• ३१ असोज २०८२, शुक्रबार

कर्णालीका ३७ स्थानीय तहमा टेलिकमका सेवा विस्तार

blog

नवीन सुवेदी
सुर्खेत, असोज ३१ गते ।
नेपाल टेलिकम कर्णाली प्रदेशले सञ्चार सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) कर्णाली प्रादेशिक निर्देशनालय, सुर्खेतका निर्देशक डा. कमल लामिछानेका अनुसार बुलबुले, एयरपोर्ट र रंगशाला क्षेत्रमा नयाँ टावर निर्माण सम्पन्न भइसकेको छ । त्यससँगै जुम्ला रोड, प्रदेश अस्पताल र लेकफर्सा क्षेत्रमा पनि टावर स्थापनाको काम पूरा गरिएको छ ।

निर्देशनालयका अनुसार दशरथपुर र मेहलकुना क्षेत्रमा पनि टावर निर्माण सम्पन्न भइसकेको छ भने चौकुने, गुटु र पञ्चपुरी नगरपालिकामा सात वटा नयाँ टावर निर्माण गर्ने योजना अघि बढाइएको छ । प्रदेशभर स्तरीय सेवा विस्तारका लागि फोरजी नेटवर्क विस्तारलाई प्राथमिकता दिइएको बताइएको छ ।

धुलियाबिट, रामघाट लगायतका क्षेत्रमा रिङरोड स्वरूपको टावर सञ्जाल विस्तार कार्य भइरहेको छ । पछिल्ला आन्दोलनहरूले केही असर पारे पनि जिल्ला बाहिर फाइबर सेवा विस्तारको काम निरन्तर जारी रहेको निर्देशनालयले जनाएको छ । हालसम्म कर्णाली प्रदेशका विभिन्न स्थानमा तीन सयभन्दा बढी ठाउँमा बिटिएस टावर सञ्चालनमा आएका छन् । थप ३० वटा टावरका लागि आवश्यक विद्युतिकरण कार्यका लागि नेपाल विद्युत प्राधिकरणलाई पेश्की रकम हस्तान्तरण भइसकेको छ ।

यस्तै, टेलिकमका सेवाहरू १६ वटा स्थानीय तहका मुख्य सहरमा विस्तार गर्ने काम सुरु गरिएको छ । डोल्पाको जगदुल्लामा फोरजी सेवा सञ्चालनमा आइसकेको छ भने हुम्लाको हिल्सामा तिहारपछि माघ मसान्तभित्र सेवा सुरु गर्ने तयारी भइरहेको निर्देशक लामिछानेले जानकारी दिनुभयो । हालसम्म कर्णाली प्रदेशका ३७ स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार भइसकेको छ । साथै ग्राहकमैत्री सेवा कक्ष आगामी माघभित्र सञ्चालनमा ल्याउने तयारी पनि गरिएको निर्देशनालयले जनाएको छ ।