर्ताको प्रश्नअनुसार उत्तर निकै सहज र प्राकृतिक रूपमा संवादकै शैलीमा दिन्छ । 

उदाहरणका लागि तपाईं विद्यार्थी हो । बिरामी भएर बिदाको निवेदन लेख्न चाहनुहुन्छ भने अब तपाईंले आफैँ निवेदन लेख्नु पर्दैन । निवेदनमा के लेख्ने भनेर तपाईंले निर्देशन दिनुभयो भने च्याटजिपिटीले तपाईंको निवेदन केही सेकेन्डमै लेखेर तयार पारिदिन्छ । च्याटजिपिटीले तयार पारेको यस्तो निवेदनमा नाम, ठेगाना, निवेदकलगायतका स्थानमा खाली ठाउँ भर्नका लागि छाडेको हुन्छ । 

साथै च्याटजिपिटीमा तपाईंले कुनै पनि विषयमा प्रश्न गर्नुभयो भने प्रश्नअनुसार यसले लामो र छोटो जवाफ दिन्छ । त्यतिले पुगेन भने अझै लामो उत्तर चाहियो भनेर लेखेमा पुनः त्यही स्थानबाट अन्य जानकारी थपेर लामो उत्तर दिँदै जान्छ । यसले कम्प्युटर प्रोग्रामिङ कोडिङदेखि विभिन्न हिसाब पनि गरिदिन्छ । 

त्यति मात्र कहाँ हो र च्याटजिपिटीले विभिन्न विषयमा भिन्दाभिन्दै शैलीमा निबन्ध लेख्न सक्छ, कुनै पनि जटिल अवधारणालाई प्रस्ट्याउन सक्छ, लामा पाठलाई छोटकरीमा दिन सक्छ, विश्वका सामान्य ज्ञानका प्रश्नको उत्तर तुरुन्त र दुरुस्त दिन सक्छ । यसले विद्यार्थीका लागि कुनै पनि परीक्षामा सोधिएका प्रश्नको उत्तर दुरुस्त दिन सक्छ । 

यसको प्रयोगबाट हामीले इन्टरनेटमा रहेका कुनै पनि सूचना तथा ज्ञानलाई विश्लेषण र संश्लेषण गर्न सक्छौँ । उदाहरणका लागि कहीँ कतै बिदामा छुट्टी मनाउन जान मन लाग्यो भने यसले गन्तव्यको सूची, यात्राको कार्यक्रमलगायतका सबै कुरा दिन सक्छ । यसका साथै प्रश्न गर्दा तर्क राख्यो भने च्याटजिपिटीले तर्कसहित व्याख्या गरेर उत्तर दिन्छ । 

ओपन एआईका अनुसार च्याटजिपिटीले पूर्ण रूपमा सही उत्तर दिन्छ भन्ने छैन । “यसले सबै प्रश्नको उत्तर सही दिन्छ भन्नेमा यकिन गर्न सकिन्न । प्रयोगकर्ताले प्रश्न सही तरिकाले नसोद्धा यसले सही र सान्दर्भिक उत्तर नदिन पनि सक्छ । यसबारे कम्पनीमा परीक्षण चल्दैछ,” ओपन एआईले भनेको छ ।  

सन् २०२३ फेबु्रअरी ७ मा माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन बिङमा च्याटजिपिटीलाई आत्मसात् गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टका प्रमुख सत्या नाडेलाले च्याटजिपिटीको सुरुवातले गुगललगायत अन्य सर्च इन्जिनलाई चुनौती दिने बताएका छन् । त्यसो त गुगलले पनि आफ्नो सर्च इन्जिनसँगै आफ्नै च्याटवट्स बार्ड सुरु गर्ने घोषणा गरेको छ । छोटो समयमा च्याटजिपिटीले वर्षौंदेखि स्थापित सर्च इन्जिन गुगल, बिङलगायतलाई चुनौती दिँदै आएको छ । 

भविष्यमा च्याटजिपिटी रोबोट निर्माणमा समेत उपयोग हुने बताइएको छ । माइक्रोसफ्ट कम्पनीले सन् २०२३ फेबु्रअरीमा च्याटजिपिटीलाई कसरी रोबोटिक्समा प्रयोग गर्न सकिन्छ भनेर ‘रोबोटिक्सका लागि च्याटजिपिटी ः डिजाइन सिद्धान्त र मोडेल क्षमता’ विषयक कार्यपत्र पनि सार्वजनिक गरिसकेको छ ।

सन् २०१५ मा स्थापना भएको संस्था ओपन एआईले च्याटजिपिटी सार्वजनिक गरेको हो । आर्टिफिसियल इन्टेलिजेन्टस (एआई)लाई विकास गर्न ओपन एआई स्थापना भएको थियो । यो एक अनुसन्धान प्रयोगशाला हो । च्याटजिपिटी परीक्षणका रूपमा सार्वजनिक भएको पाँच दिनमै यसको १० लाख प्रयोगकर्ता थिए । ओपन एआईका अध्यक्ष तथा सह–संस्थापक ग्रेग ब्रोकम्यानका अनुसार च्याटजिपिटीलाई मानवजस्तै कुराकानी गर्न, प्राकृतिक भाषा बुझ्न र प्राकृतिक भाषामा जवाफ दिने गरी तयार परिएको छ । 

सुरुवातमा च्याटजिपिटी निःशुल्क भए पनि हाल यो चलाउन दुईवटा भर्सनमा उपलब्ध छ । च्याटजिपिटीको निःशुल्क भर्सन (फ्रि प्लान)मा सीमित फिचर छन् भने च्याटजिपिटी प्लसमा मासिक २० अमेरिकन डलर शुल्क तिर्नुपर्छ । च्याटजिपिटी सुरु भएको पहिलो दुई महिनाभित्र १० करोडभन्दा बढी प्रयोगकर्ता पुगेका थिए । अहिले दैनिक एक करोड ३० लाखभन्दा बढी प्रयोगकर्ता रहेको बताइएको छ । च्याटजिपिटी छोटो अवधिमा सबैभन्दा छिटो बढ्दो उपभोक्ता एप्लिकेसनका रूपमा अगाडि बढिरहेको छ । 

च्याटजिपिटी चलाउन प्रयोगकर्ताले अन्य इमेल सेवा र सामाजिक सञ्जाल चलाए जसरी सुरुमा साइन अपमा क्लिक गरेर इमेल ठेगाना र सम्पर्क नम्बर दिएर खाता बनाउनुपर्ने हुन्छ ।