• १ कात्तिक २०८२, शनिबार

बझाङको तलकोटमा फोरजी सेवा सञ्चालन

blog

काठमाडौँ, असोज ३१ गते । सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको तलकोटमा बिहीबारदेखि नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । जिल्लाको–तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा टेलिकमको नयाँ फोरजी सेवाका लागि बिटीएस टावर जडान कार्य सम्पन्न भएसँगै फोरजी सेवा सञ्चालनमा आएको हो ।

हाल तलकोटमा रहनुभएका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीका अनुसार नयाँ बिटीएस टावर बिहीबार अन भई फोरजी सेवा सुरु भएको छ । प्राविधिक समायोजनअनुसार टुजी सेवा आज (शुक्रबार)देखि चरणबद्ध रुपमा हट्दै जानेछ । उहाँले स्थानीयलाई सेवाप्रवाह सुदृढीकरणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

जिल्लाको तलकोट वडा नं.१ र ४ मा फोरजी सेवा सञ्चालनमा आएको छ भने बाँकी जयपृथ्वी नगरपालिका–१ र ५ तथा छबिस पाथिभरा गाउँपालिका–१ तथा खप्टड छान्ना गाउँपालिकामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गरिनेछ । ती क्षेत्रमा भौतिक संरचना बनिसकेको र बिटीएस उपकरणहरु जडानभएपछि सेवा सञ्चालन हुने टेलिकमले उल्लेख गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको समन्वय र ताकेतापछि तलकोटमा फोरजी सञ्चालनमा आएको हो । मन्त्री खरेलले दुर्गम क्षेत्रमा टेलिकमको पहुँच सहज बनाउन टेलिकम लागिपरेको र आफूले पनि त्यसलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले बझाङ, बाजुरा, जाजरकोटलगायत दुर्गम जिल्लाको टेलिफोन र इन्टरनेट सेवा विस्तार तथा सेवा गुणस्तर अभिवृद्धिका लागि टेलिकमका सम्बन्धित कार्यालयहरुलाई बारम्बार ताकेता गरिरहेको बताउनुभयो ।

तलकोट वडा नं.४ का वडाअध्यक्ष गोरख बहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले फोरजी सेवा सञ्चलनमाा आएसँगै स्थानीयवासीलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा सहज हुने उल्लेख गर्नुभयो ।

जिल्लाको पूर्वी तथा उत्तरी भागमा अवस्थित तलकोट गाउँपालिका जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । यसअघि सञ्चारमन्त्रीको समन्वय र ताकेतापछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा प्राविधिक मर्मतपछि सूचारु भएको थियो ।

सञ्चारमन्त्री खरेलले कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा सेवा विस्तारको कार्यलाई विषेश प्राथमिकता दिन सम्बन्धित निकायलाई ताकेता र आवश्यक निर्देशन दिइसक्नुभएको छ ।